सहकारी नियमन प्राधिकरणको उद्घाटन, तीन सञ्चालकले लिए सपथ

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन भएको छ । सरकारले हालै सहकारी ऐन, २०७४ लाई अध्यादेशमार्फत् संशोधन गरेपछि त्यसै बमोजिमको एक प्राधिकरण स्थापना गरिएको हो ।
ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी विकास बोर्डको भवनलाई नै प्राधिकरणको कार्यालयका रुपमा उद्घाटन गरिएको छ । त्यहाँ सोमबार एक कार्यक्रम आयोजना गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्राधिकरणको कार्यालय उद्घाटन गरे ।
अध्यादेशले प्राधिकरण स्थापना गर्ने व्यवस्थाका साथै उक्त बोर्ड खारेज गर्ने र बोर्डका सबै जायजेथा एवम् कर्मचारीहरु प्राधिकरणमा पदस्थापन गर्ने व्यवसथा गरेको छ । सोही कार्यक्रमकै दौरान मन्त्री अधिकारीले प्राधिकरणका अध्यक्ष तथा सदस्यहरुलाई शपथ पनि गराएका थिए।
प्राधिकरणको अध्यक्षका रुपमा मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र सदस्यहरुमा गुरुप्रसाद पौडेल तथा मदन कोईरालाले पद तथा गोपनीयताको शपथ लिएका छन् । पौडेल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् भने कोईराला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सह सचिव छन् ।

मन्त्री अधिकारीले सहकारीमा भएको अनियमितताको विस्तृत छानबिन गरेर न्याय निसाफ दिन प्राधिकरण र यसको नेतृत्वलाई सफलताको शुभकामना दिएका छन् । उनले ऋण असुली न्यायाधीकरण समेत चाँडै नै स्थापना बताए ।
सहकारी क्षेत्रमा नमिलेका ऐन, कानुन संशोधन गरी अबको दुई वर्षभित्रमा यस क्षेत्रमा देखिएका सबै समस्या हल गर्ने प्रतिबद्धता मन्त्री अधिकारीले गरेका छन् ।