आरएसडीसी लघुवित्तले कस्तो निकाल्यो दोस्रो त्रैमासिक वित्तीय रिपोर्ट ?

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ६ महिनाममा साढे ४ करोड रुपैयाँ नाफा कमाएको छ ।
आइतबार कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले ४ करोड ४१ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएका छ ।
तर, यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ३६.२५ प्रतिशत कमी हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले ६ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी पनि ८.११ प्रतिशत घटेर ११ करोड २१ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफामा पनि ३४.६८ प्रतिशत घटेर ६ करोड ४६ लाख ६९ हजार रुपैयाँ कायम भएको छ ।
खुद ब्याज आम्दानी र संचालन नाफामा आएको गिरावटले कम्पनीको नाफा प्रभावित भएको हो । दोस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा भने ३ करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको खराब कर्जा पनि बढेर २.७१ प्रतिशत पुगेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी पनि ६.५८ रुपैयाँ घटेर ९.३६ रुपैयाँ कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने १३२.२९ रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ९४ करोड ४३ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने ३० करोड ४९ लाख रुपैयाँ राखेको छ ।