राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक, कुन-कुन परे ? « Arthapath.com
८ माघ २०८१, मंगलवार

राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक, कुन-कुन परे ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागले इजाजतपत्रप्राप्त “क” वर्गका बैंकहरु, बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारवाही गरेको हो ।

कारबाहीमा पर्ने बैंकमा प्रभु बैंक, हिमालय बैंक र एनआईसी एशिया बैंक छन् ।

प्रभु बैंकको सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को नियमविपरित सञ्चालक पदमा वार्षिक साधारणसभासम्मका लागि नियुक्त गरी सोहि वार्षिक साधारणसभाबाट अनुमोदन मात्र गराई नियुक्तिलाई निरन्तरता दिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ख) को व्यवस्थाबमोजिम वार्षिक साधारणसभा हुनुभन्दा अगाडि कुनै सञ्चालकको पद रिक्त हुन आएमा अर्को वार्षिक साधारणसभा नभएसम्मको लागि सञ्चालकको नियुक्ति सञ्चालक समितिद्वारा गर्न सकिने व्यवस्था छ ।

बैंकको सर्वसाधारण सञ्चालकको पदावधि समाप्त भएतापनि मर्जर तथा प्राप्तिको व्यवस्थालाई आफु अनुकूल व्याख्या गरी सञ्चालकको पदावधि प्राप्ति भएको मितिबाट गणना गरिएको देखिएपछि उक्त सञ्चालक हटाउन समेत सञ्चालक समितिलाई निर्देशन दिएको छ ।

प्रभु बैंकको स्थलगत निरीक्षणका क्रममा राष्ट्र बैंकबाट जारी निर्देशनहरूको पालनामा कमजोरीहरू देखिएको तथा निरीक्षण प्रतिवेदनमा औल्याइएका कैफियतहरू समयमै सुधार गर्न बैंक अग्रसर रहेको नदेखिएको समेत फेला परेको छ ।

कारबाहीमा परेका बैंकहरूले कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी बापतको व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता अनूपात गणना सम्बन्धमा यस बैंकले जारी गरेको क्यापिटल एड्युकेसी फ्रेमवर्कको व्यवस्था अनुरुप प्राथमिक पुँजीबाट घटाउनु पर्ने रकम नघटाएको तथा केही कर्जाहरूमा जोखिमभार प्रदान गर्दा उक्तफ्रेमवर्कमा उल्लेख भएभन्दा कम भार प्रदान गरी वास्तविकभन्दा कम जोखिम भारित सम्पत्ति देखाएको भेटिएको छ । आगामी दिनमा यस प्रकारका कैफियत दोहोरिन नदिनका बैकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

हिमालयन बैंकले कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेकोले प्रमुख कार्यकारी अधिकृतलाई नेपाल सचेत गराइएको छ ।

एनआईसी एशिया बैंकको सञ्चालकले निजहरुका परिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुलाई प्रकाशित ब्याजदरभन्दा बढी व्याज प्रदान गरेको, बैंककासञ्चालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा राष्ट्र बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको ब्याज रकम फिर्ता गराएको छ । आगामी दिनमा यस प्रकारका कार्य नगर्ने गरीबैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल तथा सञ्चालक रामचन्द्र संघाइलाई नेपाल राष्ट्र बैंक ऐन,२०५८ (दोश्रो संशोधन सहित) को दफा १०० को उपदफा २(क) बमोजिम नसिहत दिइएको बैंकले जनाएको छ ।

एनआईसी एशियाको स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गिकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभारसम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवम् संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको नगरेको भेटिएको छ ।

राष्ट्र बैंकले यस बैंकलाई बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशनको प्रतिकूल हुने गरी कुनै कार्य/निर्णय नगर्न तथा नगराउन र राष्ट्र बैंकको निर्देशन पूर्ण रुपमा परिपालना गर्न/गराउन एवं सुधारको कार्ययोजना बनाई लागु गर्न निर्देशन दिएको छ ।

त्यस्तै, ब्याजदर सम्बन्धी यस बैंकको निर्देशन उल्लंघन नगर्न तथा बैंकले जारी गरेको क्यापिटल एड्युकेसी फ्रेमवर्क अनुरुप हुने गरी जोखिमभार र पुँजीकोष कायम भएको यकीन गरी सोको प्रतिवेदन यस बैंकलाई नियमित रुपमा उपलब्ध गराउन तथा सोको सुधारको कार्ययोजना बनाई लागु गर्न पनि निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।

कर्जा वर्गिकरण तथा कर्जा नोक्सानी सम्बन्धी व्यवस्था यस बैंकको निर्देशनअनुरुप हुने गरी गर्न तथा नेपाल राष्ट्र बैंकले जारी गरेका संस्थागत सुशासनसम्बन्धी निर्देशनहरुको पूर्ण रुपमा पालना गर्नगराउन तथा सुधारको कार्ययोजना बनाई लागु गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्