विश्वासको मतले आगामी मौद्रिक नीतिलाई के असर पार्छ ? « Arthapath.com
३ श्रावण २०७८, आईतवार

विश्वासको मतले आगामी मौद्रिक नीतिलाई के असर पार्छ ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने तयारी थालेपछि उक्त मतदानको परिणमले नयाँ मौद्रिक नीतिलाई समेत प्रभावित पार्ने भएको छ । राष्ट्र बैंकले यसै साताको अन्त्यसम्म नयाँ मौद्रिक नीति जारी गर्ने तयारी गरेको थियो । बीचमा सरकार परिवर्तन नभएको भए साताको सुरुमै मौद्रिक नीति ल्याउन लागिपरेको केन्द्रिय बैंक सरकार परिवर्तनपछि भने शुक्रबारसम्म कुर्ने मनस्थितिमा थियो ।

आज प्रधानमन्त्री देउवाले विश्वासको मत पाउनु र नपाउनुले मौद्रिक क्षेत्रमा केही विशिष्ट प्रभाव पार्ने छ । अर्थमन्त्री जनार्दन शर्माले यसअघि नै सरकारले विश्वासको मत पाएको अवस्थामा पुरक बजेट ल्याउने बताइसकेका छन् । यसरी सरकारले पुरक बजेटको तयारी थाल्यो भने मौद्रिक नीति कहिले र कसरी ल्याउने भन्ने थप जसटिलता हुनसक्छ ।

प्रधानमन्त्रीले विस्वासको मत पाएको अवस्थामा तत्काल निर्वाचन हुने संभावना टर्छ । यसले बजारमा मुद्रा (पैसा)को प्रवाह चुनाव हुँदाको अवस्थाभन्दा कम हुन्छ । सरकारका आधारभूत प्राथमिकताहरु बदलिए भने त्यसलाई मौद्रिक नीतिमा कसरी समावेश गर्ने भन्ने चूनौति थपिन सक्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

केपी ओलीको सरकारले जारी गरेका केही राहत तथा पुनरुत्थानसम्बन्धी योजनाहरु राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् कार्यान्वयन गर्नुपर्ने अवस्था छ । अहिले कोरोना भाइरस महामारीका कारण राज्यले आर्थिक पुनरुत्थानमा चाल्ने कदमलाई मौद्रिक नीतिले स्वीकार गर्नुपर्ने आवस्यकता छ । यस्तो असामान्य परिस्थितिमा सरकार पुरक बजेटको दिशामा अघि बढे मौद्रिक नीतिले त्यसलाई कसरी समेट्ने भन्ने निक्र्योल छैन ।

राष्ट्र बैंकका अधिकारीहरु महामारी, निर्वाचन र नयाँ सरकारका फेरिनसक्ने प्राथमिकताजस्ता विषयका कारण मौद्रिक नीति अन्योलमा थियो । जुन कुरा धेरै हदसम्म आइतबारको संसदीय परिणामले स्पष्ट पार्ने छ ।


प्रतिक्रिया दिनुहोस्