आइपिओ निस्कासन गरेर कारोवार नखुल्दै मर्जरमा समाज लघुवित्त « Arthapath.com
११ आश्विन २०७७, आईतवार

आइपिओ निस्कासन गरेर कारोवार नखुल्दै मर्जरमा समाज लघुवित्त



काठमाडौं । भखरै आईपीओ निष्काशन गरेको समाज लघुवित्त मर्जरमा जाने भएको छ । समाज लघुवित्त र स्वस्तिक लघुवित्त संस्थाबीच मर्जरमा जाने भएको हो । नेप्सेमा सूचीकृत भएको २ दिनमा नै मर्जरमा जाने निर्णय गरेका कारण समाज लघुवित्तको आईपीओको कारोवार नै नहुने भएको हो ।

यसअघि जनसेवी लघुवित्तले पनि आईपीओ निष्काशन गरेपछि सूचीकरण नगरिकन नै मर्जरमा जाने निर्णय गरेको थियो । जनसेवीको सेयर ७ महिनापछि कालिका लघुवित्त बनेर आएपछि मात्रै नेप्सेमा सूचीकृत भएको थियो । सर्लाहीको मलंगवामा रहेको समाज लघुवित्त र सिरहाको लहानमा रहेको स्वस्तिक लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएको छ । समाजले बिहीवार नेप्सेलाई यससम्बन्धी जानकारी दिएको हो ।

समाज लघुवित्तको आईपीओ नेप्सेमा सूचीकरणको अन्तिम तयारीमा रहेको छ । लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएपनि मर्जर जाने सम्झौता गरेकोले तत्काल दोस्रो बजारमा कारोबार भने हुन पाउनेछैन । समाज लघुवित्तले सार्वसाधारणको लागि आईपीओ निष्काशन गरिसकेको छ भने स्वस्तिकले आईपीओ निष्काशन गरेको छैन् । दुई लघुवित्त मर्जरमा जाने भएपछि समाजले एफपीओ निष्काशन गर्नेछ ।

कारोवार नखुले पनि समाज लघुवित्तको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । असोज ८ गते, बिहीबार लघुवित्तको २ लाख किता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको सेयरलाई (एसएएमएजे कारोबार संकेत दिएको छ । तर, लघुवित्तको कारोबार भने रोक्का रहेको छ । सेयर सूचीकरण हुनुभन्दा पहिले स्वास्तिक लघुवित्तसँग मर्जरमा जाने सम्झौता भएका कारण कारोबार रोक्का भएको हो ।

त्यस्तै, समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले बिओके क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तको सेयर दाखिला खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारणसभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्नेलगायतका सेयरसम्बन्धी सम्पूर्ण कार्य बिओके क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्