चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण « Arthapath.com
३ कार्तिक २०७७, सोमबार

चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण



काठमाडौँ । विद्युतीय बस चार्जिङ स्टेसनको विद्युत् महसुल र सवारी चार्ज गरेबापतको महसुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले असोजदेखि नै लागू हुनेगरी विद्युतीय सवारी सञ्चालन गरेका कम्पनीहरूलाई महसुलबारे पत्राचार गरेको छ । विद्युत् महसुल निर्धारण आयोगले तीन महिनाअघि तोकेको शुल्कलाई प्राधिकरणले कार्यान्वयन गरेको हो ।

निर्धारण गरिएको महसुलअनुसार विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट चार रुपियाँ ६० पैसा तिर्नुपर्ने छ । स्टेसनले यसअघि प्रतियुनिट १० रुपियाँ तिर्दै आएका थिए । चार्जिङ स्टेसनले विद्युतीय सवारी चार्ज गर्दा प्रतियुनिट चार रुपियाँ ६० पैसाको थप २० प्रतिशत शुल्क लिएर सवारी चार्ज सुविधा दिन पाउने भएका छन् ।

सरकारले विद्युतीय चार्जिङ स्टेसनको विद्युत् तथा चार्ज शुल्क निर्धारण नगर्दा चार्जिङ स्टेसन समस्यामा परेका थिए । उपत्यकामा चारवटा सार्वजनिक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले आफ्नो चार्जिङ स्टेसन भए पनि महँगो शुल्क तिर्न परेकामा अब भने निकै सजिलो भएको अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “शुल्क निर्धारण भएर नेपाल विद्युत् प्राधिकरणले लागू गरेको छ । हामी निकै खुसी छौँ, अब सजिलो भएको छ । यो हाम्रा लागि धेरै राम्रो सुविधा हो । ”

निर्धारित शुल्कअनुसार अब ठूला बस पूर्ण चार्ज गर्दा पाँच सयदेखि ५५० रुपियाँ पर्नेछ । पहिला १२ सय रुपियाँसम्म तिनुपथ्र्यो । अध्यक्ष थापाका अनुसार एकपटक पूर्ण चार्ज भएका बस कम्तीमा २५० किलोमिटर गुड्छन् । काठमाडौँ उपत्यकामा गुड्ने बस एकपटक पूर्ण चार्ज गरेपछि दुई दिनसम्म सञ्चालन हुन्छन् ।

निजी विद्युतीय कार पनि घरमा चार्ज गर्नुभन्दा चार्जिङ स्टेसनमै गर्दा सस्तो पर्ने सुन्दर यातायातले जनाएको छ । घरमा चार्ज गर्दा प्रतियुनिट आठदेखि १० रुपियाँसम्म विद्युत् शुल्क तिनुपर्ने हुन्छ तर स्टेसनमा ग¥यो भने प्रतियुनिट छ रुपियाँ पर्न जान्छ ।

सुन्दर यातायातले अब देशका विभिन्न स्थानमा चार्जिङ निर्माण गर्ने भएको छ । कुरिनटार, काठमाडौँ, धुलिखेल, विराटनगर, चितवन, नवलपरासीलगायतका स्थानमा चार्जिङ स्टेसन बनाउने भएको छ । थापा भन्नुहुन्छ, “चार्जिङ स्टेसन निर्माण भएपछि सार्वजनिक विद्युतीय सवारी चहलपहल बढ्छ । सरकारले पनि विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिरहेको छ । सरकार आफैँले सञ्चालन गर्दै छ, बिस्तारै विद्युतीय सवारीको वृद्धि हँुदै जान्छ । ” गोरखापत्रबाट


प्रतिक्रिया दिनुहोस्