किन रोकियो राष्ट्र बैंकका हाकिमको सरुवा ? « Arthapath.com
२५ कार्तिक २०७७, मंगलवार

किन रोकियो राष्ट्र बैंकका हाकिमको सरुवा ?



काठमाडौं । दशैंपछि हुने भनिएको नेपाल राष्ट्र बैंकका हाकिमहरूको सरुवा आउँदो हिँउदभरी नहुने भएको छ । स्रोतका अनुसार लघुवित्त वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक डा। प्रकाश कुमार श्रेष्ठ दशैंअघि अर्थ मन्त्रालयको वरिष्ठ सल्लाहकारमा नियुक्त भएपछि रिक्त पदमा निर्देशकहरूमध्येबाट कायम मुकायम दिनेक्रममा केही कार्यकारी र केही निर्देशकको सरुवा हुने तयारी गरिएको थियो ।

तर, फागुन तेस्रो साता डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ पदावधी सकिएपछि दुईजना कार्यकारी निर्देशक डेपुटी गभर्नरमा नियुक्त भएपछि रिक्त हुने कार्यकारी निर्देशकमा समेत दुईजना निर्देशकले कायम मुकायमको जिम्मेवारी पाउने छन् । एकाध महिनापछि दुई जनाको कायम मुकायमसँगै केही हाकिमको सरुवा गर्नुपर्ने भएकाले अहिले श्रेष्ठ अर्थ मन्त्रालय गएपछि खाली भएको पदमा विभागीय कायम मुकायम दिएर काम चलाउ गर्न लागिएको हो ।

बैंकको नियमानुसार वरिष्ठ निर्देशकलाई कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिँदा अहिले नै दयाराम शर्मा पंगेनीले पाउँथे । त्यहि क्रममा एकाध विभागीय प्रमुखहरूको पनि सरुवाको तयारी गरिएको थियो । जसअनुसार सम्पत्ति तथा सेवा सामान्य सेवा विभागका सुमनकुमार अधिकारीलाई लघुवित्तमा र दयारामलाई सामान्य सेवामा लैजाने सोच गभर्नर महाप्रसाद अधिकारीले यसअघि नै बनाएका थिए ।

तर, लघुवित्त विभागका वरिष्ठ निर्देशक रामप्रसाद गौतमलाई गत असारमा अधिकारीले ग्रामीण विकास बैंकको सञ्चालकमा बैंकको तर्फबाट मनोनित गरेको विषय विवादित भएपछि अहिले केही महिना गौतमलाई कायम मुकायम कार्यकारी निर्देशक दिएर भएपनि पूरानो घाउमा मल्ह्मपट्टी लगाउन खोजिएको स्रोतको दाबी छ ।

२५ वर्षअघि सहायक ९खरिदार० बाट सेवा प्रवेश गरेर २०५९ सालमा अधिकृत बनेका पंगेनीलाई बैंकको विभागीय प्रमुखको जिम्मेवारी दिन उच्च व्यवस्थापन हच्किएपछि हाकिमहरूको सरुवाको निर्णय केही महिना पछाडि धकेलिएको हो । आगामी फागुन तेस्रो साता तीन वटा विभागीय प्रमुखको जिम्मेवारी हेरफेर हुँदा पंगेनीलाई वित्त कम्पनी सुपरीवेक्षण, संस्थागत योजना वा सामान्य सेवामध्ये एउटाको जिम्मेवारी भने अवश्य दिनुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्