बैंकहरु मर्जरमा जान चाहेनन् भने राष्ट्र बैंकले एक्सन लिन्छः डेपुटी गभर्नर शिवाकोटी « Arthapath.com
१८ मंसिर २०७७, बिहीबार

बैंकहरु मर्जरमा जान चाहेनन् भने राष्ट्र बैंकले एक्सन लिन्छः डेपुटी गभर्नर शिवाकोटी



इन्फर्मल रुपमा बिग मर्जरको प्रस्ताव आइरहेका छन् ।

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउनका लागि राष्ट्र बैंकले छुट्टै निर्देशिका जारी गरेपछि केही संख्यामा घटे पनि हाल कुनै पनि बैंक मर्जरका लागि सक्रिय छैनन् । निर्देशिका जारी भएका बेला बैंक तथा वित्तीय संस्थाहरुको मर्जरको लहर चले पनि बाणिज्य बैंकहरु मर्जरमा जान चाहेनन् । लघुवित्तहरुमा मर्जरको लहरै चले पनि बैंकहरु मर्जरमा जान सकेनन् । बैंकहरुले मर्जर कमिटी गठन गरे पनि ठोस निर्णय गर्न नसकेका कारण उनीहरु मर्जरमा जान नसकेका हुन् । तर नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरु स्वस्फूर्त मर्जरमा नजाने हो भने एक्सन लिन सक्ने बताएको छ । बैंकहरु मर्जरमा नजाने हो भने भविष्यमा राष्ट्र बैंकले एक्सन लिने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । उनले भने– हाल कुनै पनि बैंकहरु मर्जरका लागि राष्ट्र बैंकमा प्रस्ताव आएको छैन । यो बैंकले फलानो बैंकसँग मर्जर गर्नुपर्छ भनेर बाध्य पनि नबनाएको उनी बताउँछन् । “तपाईहरु यसैसँग मर्जरमा जानुस्, गइहाल्नुस् भनेर हामी तत्कालै बाध्य गर्दैनौं । किनभने लगानीकर्ताले गरेको लगानीको सुरक्षा गर्ने जिम्मा उहाँहरुको हो । राज्यले उहाँहरुको लगानीलाई प्रोटेक्ट गरिदिनुपर्छ, राज्यले उपयुक्त वातावरण बनाई दिनुपर्छ भन्ने छ संविधानतः । त्यसकारण जर्वजस्ती गर्ने कुरामा नजाऊँ कि ?” सिवाकोटी भन्छन्– यदि अब भएन, यसपालि भएन, अर्को बर्ष पनि भएन भने कुनै एउटा निश्चित प्वाइण्टमा आएपछि राष्ट्र बैंकले त्यसमा अलि गम्भीर भएर एक्सन लिन्छ ।

नेपालमा राष्ट्र बैंकले चालु आर्थिक बर्षको असोज मसान्तसम्म सार्वजनिक गरेको वित्तीय विवरण अनुसार इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या क्रमिक कम हुँदै १ सय ४६ पुगेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको असोज मसान्तसम्म देशभरमा २७ बाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७८ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।

तर, लघुवित्त संस्थाहरुमा मर्जरको लहर चलेको छ । कुनै बेला विकास बैंक र फाइनान्स कम्पनीको संख्या पनि झण्डै ९० को हाराहारीमा थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्था मर्जर एण्ड एक्युजिसनको नीति अख्तियार गरेपछि बैंक वित्तीय क्षेत्रमा मर्जर सुरु भएको हो । राष्ट्र बैंकले राष्ट्रियस्तरको लघुवित्तको हकमा चुक्ता पूँजी ८० करोड देखि १ अर्बसम्मको बनाउनुपर्ने प्रस्ताव गरेको हो । यसबारे मौद्रिक नीतिको समिक्षाका क्रममा नयाँ निर्देशन आउने अपेक्षा गरिएको छ ।

कुनै बेला ९६ ओटा लघुवित्त संस्थाले लाइसन्स पाएकोमा मर्जर र एक्यूजिसन हुँदै हाल ६५ ओटामा झरेका छन् । गत साता ग्लोबल आइएमई लघुवित्त र स्पर्स लघुवित्त लगायत केहीले मर्जरको स्वीकृति पाएसँगै लघुवित्तको संख्या क्रमशः घटिरहेको छ । यसरी मर्जर हुँदै जाने हो भने लघुवित्तको संख्या यसै आवमा ४० को हाराहारीमा झर्न सक्ने आँकलन गरिएको छ । राष्ट्र बैंकको उद्देश्य लघुवित्तलाई मर्जर गरेर २०/२५ ओटामा ल्याउने रहेको देखिन्छ ।

त्यसैगरी डेपुटी गर्भनर सिवाकोटीले कुनै पनि बैंकको बिग मर्जरको लिखित पस्ताब नआएको बताए । तर अनौपचारिक रुपमा मर्जरका लागि बेला–बेलामा सुझावका लागि भने कोही न कोही बैंक आउने गरेको उनले बताए । उनले भने, “मर्जरका लागि बाणिज्य बैंकहरुको लिखित प्रस्ताव नआए पनि अनौपचारिक रुपमा बैंकहरुलाई तपाँईहरु मिलेर जानुहोस् भनेर बेला बेला भनिरहेका हुन्छौं । बैंकका मर्जर कमिटीका सदस्यहरु बेला बेला आएर योसँग जाँदा कसो होला भनेर सुझाव माग्न पनि आउने गरेका छन् ।” तर उनीहरुका बीच कुराहरु नमिल्ने गरेकाले मर्जरका लागि सहमति हुन नसकेको उनी बताउँछन् । डेपुटी गभर्नर शिवाकोटीका अनुसार, आउने क्रममा कतिपय बैंकहरु बीच अनौपचारिक छलफल हुँदा स्वाप रेसियोमा कुरा नमिलेको पनि हुन्छ । धेरै बैंकहरुले मर्जर कमिटी गठन गरेका छन्, मर्जरका लागि जाने भनेर ढोकाहरु खुलेका छन् । तर उहाँहरुले पार्टनरहरुसँग छलफल गरिरहनुभएको छ, सायद केही समयमा नै उहाँहरु एउटा निर्णयमा पुग्नुहोला । तर डेपुटी गभर्नर शिवाकोटीले कुन बैंक कुन बैंकसँग मर्जरमा जानको लागि कुरा गरिरहेको भन्ने चाहिं बताउन चाहनुभएन ।


प्रतिक्रिया दिनुहोस्