अर्थमन्त्री पौडेललाई सिबिफिनको १८ बुँदे मागःसंस्थापक र साधारण सेयरमा विभेद हटाउनुपर्छ « Arthapath.com
२१ पुष २०७७, मंगलवार

अर्थमन्त्री पौडेललाई सिबिफिनको १८ बुँदे मागःसंस्थापक र साधारण सेयरमा विभेद हटाउनुपर्छ



काठमाडौं । कोभिड–१९ को कारण समस्याग्रस्त बनेका सबै किसिमका उद्योग–व्यवसायहरुको पुनरुत्थान गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने, उद्यमशिलताको विकाससहित उद्योग–व्यवसायको विस्तारका लागि बैंक तथा वित्तीय क्षेत्रको विस्तार गर्दै स्पष्ट भूमिका तय गर्ने, विदेशबाट फर्किएको ठूलो जनशक्तिको उच्चतम उपयोग गरी कृषि, उद्योग, पर्यटन तथा जलविद्युत जस्ता मुख्य पूर्वाधारहरुको विकास एवं विस्तार गर्ने तथा दिगो आर्थिक विकास मार्फत समृद्धि राष्ट्र निर्माण गर्ने जस्ता महत्वपूर्ण विषयहरुमा नेपाल सरकार तथा मातहतका निकायहरुसँग हुन सक्ने सहकार्य जस्ता महत्वपूर्ण विषयहरुमा पौष २० गतेका दिन बैंक तथ वित्तीय संस्थाहरुको छाता संस्था–बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसमक्ष भेटघाट तथा छलफल सम्पन्न गरेको छ ।

सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाह, महासचिव केशवबहादुर रायमाझी, सिबिफनका सदस्य एवं हिमालय बैंकका अध्यक्ष तुलसी प्रसाद गौतम, नेपाल बैंक लिमिटेडका अध्यक्ष बासुदेव अधिकारी, सिबिफन सदस्य एवं रिलायन्स फाइनान्स कम्पनीका अध्यक्ष कुशकुमार मल्ली र सिविफिनका महानिर्देशक गोपाल प्रसाद तिवारीसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्रीको कार्यकक्षमा भेटघाट गरी वर्तमान अवस्थामा समग्र राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल सरकार, मातहतका निकाय र निजी क्षेत्रले निर्वाह गर्नुपर्ने विषयहरु एवं सहकार्यका संभावित क्षेत्रहरुका वारेमा अर्थमन्त्रीलाई संक्षिप्त जानकारी गराउँदै परिसंघको तर्फबाट संस्थागत सुझावहरु समेत पेश गरेको छ ।
उक्त भेटघाटका क्रममा परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले परिसंघको उद्देश्य, आवश्यकता र भूमिकाका विषयमा प्रकाश पार्दै नेपाल सरकार, अर्थ मन्त्रालय र मातहतका निकायहरुले विषम परिस्थितिलाई मध्यनजर गर्दै समग्र निजी क्षेत्रसँग हातेमालो गर्नुपर्ने, देशैभरी छरिएर रहेको आर्थिक स्रोत परिचालन गर्न सेयरबजारमार्फत बैंकहरुलाई ब्रोकर लाइसेन्स सहजरुपमा दिने व्यवस्था गरिनुपर्ने, प्रोमोटर सेयर पब्लिक सेयरमा रुपान्तरण गर्न पाउनुपर्ने, वित्तीय क्षेत्रलाई अरु व्यवसाय सरह नै करको दर लागू गरिनुपर्ने, वित्तीय संस्थाहरु गाभ्ने र गाभिने प्रक्रियालाई सहज बनाउनका लागि स्प्रेड रेटमा १ प्रतिशत सुविधा दिइनुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुले गर्ने आन्तरिक व्यवस्थापनका कार्यमा हस्तक्षेपकारी नीति हटाउनुपर्ने र नीतिगतरुपमा देखिएका व्यवहारिक समस्याहरुलाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी परिसंघका उपाध्यक्ष भोजबहादुर शाहले कोभिड–१९ ले ग्रस्त बनेको नेपालको अर्थतन्त्रलाई गतिशिल बनाउनका लागि नेपाल सरकारले वित्तीय साक्षरता, साना तथा मझौला उद्योगहरुको विकास विस्तारका लागि सहज वित्तीय पहुँच, युवा तथा महिला उद्यमशिलताको विकास एवं विस्तार जस्ता विषयमा व्यवसायिक तालिम तथा प्रशिक्षण कार्यक्रम गर्नुपर्ने विषयमा जोड दिँदै त्यस्ता कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा सहयोग तथा सहकार्य गर्न सिविफिन सदैव तत्पर रहेको विषय औल्याउनु भयो । साथै रिलायन्स फाइनान्सका अध्यक्ष कुशकुमार मल्लीले वित्तीय संस्थाहरुको वर्ग अनुसारको कार्यक्षेत्र स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

उक्त प्रतिनिधिमण्डलले व्यक्त गरेका रायहरु र पेश गरेको सुझावहरुलाई सकारात्मकरुपमा ग्रहण गर्नुभएका अर्थमन्त्रीले नेपाल सरकार सदैव बैंक तथा वित्तीय संस्था परिसंघ नेपालसँग सहकार्य गर्दै अगाडि बढ्ने विषयमा जोड दिँदै राष्ट्रको सर्वाङ्गिण विकासका लागि सम्पूर्ण क्षेत्रहरुबाट योगदानको अपेक्षा व्यक्त गर्नुभयो । साथै सिविफिनले पेश गरेका महत्वपूर्ण रायसुझावहरुको आवश्यक सम्बोधनसहित कार्यान्वयन गर्न सिविफिनसँग निरन्तर छलफल गर्ने कुरा बताउनु भयो ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को तर्फबाट पेश गरिएका केही महत्वपूर्ण सुझावहरु:

१. प्रोमोटर सेयर पब्लिक सेयरमा रुपान्तरण भैसकेका बैंकहरुका प्रोमोटरहरु, प्रोमोटर र पब्लिक दुवै समुहको सेयरधनी हुने हुँदा प्रथमपटकको लागि निजहरुले प्रोमोटर वा पब्लिक समुहमध्ये कुनै एक समुहबाट उम्मेद्वारी घोषणा गर्न पाउने र उल्लेखित समुहमध्ये कुनै एक समुहबाट उम्मेद्वारी घोषणा गरिसकेपछि उक्त प्रोमोटरले पुनः समुह परिवर्तन गर्न नपाउने पूर्ववत व्यवस्था यथावत कायम गरिनुुपर्दछ ।

२. बैंक तथा वित्तीय संस्थाहरुको संचालन तथा व्यवस्थापकिय पक्षसँग सम्बन्धित बैकिङ सेवा शुल्क, अन्तर बैकिङ सेवा शुल्क जस्ता बैंक तथा वित्तीय संस्थाका अन्त्यन्तै आन्तरिक पक्षमा समेत नेपाल राष्ट बैंक जस्तो नियामक निकायले माइक्रो म्यानेजमेन्ट गर्न खोज्नु उपयुक्त हुदैन ।

३. बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) देशैभरी छरिएर रहेका बैंक तथा वित्तीय संस्थाहरुको प्रतिनिधिमूलक छाता संस्था भएकोले नेपाल सरकार, अर्थ मन्त्रालयको राजश्व परामर्श समिति, नेपाल राष्ट्र बैंकको बोर्ड, लगानी बोर्ड, औधोगिक प्रबद्र्धन बोर्ड, धितो पत्र बोर्ड लगायतका महत्वपूर्ण निकायहरुमा सिविफिनको आधिकारिक प्रतिनिधित्वको सुनिश्चित गराइनु पर्दछ । फलस्वरुप विभिन्न अध्ययन, अनुसन्धानलगायत नीतिगत विषयमा ठूलो पृष्ठपोषण पुग्न मद्दत पुग्दछ ।

४. चालु आर्थिक बर्षको बजेटमा व्यवस्था भए अनुसार बाणिज्य बैंक तथा वित्तीय संस्थाहरुलाई प्रतिव्यक्ति आय कम भएका प्रदेशमा खाता विस्तार गर्न उत्साहित गरी वित्तीय पहुँच पु¥याउन मार्ग प्रशस्त गर्ने र पुनरुत्थान एवं राहतका कार्यक्रम २५ जिल्लामा मात्र सुरुवात ग¥यो भने स्थानीय तहमा आम सर्वसाधारण मानिसहरुले रोजगार तथा आफ्नो क्षमता, दक्षता र सीप अनुसारका काम गर्न सक्ने देखिन्छ । जसले गर्दा आफ्नो गाउँ, आफै बनाऊ भन्ने नेपाल सरकारको योजना र जनताको चाहनामा प्रभावकारी सहयोग पुग्ने देखिन्छ ।

५. बैंक तथा वित्तीय संस्थाहरुको तिर्ने कर ३० प्रतिशतबाट घटाएर अन्य व्यवसाय सरह २५ प्रतिशत कायम गरिनुपर्दछ । किनकि बैंक तथा वित्तीय संस्थाहरुले आफू बाँच्ने मात्र होइन, सरकारलाई पनि सहयोग गर्ने, उद्योग व्यवसायलाई पुर्नताजकी गर्ने तथा साना तथा मझौला व्यवसायको लागि विभिन्न माध्यमबाट कर्जा प्रवाह गरी अर्थतन्त्रलाई जोगाइराख्न धेरै नै प्रभावकारी भूमिका खेलिरहेकाले यस क्षेत्रलाई जोगाउनु पहिलो दायित्व हुन आउँछ ।

६. बाणिज्य बैंकहरुले प्रति शाखा १० वटा, विकास बैंकले प्रति शाखा ५ वटा र राष्ट्रियस्तरका बाहेकका विकास बैंक तथा वित्तीय कम्पनीहरुले क्रमशः न्यूनतम २०० र १०० सहुलियतपूर्ण कर्जा दिनुपर्ने व्यवस्था कार्यान्वयन गर्दा यस प्रकारका कर्जाहरुको समग्र मूल्याङ्ककन गरी एक वित्तीय संस्थाले अर्को वित्तीय संस्थाको कर्जा साटफेर वा खरिद– विक्री गर्न पाउने व्यवस्था कायम गरिनुपर्दछ । यसो गर्दा आफ्नो क्षमता र दक्षता भएको कर्जा मात्र प्रवाह गर्न सक्ने तथा ग्रामीण क्षेत्रमा कर्जा विस्तार पनि हुने र तोकिएका कर्जा उपलब्ध गराउनुपर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई सहज हुने देखिन्छ । साथै, ऋण प्रवाह गर्दा बाणिज्य बैंकहरुलाई सहुलियत (स्प्रेड दरमा ०.२५ थप्ने अथवा अन्य सुविधाहरु) दिइयो भने बैंकहरुले उक्त प्रावधान प्रभावकारीरुपमा लागू गर्न सक्ने छन ।

७. वित्तीय संस्थाहरु गाभ्ने र गाभिने तथा प्राप्ती गर्दा बैंक तथा वित्तीय संस्थाहरुलाई दीर्घकालीनरुपमा दिगो बनाउने तरिकाले निर्देशन जारी गरिए मात्र बैंक तथा वित्तीय संस्थाहरुको जग बलियो हुन गइ उत्पादनशील क्षेत्रमा लगानी बढ्ने र समग्ररुपमा नेपालको अर्थतन्त्र नै मजबुत हुने देखिन्छ । तसर्थ गाभ्ने र गाभिने वा प्राप्तीमा जान चाहनेलाई विगतमा दिइ आएको १ प्रतिशत स्प्रेड रेटको सुविधालाई निरन्तरता दिई ३ बर्ष सम्मका लागि उपलब्ध गराउँदा गाभ्ने र गाभिने वा प्राप्ती गर्ने प्रक्रियामा जान बैक तथा वित्तीय संस्थाहरुलाई सहजता हुन सक्छ । यसले गर्दा वित्तीय संस्थाहरुको संस्थागत क्षमता बढ्न गइ कोभिड–१९ ले पारेको असरलाई न्यूनिकरण गरी बजारमा विश्वासको वातावरण सृजना भइ समग्र अर्थ व्यवस्थामा सकारात्मक प्रभाव पर्दछ ।

८. हाल बैंक तथा वित्तीय संस्थाहरुको स्थीर पुँजी बढिरहेको, क्षमता पनि क्रमशः बढाउँदै जानु पर्ने र दायित्व समेत बढिरहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरुको संचालक समितिको आकार बढाइ कम्तिमा ९ सदस्यीय बनाइनु औचित्यपूर्ण देखिन्छ । साथै, गाभ्ने र गाभिने वा प्राप्तीको प्रक्रियामा जाने बैंक तथा वित्तीय संस्थाहरुले तत् अवस्थामा वहाल रहेका संचालक समितिमा रहेका प्रतिनिधिहरुलाई समायोजन गर्नुपर्ने, कर्मचारी समायोजन गर्नुपर्नेलगायतका भारहरुको व्यवस्थापनका लागि गाभ्ने र गाभिने वा प्राप्तीको प्रक्रियामा गइसकेका वित्तीय संस्थाहरुको हकमा संचालक समितिको आकार ११ सदस्यीय बनाइनु पर्दछ ।

९. बैंक सञ्चालन भएको १० वर्ष पुगेपछि बैंकहरुले पनि स्थायीत्व प्राप्त गरिसक्ने हुँदा संस्थापक शेयर र साधारण सेयरमा भएको विभेद हटाउनु उपयुक्त देखिन्छ । यसले गर्दा लगानी कर्ता पनि आफ्नो लगानीलाई विकेन्द्रिकृत गर्न सक्छन् जसले गर्दा समग्र अर्थतंत्रमा पूँजी परिचालन भई आर्थिक वृद्धि दरमा सुधार हुने देखिन्छ ।

१०. समग्र आर्थिक गतिविधि बढाउन र पुँजी बजारलाई चलायमान बनाउनको लागि NRNs सँग भएको ठूलो धनराशी भित्रयाउनेका लागि सहजीकरण र सहुलियत प्रदान गरी नेपाल भित्राउने वातावरणको सृजना गर्नुपर्दछ । ५ लाख डलरसम्म एनआरएनले (स्रोत नखुलेपनि) बैंकिङ च्यानलमार्फत नेपाल ल्याउन चाह्यो भने नेपाल राष्ट्र बैंकले लगानी गर्ने प्रयोजनका लागि सहजीकरण गरिदिनुपर्दछ ।

११. SMEs को लागि प्रदान गरिने १ करोड भन्दा तलको सहुलियतपूर्ण कर्जा समेत वाणिज्य बैंकहरुले तोकिएको अवधिभित्र तोकिएको प्रतिशत पु¥याउनुपर्ने व्यवस्थाले एकातिर अग्रभागमा रही कार्य गर्दै आएका विकास बैंक तथा वित्तीय कम्पनीहरु स्वतः किनाराकृत हुने र अन्ततोगोत्वा उनीहरुको अस्तित्व नै संकटमा पर्ने देखिन्छ भने स–सानो लगानीमा समेत वाणिज्य बैंकहरुले हात हाल्दा लगानीको लागत बढ्न गइ मुनाफामा प्रत्यक्ष असर गर्ने र मुनाफामा असर देखिँदा बैंकिङ क्षेत्रका लगानी कर्ता हरुमा निराशा उत्पन्न हुने देखिन्छ । तसर्थ त्यस्ता कर्जाहरुको बर्गिकरण गरी बाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीहरुको लगानी सिमा तोकिनुपर्दछ ।

१२. धेरै प्रभावित भएका क्षेत्रहरु जस्तै पर्यटन, होटल तथा रेष्टुरेन्ट, साना तथा मझौला उद्योग, एयरलाइन्स र यातायात, भण्डारण र स्टोरेज, तथा सञ्चार क्षेत्रलाई अनुदान सहयोग गरी पुनरुत्थान गर्ने, कृषि तथा साना र मझौला उद्योगबाट उत्पादन हुने सामानलाई बजारसम्म पुर्याउन आपूर्ति प्रणालीलाई सरकारको सहजीकरणमा वित्तीय सहजता उपलब्ध गराउने जस्ता नीति, योजना तथा कार्यक्रम ल्याइनुपर्दछ ।

१३. देशभरिका महिलाहरुको बचतलाई वित्तीय संस्थामार्फत परिचालन गर्न उनीहरूसँग भएको १५ लाख सम्मको रकमलाई निक्षेपका रुपमा संकलन गर्ने वातावरण बनाउनु अति आवश्यक छ । बचत जम्मा गर्नका लागि उनीहरूलाई व्याजमा तथा व्यवसाय गर्न प्रोत्साहनका कार्यक्रमहरु लागू गर्नुपर्दछ ।

१४. प्रादेशिक विकास वैंकहरुको कार्यजालो आफ्नो कार्यक्षेत्र भित्रका अधिकांश स्थानिय तहहरुमा हुने भएता पनि स्थानिय तहको बैंक खाता वाणिज्य वैंकहरुमा मात्र संचालन हुने नीतिगत व्यवस्था रहेको वर्तमान परिप्रेक्ष्यमा विकास बैंक तथा वित्तीय कम्पनीहरुले समेत वाणिज्य वैंकहरु सरहको वित्तीय सेवा स्थानिय तहहरुलाई प्रदान गर्न सक्ने भएकाले स्थानिय तहहरुको बैंक खाता विकास वैंक तथा वित्तीय कम्पनीहरुमा समेत संचालन गर्न सकिने नीतिगत व्यवस्था मिलाउनु पर्दछ ।

१५. प्रादेशिकस्तरमा सञ्चालित विकास बैंकहरुलाई हाल रु. ५० करोड चुक्तापूँजीमा ५ जिल्लामा बैंकिङ कारोबार संचालन गर्ने गरी कार्य क्षेत्र दिइरहेकोमा प्रादेशिक स्तरको लागि नेपाल राष्ट्र बैंकलेतोकेको न्यनूतम चक्ुतापूँजी १२० करोडलाई ५ जिल्लाको रु. ५० करोड घटाइ बाूँकी ७० करोड चुक्ता पूँजीलाई बाँकी जिल्लाले भाग गरी समानुपातिक आधारमा जिल्ला थप गर्ने व्यवस्था मिलाउनु पर्ने देखिन्छ । हालको विषम परिस्थितिमा स्थानीय तहका ग्रामीण क्षेत्रमा थप विस्तार भइ ग्रामीण क्षेत्रका जनतामा बैंकिङ पहुूँच पु¥याउन ठूलो मद्दत पुग्ने देखिन्छ ।

१६. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन ०७३ मा नेपाल राष्ट्र बैंकको स्वीकृति लिई विदेशी मुद्राको कारोवार गर्ने व्यवस्था भएकोमा वित्तीय संस्थाहरुलाई विदेशी मुद्राको कारोवार गर्न दिइएको छैन । मनी एक्सचेञ्जर तथा साना साना होटलहरुले समेत विदेशी मुद्राको कारोवार गरिरहेको सन्दर्भमा वित्तीय कम्पनीहरुलाई समेत समान सुविधा दिइने व्यवस्था गरिनुपर्दछ ।

१७ नेपाली बैंकिङ क्षेत्र दक्षिण एसियामै उत्कृष्ट रहेको, पूँजीगत आधार र संस्थागत सुशासन राम्रो रहेको र मुलुकभर सञ्जाल रहेको छ । देशैभरी छरिएर रहेका बैंकहरुका शाखा कार्यालयमार्फत बैंकहरुले ग्रामीण इलाका एवं दुरदराजमा समेत पुँजी बजार विस्तार गर्न सक्ने प्रशस्तै संभावना छ । तसर्थ, लगानीकर्ताको लगानी सुरक्षित गर्न, पुजीबजारको विकास एवं विस्तार गर्न र वित्तबजारलाई समेत सहयोग पु¥याउनका लागि बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था यथासंभव छिटो गरिनुपर्दछ । किनभने बैक तथा वित्तिय संस्थाहरुलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था तत्काल कार्यान्वयन गर्न सकियो भने ७७ जिल्लाहरुमा (औषतमा १ जिल्लाको रु २ करोडका दरले) लुकेर बसेको पुँजी मूल प्रवाहमा समाहित भइ एकै दिनमा १.५ अरबभन्दा बढी सेयर कारोवारमार्फत बैकिङ प्रणालीमा ल्याउन सकिन्छ ।

१८ मुलूकको जिडिपीको ठूलो हिस्सा ओगटेका र महत्वपूर्ण योगदान पु¥याइरहेका साना तथा मझौला उद्योगहरुको विकास, विस्तार तथा स्तरोन्नति, वित्तीय साक्षरता एवं पहुँच, उद्यमशिलताको विकास जस्ता कार्यक्रम प्रदेशस्तरमा संचालनका लागि सहकार्य गर्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल तत्पर रहेको छ । तसर्थ अर्थ मन्त्रालयको विशेष पहल र नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थामा CSR अन्तर्गत रहेको रकमको १०% मात्र उल्लेखित कार्यक्रममा लगानी गर्न सकियो भने अर्थतन्त्रलाई गतिशिलता दिन, रोजगारी अवसर सृजना गर्न, आम नागरिकको जीवन स्तरोन्नति गर्न र समाज रुपान्तरणमा समेत महत्वपूर्ण टेवा पुग्न गइ माननीय अर्थमन्त्रीज्यूको कार्यकाल समेत ऐतिहासिक बन्न सक्दछ । तसर्थ, यस विषयमा माननीय अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गराउदै आवश्यक पहल अगाडि बढाउन विशेष आग्रह गर्न चाहन्छौं ।


प्रतिक्रिया दिनुहोस्