सेयर कारोबारमार्फत इतिहासकै सबैभन्दा बढी पुँजीगत लाभकर सरकारलाई « Arthapath.com
२७ पुष २०७७, सोमबार

सेयर कारोबारमार्फत इतिहासकै सबैभन्दा बढी पुँजीगत लाभकर सरकारलाई



काठमाडौं । दोस्रो बजारमा हुने सेयर कारोबारमार्फत सरकारले इतिहासकै सबैभन्दा बढी पुँजीगत लाभकर उठाएको छ । गतवर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो चौमासमै पुँजीगत लाभकर उठाउँदै अर्को नयाँ रेकर्ड कायम भएको छ ।

गतवर्ष सरकारले सेयर बजारबाट प्राप्त हुने पुँजीगत लाभकर र टीडीएसमार्फत १ अर्ब ३० करोड रुपैयाँप्राप्त गरेको छ । यो सेयर बजारकै इतिहासमा सबैभन्दा बढी लाभकर उठेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । योभन्दा बढी चालु आर्थिक वर्षको पहिलो चौमासमै पुँजीगत लाभकरमा अर्को नयाँ रेकर्ड कायम गरिसकेको नेप्सेको भनाइ छ । चालु आर्थिक वर्षको पहिलो चौमासमै १ अर्ब ४० करोड रुपैयाँ पुँजीगत लाभकर र टीडीएस उठाउँदै अर्को नयाँ रेकर्ड कायम गरेको नेप्सेको जिकिर छ । गतवर्ष नेप्सेले अघिल्लो वर्षकै हाराहारीमा नाफा कमाएको छ । नाफाअनुसार नेप्सेले यस वर्ष ५० प्रतिशतसम्म लाभांश दिएको छ । अघिल्लो वर्ष नेप्सेले ४० प्रतिशत नगद लाभांश दिएको थियो ।

गत आर्थिक वर्षमा सरकारको आम्दानी मनग्गे बढेको भए पनि नेप्सेको आम्दानी भने त्यो अनुरूप बढेको छैन । अघिल्लो वर्षकैहाराहारीमा मात्र नाफा कमाएको नेप्सेको भनाइ छ । उसले गतवर्ष २९ करोड रुपैयाँ हाराहारीमा खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष उसको आम्दानी २८ करोड रुपैयाँ रहेको थियो । दोस्रो बजारमा हुने सेयर कारोबारमा ब्रोकर कमिशन घटेपछि उसको आम्दानी प्रभावित हुँदैआएको हो । अघिल्लो वर्ष ब्रोकर कमिसन एकैपटक ४० प्रतिशतले घटेको थियो ।

त्यही वर्षदेखि उसको आम्दानीमा समेत संकुचन देखिँदैआएको हो । तर, गतवर्ष सरकारले मनग्य आम्दानी गर्दा नेप्सेले त्यही अनुपातमा खर्चको कारण आम्दानी गर्न नसकेको बताइएको छ । उसले नयाँ अनलाइन कारोबार प्रणाली भित्र्याएपछि खर्च बढेको बताएको छ । उसले सफ्टवेयरकै मर्मतको लागि भन्दै १५ करोड रुपैयाँ जगेडा राख्ने गरेको छ । जगेडा बढाएकै कारण उसको आम्दानीमा समेत असर गरेको हो ।


प्रतिक्रिया दिनुहोस्