प्रोक्सी संकलनको लागि ब्रोकर कार्यालयमा भीड, प्रोक्सीमा समेत घोटाला « Arthapath.com
२ माघ २०७७, शुक्रबार

प्रोक्सी संकलनको लागि ब्रोकर कार्यालयमा भीड, प्रोक्सीमा समेत घोटाला



काठमाडौं । सूचीकृत कम्पनीमा प्रोक्सीमा समेत घोटाला हुने गरेको छ । बैंक, बित्तीय संस्था, जलविद्युत् कम्पनी लगायतका कम्पनीहरुमा साधारण शेयर धनीको तर्फबाट नेतृत्वका लागि जानेहरुबीच प्रतिस्पर्धा बढेपछि यो धन्दा फस्टाएको हो । यस्ता प्रोक्सी सके साथीभाइ लगाएर सित्तैमा नभए किनबेच समेत हुने गरेको बताइन्छ । सरकारी कोषहरू, बीमा कम्पनीहरू र म्यूचुअल फण्डका लगानीबाट प्रोक्सी लिएर भोट हाल्न जाने व्यक्तिहरूले समेत भोट बिक्री गर्ने गरेको चर्चा सर्वत्र चल्ने गरेका हुन्छन् । यसबाहेक अधिकांश सर्वसाधारण सेयरधनी साधारणसभामा भाग लिँदैनन् । तर, उनीहरूको उपस्थिति भने साधारणसभामा हुने गरेको छ । प्रोक्सीमार्फत उनीहरूका प्रतिनिधिले साधारणसभामा उपस्थिति जनाउने गरेको उनीहरूको भनाइ छ ।

दुई वर्षअघिको बैंक अफ काठमाडौंको साधारणसभा र सञ्चालकको निर्वाचनमा सेयरधनी विजय श्रेष्ठको प्रोक्सीमा अर्कैले भोट हाले । सो चुनावमा कर्मचारी सञ्चय कोषका प्रतिनिधि बनेर आएका व्यक्तिले अन्तिम अवस्थामा भोट बेचेको आरोपसमेत लाग्यो । संस्थाले एउटा व्यक्तिलाई भोट दिनु भनेर निर्देशनसहित पठाए पनि कर्मचारीले ठूलै रकम लिएर अर्कै व्यक्तिलाई भोट दिएपछि बैंकमा सबैभन्दा ठूलो सेयर हिस्सा र लगानी भएका व्यक्ति नै पराजित हुन पुगे । चिन्दै नचिनेका व्यक्तिलाई साथीहरूको सिफारिस वा आफ्नै स्वविवेकले प्रोक्सी दिने गरेका छन् । उनीहरूको प्रोक्सीको सदुपयोग भयो कि भएन त्यो खोजी उनीहरु कहिल्यै गर्दैनन् । प्रोक्सी दिनु भनेको दोस्रो बजारमा कारोबार गर्ने धेरैजसो सेयरधनीले सामान्यरूपमा लिने गरेको पाइन्छ । सेयरधनीले सामान्य ठानेकै कारण असल र खराब दुवै नियतले प्रोक्सी संकलन गर्नेको मनोबल बढाइदिएको छ, जसले साधारणसभा हुनुपूर्व नै असल र खराब दुवै नियतका मानिसहरू बजारमा प्रोक्सी संकलनमा परिचालित हुने गरेका छन् । खराब नियतले प्रोक्सी संकलन गर्नेहरू साधारणसभा हुनु धेरै पहिलेदेखि नै बजारमा परिचालित हुने गरेका छन् ।

ज्योति विकास बैंकले साधारणसभाको घोषणा गरेको छैन । तर, ब्रोकर कार्यालयमा प्रोक्सी संकलन गर्न समूह बनाएर नै लगानीकर्ताको हस्ताक्षर लिन सुरु गरिसकेका छन् । त्यस्तै, नविल बैंक र पुनर्बीमा कम्पनीको सेयरधनीहरूसँग पनि प्रोक्सी उठाउने क्रम सुरु भैसकेको छ । यसरी धेरैजसो कम्पनीको साधारणसभाका लागि सेयरधनीहरू प्रोक्सी संकलन गर्न आउँछन् । कतिले त कुन, कसका लागि प्रोक्सी संकलन गरेको हो, त्यसको नामसमेत खुलाएका हुँदैनन् । खाली कागजमा हस्ताक्षर माग्ने गरेको अनुभव ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले समेत गरेका छन् । ‘कत्ति साथीहरूले त कसको लागि प्रोक्सी लिन लागिएको हो त्यसको नाम समेत खुलाउँदैनन्’ रानाभाटले भने ।

यसरी संकलन भएको प्रोक्सीको दुरुपयोग हुने सम्भावना धेरै हुन्छ । सेयर रजिस्ट्रार र कम्पनी आफैंले समेत उनीहरूसँग मिलोमतो गर्ने गरेको अनुभव अर्का पुराना लगानीकर्ताले सुनाए । उनका अनुसार, सेयर सजिस्ट्रार वा कम्पनीसँग सबै सेयरधनीको हस्ताक्षर सहितको सूची हुन्छ । त्यही सूचीअनुसार हस्ताक्षर रुजु गरिन्छ । हस्ताक्षर रुजु गर्न कम्पनीले आफ्नो सचिव नियुक्त गरेको हुन्छ । नियमअनुसार कम्पनी सचिवलाई सधारणसभामा उपस्थित सेयरधनीको हस्ताक्षर रुजु गर्ने अख्तियारी दिइएको छ । यही अख्तियारीको दुरुपयोग कम्पनी र सेयर रजिस्ट्रार दुवैले गर्ने गरेका छन् ।

चाहेको मानिसलाई सञ्चालक नियुक्त गर्नको लागि कम्पनीले आफ्नो कम्पनी सचिवमार्फत हस्ताक्षर रुजु गर्दा कडाइ र नरम दुवै विधि अपनाउने गरेको उनले बताए । उनकाअनुसार कम्पनीले चाहेको मानिसलाई कम्पनी सचिवले हस्ताक्षर रुजु गर्दा सहज तरिकाले गरिदिन्छन् भने कम्पनीले ल्याउन नचाहेको व्यक्तिलाई हस्ताक्षरमा कडाइ गर्दै उनीहरूले संकलन गरेको प्रोक्सी बदर गरिदिने गरेका छन् ।

यसरी कम्पनीहरूले समेत प्रोक्सी कारोबारीलाई साथ दिने गरेको कारण उनीहरूको मनोबल थप बढेको बजारका एक पुराना लगानीकर्ताले बताए । उनले गतवर्ष एक कम्पनीमा भएको प्रोक्सीको दुरुपयोगको रमाइलो किस्सा सुनाए । गतवर्ष उनी एक कम्पनीको साधारणसभामा उपस्थित भए । साधारणसभाका लागि प्रोक्सी दर्ता प्रक्रिया सकिसकेको थियो । तर, त्यहाँ प्रोक्सीको तथ्यांक यस्तो बताइयो, जुन मिल्दै नमिल्ने थियो । कम्पनीको सेयरधनी संख्याभन्दा निकै धेरै प्रोक्सीको विवरण साधारणसभामा बताइयो ।

सेयरधनीको सख्याभन्दा प्रोक्सीको संख्या बढी भएपछि एकछिन उपस्थित सेयरधनीले हल्ला खल्ला गरे । तर, अन्तमा कम्पनीका प्रतिनिधि र उपस्थित केही गिनेचुनेका सेयरधनीले केहीबेर गोप्य वार्ता गरे । त्यसपछि कराउने सेयरधनीले कराइरहे, तर कम्पनीको साधारणसभा सकियो ।साधारणसभाले वैधानिकतासमेत पायो । त्यही साधारणसभाले गरेको निर्णय सबै सेयरधनीले मान्नैपर्ने बाध्यता रह्यो । तर, यस विषयमा कसैले उजुरी भने गरेनन् ।

माथि उल्लिखित व्यक्तिहरूले चिन्दै नचिनेका मानिसलाई दिने गरेको प्रोक्सीको गलत उपयोगको यो गतिलो उदाहरण हो । साथै, कम्पनीहरूले प्रोक्सीमा भएको हस्ताक्षरलाई समेत आफूअनुकूल प्रमाणीकरण गर्ने गरेको यथार्थ यो घट्नाले प्रमाणित गर्छ । कम्पनीहरूले आफूअनुकूलका निर्णय गर्न र आफूअनुकूलका मानिसलाई सञ्चालकमा ल्याउन प्रोक्सी प्रमाणीकरणमा समेत अनियमितता गर्ने गरेको सेयर बजारका अर्का पुराना लगानीकर्ता ज्योति दाहालले खुलेरै बताए ।

उनकाअनुसार केही कम्पनीहरूले गलल व्यक्तिहरूलाई प्रोत्साहित गरेकै कारण सेयर रजिष्ट्रारहरूसमेत यस्तो क्रियाकलापमा मुछिने गरेका छन् । कम्पनीहरूले आफूअनुकूलका निर्णय गर्न र आफूअनुकूलका मानिसलाई सञ्चालकमा ल्याउन पहिले नै मिलेमतो गरिसकेका हुन्छन् । उनीहरूले साधारणसभामा उपस्थित हुन ४८ घण्टाअघि कम्पनीमा प्रोक्सी दर्ता गर्न लगाउँछन् । कति कम्पनीले प्रोक्सीमा भएको हस्ताक्षर आफैँ रुजु गर्छन् भने सेयर रजिस्ट्रारमार्फत काम गरिरहेका कम्पनीले उनीहरूमार्फत प्रोक्सीको प्रमाणीकरण गराउने गरेका छन् ।

कम्पनीहरूको निर्देशन अनुसार सेयर रजिस्ट्राहरूले साधारणसभाकै दिन प्रोक्सीको हस्ताक्षर प्रमाणीकरणको विवरण प्रकाशित गरिदिन्नन् । प्रकाशित विवरणमा कम्पनीले पहिले नै चयन गरिसकेकाको सेयरधनीका प्रोक्सीले आधिकारिकता पाउने गर्छन् भने अन्यको हस्ताक्षर नमिलेको भन्दै प्रोक्सि रद्द गरिदिने गरेको दाहालले बताए । बजारमा सेयरधनीका प्रोक्सीको सही सदुपयोग भएको छैन । कसैले प्रोक्सीको वैधानिकता खोज्दैन । प्रोक्सी प्रमाणीकरणमा कम्पनी र सेयर रजिष्ट्रारको मिलेमतो छ । तर, कसैले गुनासो गर्दैन ।

साधारणसभा नियमित हुन्छन् । ती साधारणसभाले वैधानिकताका पनि पाएकै छन् । यसरी प्रोक्सीमा वैधानिकता नखोजिएकै कारण विगतमा सूचीकृत ५० भन्दा बढी कम्पनी नेपाल स्टक एक्सचेन्जको सूचीकरणबाट हटेका छन् । सूचीकरण खारेज भएका धेरैजसो कम्पनीहरूले गलत नियतले सञ्चालक नियुक्त गरेका थिए । कम्पनीहरूले आफूअनुकूलका मानिसहरूलाई सञ्चालक नियुक्त गरेका कारण ती कम्पनीहरूले गरेको अनियमितता पर्दा लाग्ने गरेको छ, जसका कारण कम्पनी बन्द हुने अवस्थामा समेत पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्