अध्यक्ष र सञ्चालकको टकरावले जनरल इन्स्योरेन्समा लफडा, सञ्चालक अग्रवाललाई बीमा समितिले गर्यो निलम्बन « Arthapath.com
५ बैशाख २०७८, आईतवार

अध्यक्ष र सञ्चालकको टकरावले जनरल इन्स्योरेन्समा लफडा, सञ्चालक अग्रवाललाई बीमा समितिले गर्यो निलम्बन



काठमाडौं । एउटै कम्पनीमा अध्यक्ष र संचालक विच कुरा नमिल्दा त्यहाँ भित्र भएका विवादहरु बाहिर छरपष्ट भएको छ । जनरल इन्स्योरेन्स कम्पनीको अध्यक्ष कुनाल कयल र संचालक दिपेन्द्र अग्रवालको आन्तरीक लडाइँ कम्पनीमा छरपष्ट भएको छ । आफू सञ्चालक रहेको बीमा कम्पनीको नाममा आफैले सेयर बजारमा अन्धाधुन्ध लगानी गरेको आरोपमा जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक दिपेन्द्र अग्रवाल बीमा कम्पनीको कार्रवाहीमा परेका छन । अग्रवालले बीमा कम्पनीको फण्ड लगानी गर्नका लागि २ वटा ब्रोकरमा खोलिएको एकाउन्टको टीएमएस पासवर्ड आफैले लिएर व्यक्तिगत रुपमा कारोबार गर्ने गरेको पाइएको भन्दै बीमा समितिले कारवाही गरेको हो ।

कम्पनीको लगानी समितिको संयोजक रहेका अग्रवालले गैरकानुनी काम गरेको भन्दै सोही कम्पनीका अध्यक्ष कुनाल कयलले बीमा समितिका उजुरी गरेका थिए । अध्यक्षले आफनै संचालक विरुद्ध उजुरी दिएपछि उनि कार्यवाहीमा परेको चर्चा छ । शुक्रबार आधा कार्यदिन भएपनि बीमा समितिबाट चिठ्ठी आउँछ रिसिभ गर्नुपर्छ भन्दै अध्यक्ष कलयलले कर्मचारीलाई साँझसम्म राखेका थिए । जवकी लगानी समितिमा जनरल इन्स्योरेन्सकै फाइनान्स हेड र संचालक रामचन्द्र खनाल रहेका छन । उनिहरु २ लाइ चोख्याउँदै बीमा समितिले संयोजक अग्रवाललाई कारवाही गरेको हो । कम्पनीमा लगानी गर्ने अधिकार कार्यकारी प्रमुखसहितको कमिटिबाट मात्रै हुने गर्छ ।

उजुरी उपर छानविनपछि अग्रवाललाई बीमा समितिले पदबाट निलम्बन गरेको छ । अग्रवाललाई निलम्बन गरिएको निर्णयसहितको पत्र बीमा समितिले शुक्रबार जनरल इन्स्योरेन्स कम्पनीमा बुझाएको छ । यसअघि आफ्नो र परिवारको नाममा सेयर किनेको रकम नबुझाएको र खातामा रकम नभएको चेक दिएर पटक–पटक झुक्याएको भन्दै ४३ नम्बर ब्रोकर साउथ एशियन बुल्सले पनि अग्रवाल बिरुद्ध विभिन्न निकायमा उजुरी दिएको थियो । ब्रोकर कम्पनीले समेत औपचारिकरुपमा बीमा समितिमा पत्र लेखेर जनरल इन्स्योरेन्सको सञ्चालक रहेका अग्रवाललाई हटाउन माग गरेको थियो ।

अग्रवाल सेयर बजारका सक्रिय लगानीकर्ता हुन र उनले आफूसँग रहेको व्यक्तिगत लगानीलाई बढाउनको लागि बीमा कम्पनीको फण्ड उपयोग गरेको पाइएको बीमा समितिले जनाएको छ । यदि त्यस्तो गरेको पुष्टि भएमा उनीमाथि वित्तीय अपराधको कसुरमा कारबाही हुनसक्छ । अग्रवालले ४३ नम्बर ब्रोकरबाट आफू र परिवारको नाममा कारोवार गर्थे भने ३९ नम्बर ब्रोकरबाट बीमा कम्पनीको नाममा कारोवार गर्थे । बीमा कम्पनीको टीएमएसको पासवर्ड समेत आफैले लिएर उनले व्यक्तिगतरुपमा चलाउने गरेका थिए । उनले आफ्नो धेरै पोर्टफोलियो रहेको सिभिल बैंक, अरूणभ्याली हाइडोपावर र गोर्खा फाइनान्सको सेयर मुल्य बढाउनका लागि बीमा कम्पनीको नाममा उनले पटक–पटक लाखौँ कित्ता सेयर बाई राख्ने गरेका थिए । एओएन अर्थात टेकोको रुपमा राखिएको खरिद आदेशमा धेरैपटक एकमुष्ट ठुलो कित्ता सेयर समेत नचाहँदा–नचाहँदै बीमा कम्पनीले किन्नु परेको छ । सोही कारण सिमाभन्दा बढीको कारोवार देखिएको हो ।

४३ नम्बर ब्रोकरले कालोसूचीमा कारबाहीका लागि उजुरी दिएपछि अग्रवालले २८ र ३९ नम्बर ब्रोकरमार्फत कारोवार सुरु गरेका थिए । यसअघि उनी एनबी बैंकको सञ्चालक दीपक कार्कीसँगको मिलेमतोमा कम्पनी दर्तामात्र रहेको जेपी हाइड्रोपावरको नाममा नियम विपरित कर्जा लिएको काण्डमा कारबाहीमा समेत परेका व्यक्ति हुन् । मेगा बैंकका सञ्चालक रहेका अग्रवाल दोस्रोपटक बैंक सञ्चालकमा पराजित भएका थिए ।

हालसम्म बीमा कम्पनीहरूले सेयर बजारमा गरेको लगानीमाथि कुनै सुपरिवेक्षण भएको छैन । कसले कसको स्वार्थमा यस्तो लगानी गरिरहेको छ भन्ने विषयमा नियामक निकायले खोजी–नीतिसमेत गर्ने गरेको छैन । यदि यस्तो खोजिने हो भने हरेक बीमा कम्पनीमा रहेको फण्डको दुरुपयोग भएको देखिनेछ ।

बीमा कम्पनीमा रहेको फण्डबाट सेयर बजारमा गरिने लगानी सोही कम्पनीका केही सञ्चालकहरूको व्यक्तिगत लगानीलाई बढाउनको लागि उपयोग हुने गरेको पाइएको छ । यो घटना बीमा कम्पनीहरूमा मात्र हैन कि म्युचूअल फण्ड र बैक तथा वित्तीय संस्थाहरूको फण्डमा पनि देखिने गरेको छ । केही म्युचूअल फण्ड र बीमा कम्पनीहरूको फण्ड चलाएर सेयर बजारमा चलखेल गर्दै उतारचढाव ल्याउने अनि व्यक्तिगत लगानीमा धेरै कमाउने धन्दामा केही ब्रोकरहरू पनि लागेका छन् ।

यसर्थ नियामक निकायहरूले यसबारे गम्भीर अनुसन्धान गर्नु जरुरी छ । जनरल इन्स्योरेन्सको घटना त एउटा उदाहरणमात्र हो । अझ ठूला बीमा कम्पनीहरूको फण्डमा यस्तो चलखेल धेरै छ । के थियो जनरलको काण्ड बीमा समितिको टोलीले गत चैत २२ र २३ गते जनरल इन्स्योरेन्स कम्पनीमा स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणमा गएको बीमा समितिको टोलीले बीमाकोषको आकारअनुसार तोकिएको सिमाभन्दा अत्यधिक बढी रकम सेयर बजारमा लगानी गरिएको पाइएको थियो ।

बीमकको लगानी निर्देशिकामा कुल टेक्निकल रिजर्भको १० प्रतिशतभन्दा कम नेप्सेमा सूचीकृत कम्पनीको साधारण सेयरमा लगानी गर्न पाउने व्यवस्था छ । तर, कम्पनीले उक्त रिजर्भको १५५ प्रतिशतसम्म लगानी गरेको बीमा समितिले भेट्टाएको छ । बीमा समितिबाट स्वीकृत भएको वार्षिक प्रतिवेदन २०७५÷०७६ कुल टेक्निकल रिजर्भ ९ करोड ३५ लाख ३९ हजार ४७५ रुपैयाँ रहेको छ । त्यसको दश प्रतिशतमात्र सेयर लगानी गर्न पाउने नियम छ । तर, कम्पनीले १५५ प्रतिशत सेयरमा लगानी गरेकोले कम्पनीका सञ्चालकलाई निलम्बन गनर्दे विभागीय पम्रखुलाई कारबाहीको निर्देशन दिने निर्णय भएको बीमा समितिको पत्रमा उल्लेख छ ।

त्यस्तै, बीमा समितिले स्वीकृत गरेको २०७६÷०७७ को आर्थिक प्रतिवेदनमा कुल टेक्निकल रिर्जभ १५ करोड ७५ लाख ७ हजार २८३ रुपैयाँ रहेको छ । त्यसको १० प्रतिशत रकममात्र सेयरमा लगानी गर्न पाउने व्यवस्थाविपरीत कम्पनीले ६४ प्रतिशतसम्म लगानी गरेको पाइएको समितिले जनाएको छ ।

त्यस्तै, कम्पनीको लगानी सम्बन्धि कमिटीको बैठकसमेत नियमित नभएको र लगानी कमिटीको बैठक बसी निर्णय नै नगरी मनोमानीढंगले लगानी भएको समितिले जनाएको छ । कम्पनीमा लगानी, जोखिम व्यवस्थापन तथा वित्तीय स्वस्थता उपसमिति रहेको, तर उपसमितिको बैठक नै नबसी, संस्थागत निर्णय नै नगरी सेयरमा लगानी गरेको भेट्टिएको बीमा समितिको स्थलगत निरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

लगानीसम्बन्धी उपसमिति र कम्पनीको सञ्चालक समितिले गरेको निर्णयका आधारमा मात्र लगानी गर्नुपर्नेमा त्यसो नगरिएको बीमा समितिको ठहर छ । उपसमितिले विभिन्न मितिमा गरेको निर्णयसमेत सञ्चालक समितिमा पेस गर्ने, छलफल गर्ने, अनुमोदन गराउने कामसमेत नभएको भेटिएको छ । त्यस्तै, संस्थागत सुशासन निर्देशिकामा बीमकले आफ्ना प्रवद्र्धक कम्पनीको सेयर किन्न नपाउने व्यवस्था गरेकोमा त्यसविपरीत गोर्खा फाइनान्स, सिभिल बैंकलगायत आफै संस्थापक सेयरधनी रहेका कम्पनीको साधारण सेयरमा लगानी गरेको पाइएको छ ।

कम्पनीले आफ्नो सेयरसमेत आफैले किनेको पाइएको छ । कम्पनी ऐनको दफा ६१ (१) मा कम्पनीले आफ्नो सेयर आफै खरिद (वाई व्याक) गर्न वा जमानत राखी ऋण दिन नपाउने व्यवस्था गरेको, तर कम्पनीले सो व्यवस्थाविपरीत आफ्नै सेयर बजारबाट किनेको भेटिएको छ । कुनै पनि सूचीकृत कम्पनीको ५ प्रतिशतभन्दा कम सेयर लिन पाउने नियम विपरित जनरल इन्स्योरेन्स कम्पनीले अरूण भ्याली हाइड्रोपावरमा ६.४१ प्रतिशत सेयर किनेको बीमा समितिले भेट्टाएको छ ।

जनरल इन्स्योरेन्स कम्पनीले गत अक्टोवर ५ मा अरूण भ्यालीको सेयरमा ५ करोड १७ लाख २३ हजार र गत अक्टोवर ८ तारिकमा ६ करोड ३९ लाख ६७ हजार रुपैयाँ लगानी गरेको र उक्त लगानी सीमाभन्दा बढी भएको बीमा समितिको ठहर छ । कम्पनीले सेयर किनबेच गर्दा नेपाल स्टक एक्सचेञ्जको टीएमएसमा यूजर नेम र पासवर्ड लिने सम्बन्धमा, युजर नेम र पासवर्ड कसले लिने भन्ने सम्बन्धमा, सेयर किनबेच आदेश जारी गर्ने अख्तियारीको सम्बन्धमा संस्थागत निर्णय नै नगरेको पाइएको छ । उक्त कम्पनीले सेयर ब्रोकर कम्पनीहरू श्रीकृष्ण सेक्युरिटीज प्रालि र सुमेरु सेक्युरिटीज प्रालिबाट सेयर किनबेच गर्ने गरेको, तर सेयर बिक्रीबाफत कम्पनीले पाउने पर्ने रकम लामो समयसम्म नपाएको भेटिएको छ । त्यस्तै, हरेक सेयर कारोबारमा हुने हिसाब मिलानसमेत नगरेको पाइएको छ । समितिले सञ्चालक अग्रवाललाई निलम्बन गर्नुकासाथै लगानीसँग सम्बन्धित कर्मचारीलाई पनि विभागीय कारबाही गरी बीमा समितिलाई जानकारी गराउने निर्देशन दिएको छ ।
सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्