आजदेखि बैंकहरुले केन्द्रीय कार्यालयमा २० र शाखामा २५ प्रतिशत कर्मचारीबाट सेवा दिनुपर्ने, बेलुका पसल खोल्न नपाइने « Arthapath.com
२० बैशाख २०७८, सोमबार

आजदेखि बैंकहरुले केन्द्रीय कार्यालयमा २० र शाखामा २५ प्रतिशत कर्मचारीबाट सेवा दिनुपर्ने, बेलुका पसल खोल्न नपाइने



काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन झन कडा हुने भएको छ । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्रै कर्मचारी राखेर काम गर्न निर्देशन दिएको छ । त्यसैगरी शाखा कार्यालयहरुमा संभवभएसम्म २५ प्रतिशत कर्मचारी राखेर संचालन गर्न निर्देशन दिएको छ । सर्वसाधारणको समस्यालाई ध्यानमा राख्दै बैंकहरुले विहान १० बजेदेखी २ बजेसम्म सेवा दिँदै आएका छन ।

त्यस्तै, सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा आजदेखि भने बेलुका पसलहरु खोल्न नदिने निर्णय पनि प्रशासनले गरेको छ ।

‘बैंक तथा वित्तीय संस्थाको अनावश्यक मुभेन्टलाई रोक्ने र बेलुकापख पसल खोल्न नदिने निर्णय भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने, ‘मास्क नलगाउनेलाई होल्डिङमा राखेर जरिवाना गर्ने निर्णय समेत भएको छ ।’

राष्ट्र बैंकका अनुसार बैकल्पिक शाखा कार्यालयबाट आलोपालो गर सेवा दिन, बन्द हुने शाखा कार्यालयको मुल ढोका, संस्थाको वेबसाइट तथा सामाजिक, सञ्जाल समेतमा सेवा सम्बन्धी सोधपुछको लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने बैकल्पिक शाखा खुला रहने सूचना दैनिक रुपमा प्रकाशन गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकका अनुसार संक्रमण जोखिमलाई ध्यान दिई सेवाग्राहीलाई सम्भव भएसम्म फेस टु फेस बैंकिङ सेवा भन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्नेमा जोड दिन निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्