त्रिवि भन्सारमा लक्ष्य भन्दा १ अर्ब ८४ करोड बढी राजस्व संकलन « Arthapath.com
३ माघ २०७८, सोमबार

त्रिवि भन्सारमा लक्ष्य भन्दा १ अर्ब ८४ करोड बढी राजस्व संकलन



काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले ६ महिनामा १ अर्ब ८४ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । कार्यालयले यस आर्थिक बर्षको ६ महिनामा ११ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए ।

सहजै लक्ष्य हासिल गर्ने क्रममा चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना (साउन–पौष) को अवधीमा कूल १३ अर्ब ५६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको उनले जानकारी दिएका छन् । यस अवधीको लागि कार्यालयलाई तोकिएको राजस्व असुली लक्ष्य ११ अर्ब ७२ करोड रुपैयाँको तुलनामा सङ्कलित राजस्व ११५.७ प्रतिशत हुन आउँछ ।

त्यसै गरी गत आ.व.२०७७/७८ को प्रथम ६ महिनाको कार्यालयले गरेको राजस्व असुली ८ अर्ब ४ करोड रुपैयाँको तुलनामा चालु वर्षको सोही अवधीको राजस्व असुली ६८.६ प्रतिशतले वृद्धि भएको ।

उनले भने,पछिल्लो अवधीमा विशेषगरी विदेशबाट आयात हुने वस्तुको भन्सार जाँचपास गर्दा मूल्याङ्कनमा गरिएको सुधार एवम् यात्रुले ल्याउने सुन तथा सुनका गहना र मोबाईलको प्रभावकारी नियमनले गर्दा नै राजस्व असुलीमा यस किसिमको सफलता प्राप्त हुन सकेको हो । साथै कर्मचारीको कार्यक्षमतामा अभिवृद्धि गर्नका लागि कार्यालयले आयोजना गरेका विभिन्न तालिमको कारणले पनि उनीहरूको कार्यसम्पादनमा बढोत्तरी हुँदै गएको छ ।


प्रतिक्रिया दिनुहोस्