नेपालको वैदेशिक व्यापार ११ खर्ब हुदाँ व्यापार घाटा ८ खर्ब ८० अर्ब नाघ्यो « Arthapath.com
९ माघ २०७८, आईतवार

नेपालको वैदेशिक व्यापार ११ खर्ब हुदाँ व्यापार घाटा ८ खर्ब ८० अर्ब नाघ्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यातमा उत्साहजनक वृद्धि हुने संकेत देखिएको छ । आवको पहिलो ६ महिनामै १ खर्ब रुपैयाँभन्दा बढीको निर्यात हुनुले यस्तो संकेत देखिएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि पुषसम्म कुल १ खर्ब १८ अर्ब ८५ करोड ९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ९५.४८ प्रतिशत बढी हो । गत वर्ष यसै अवधिमा मात्र ६० अर्ब ७९ करोड ९२ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । यो वर्ष वनस्पती तेलको हिस्सा सर्वाधिक रहेको छ । सोयाविनको तेल र पाम आयलको तेलले निर्यातमा भूमिका खेलेको हो ।

निर्यात बढेको यो वर्ष आयात समेत चुलिएको छ । चालु आवको ६ महिनासम्म ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भइसकेको छ । गत आवको यसै अवधिमा मात्र ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । अहिले गत आवको यसै अवधिको तुलनामा ५१.१३ प्रतिशतले वस्तु आयात बढेको छ । आयात र निर्यात दुवैमा भएको वृद्धिले वैदेशिक व्यापारमा समेत उल्लेख्य वृद्धि भएको छ ।

नेपालको वैदेशिक व्यापार ६ महिनामै सवा ११ खर्ब हाराहारी पुगेको छ । ६ महिनाको अवधिमा कुल ११ खर्ब १८ अर्ब १९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ५४.८६ प्रतिशतले बढी हो । गत आवमा मात्र ७ खर्ब २२ अर्ब ४ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको तथ्यांक भन्सार विभागसँग रहेको छ ।

६ महिनामै लगभग पौने ९ खर्ब व्यापार घाटा

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि पुषसम्म नेपालको व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा ४६.६४ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा नेपालको व्यापार घाटा मात्र ६ खर्ब ४४ करोड रुपैयाँ रहेको थियो । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा केही घट्दा (–२.४१ प्रतिशत) निर्यातको हिस्सामा भने २६.२३ प्रतिशतको वृद्धि देखिएको छ ।

यस्तो छ महिनाको वैदेशिक व्यापार

आयात : ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ (५१.१३ प्रतिशत बढेको)

निर्यात : १ खर्ब १८ अर्ब ८५ रकोड रुपैयाँ (९५.४८ प्रतिशत बढेको)

व्यापार घाटा : ८ खर्ब ८० अर्ब ४९ रकोड रुपैयाँ (४६.६४ प्रतिशत बढेको)

कुल वैदेशिक व्यापार : ११ खर्ब १८ अर्ब १९ करोड रुपैयाँ (५४.८६ प्रतिशत बढेको)

व्यापारमा आयातको हिस्सा : ८९.३७ प्रतिशत (२.४१ प्रतिशत घटेको)

व्यापारमा निर्यातको हिस्सा : ८.४२ प्रतिशत (२६.२३ प्रतिशतले बढेको)

३४ अर्ब बराबरको सोयाविनको तेल बाहिरियो

विभिन्न वस्तु बाहिरीने क्रममा सबै भन्दा बढी मात्रामा ६ महिनाको अवधिमा सोयाविनको तेल ३४ अर्ब रुपैयाँ निर्यात भएको छ । विगतमा निर्यात बजारले खासै प्रभाव नपारे पनि अहिलेको अवस्थामा भने निर्यात पनि बढ्दो मात्रामा रहेको छ । यो वर्षको पहिलो ६ महिनामा भने निर्यातमा सुधार भएको पाइएको हो ।

यो अवधिमा ३४ अर्ब २६ करोड रुपैयाँ बराबरको सोयाविनको तेल निर्यात भएको छ । गत बर्षको तुलनामा यो निर्यात दोब्बर नै हो । नेपालको वैदेशिक व्यापार भारतसँग बढी निर्भर रहेको छ । सोहीकारण आयात र निर्यात दुबैमा भारतको हिस्सा अधिक रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

९० अर्ब भन्दा बढीको पेट्रोलियम पदार्थ भित्रियो

विभिन्न प्रकारको पेट्रोलियम पदार्थको आयातमा मात्र ६ महिनाको अवधिमा ९० अर्ब रुपैयाँ भन्दा बढीको आयात भएको छ ।
यो ६ महिनाको अवधिमा ६१ अर्ब ४७ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । भने २९ अर्ब २७ करोड रुपैयाँको पेट्रोल आयात गरि जम्मा पेट्रोलियम पदार्थ ९० अर्ब ७४ करोड रुपैयाँको आयात भएको हो ।
त्यस्तै एलपिजी ग्यास २९ अर्ब २३ करोड रुपैयाँ बराबरको आयात भएको छ ।


प्रतिक्रिया दिनुहोस्