सिवाईसी नेपाल लघुवित्तको आईपीओ परेको छ भने पहिलो दिन नै मालामाल ! कति पाउला ओपनिङ्ग रेञ्ज ? « Arthapath.com
१८ बैशाख २०७९, आईतवार

सिवाईसी नेपाल लघुवित्तको आईपीओ परेको छ भने पहिलो दिन नै मालामाल ! कति पाउला ओपनिङ्ग रेञ्ज ?



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भइसकेको छ । लघुवित्तको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल लक्ष्मणबाबु भवन काठमाडौंमा बैशाख १५ गते बिहीबार बाँडफाँट सम्पन्न भएको थियो ।

लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २२ लाख ५ हजार ६३३ जनाले २ करोड ४५ लाख २० हजार १४० कित्ताका लागि आवेदन दिएका थिए । तर विभिन्न कारणले ३ हजार २७२ जनाको ३६ हजार ४९० कित्ता आवेदन रद्द भएको थियो । क्यापिटलका अनुसार २२ लाख २ हजार ३६१ जना आवेदकको २ करोड ४४ लाख ८३ हजार ६५० कित्ता मात्रै सदर अर्थात् भेरिफाई भएको थियो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको थियो । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ३६ हजार ९४८ जना आवेदकले मात्रै पाएका थिए । १० कित्ताका दरले बाँडफाँट गर्दा ८ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ८ कित्ता थप गरेर ८ जना आवेदकलाई ११ कित्ताका दरले दिईएको थियो ।

लघुवित्तले बैशाख २ गते शुक्रबारदेखि बैशाख ६ गते मंगलबारसम्म चुक्ता पूँजीको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको थियो ।

लघुवित्तको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बनेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लघुवित्तको पहिलो कारोबारका लासग प्रतिशेयर न्युनतम ३४४.३६ रूपैयाँदेखि अधिकतम १ हजार ३३.८ रुपैयाँसम्म ओपनिङ रेञ्ज तोक्ने सम्भावना रहेको छ । नेप्सले हरेक कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज निर्धारण गर्दछ ।

लघुवित्तको आर्थिक बर्ष २०७७–७८ को प्रतिशेयर नेटवर्थ ३४४ रूपैयाँ ३६ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा १ हजार ३३.८ रुपैयाँ हुन्छ । यदि लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत भएर ओपनिङ्ग रेञ्ज सोही बमोजिम पाउने हो र अधिकतम मूल्यबाट शेयर कारोबार हुने हो भने शेयरधेनी पहिला दिन नै मालमाल बन्ने देखिन्छ । तर त्यसको परिणाम के होला भनेर कारोबारको दिन नै पर्खिनु पर्ने हुन्छ ।

लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृतको प्रक्रियामा रहेको छ । नेप्सेमा सूचीकृत भएपश्चात लघुवित्तको आईपीओ न्यूनतमबाटै कारोबार भएपनि पहिलो दिन नै १० कित्ता शेयर भएका लगानीकर्ताले ३ हजार ४४३ रुपैयाँ आर्जन गर्नेछन् । यदि अधिकतम मूल्यबाट शेयर कारोबार शुरु भयो भने पहिलो दिन नै १० कित्ता भएका लगानीकर्ताको शेयर मूल्य १० हजार ३३० रुपैयाँ पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस्