सरकारी बैंकबीच नाफा बढाउने प्रतिस्पर्धा, कसको अवस्था कस्तो? « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

सरकारी बैंकबीच नाफा बढाउने प्रतिस्पर्धा, कसको अवस्था कस्तो?



५० खर्ब नाघेको औपचारिक वित्तीय बजारमा ३ वटा सरकारी स्वामित्वका बाणिज्य बैंक छन् । यसमध्ये राष्ट्रिय बाणिज्य बैंक लगभग पूर्ण सरकारी स्वामित्वको भए पनि कृषि विकास बैंक र नेपाल बैंकमा सर्वसाधारणको ठूलै लगानी छ । यी बैंकहरु वित्तीय क्षेत्रका अरु बैंकसँग त प्रतिस्पर्धामा छन् नै, सरकारी संस्थाहरु बीच पनि एका किसिमको अलग्गै प्रतिस्पर्धा हुने गर्छ । यस क्रममा सरकारी स्वामित्वका ३ वटा बैंकको मोटामोटी वित्तीय अवस्थाबारे यहाँ चित्रण गरिएको छ ।

कृषि विकास बैंक
कृषि विकास बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँबाट घटेर १८ रुपैयाँभन्दा कम भए पनि बैंकको वितरणयोग्य मुनाफा भने बढेको छ । ब्याज आम्दानी बढे पनि थुप्रै संचालन आय घटेको बैंकले गत आर्थिक वर्षको नाफाबाट ३ अर्ब ९० करोड ७ लाख हाराहारी लाभांश बाँड्नसक्ने सामथ्र्य बनाएको छ । गत वर्षको तुलनामा यो दोब्बरभन्दा बढी हो । यसले कम्पनीलाई करीब ३० प्रतिशतसम्म लाभांश बाँड्नसक्ने बनाएको छ ।

तर बैंकको वास्तविक वार्षिक नाफा भने पोहोरभन्दा २६ प्रतिशत घटेको छ । बैंकले खुद ब्याज आम्दानी अघिल्लो वर्षको ६ अर्ब ८६ करोडबाट बढाएर ७ अर्ब ७८ करोड हाराहारी पुर्याएको छ । शुल्क तथा कमिसनमा देखिएको कमीले बैंकको खुद सञ्चालन आय भने ९ अर्ब ८८ करोडबाट घटेर ९ अर्ब १५ करोडमा झरेको छ । खर्च पनि बढेपछि खुद सञ्चालन नाफा १ अर्बभन्दा धेरैले घटेको छ ।

यही कारण अघिल्लो वर्ष ३ अर्ब ५२ करोड पुगेको यो बैंकको खुद नाफा गत आवमा २ अर्ब ६९ करोडमा खुम्चिएको छ । धेरै बैंकले कर्जा अभावको लाभ उठाउँदै स्प्रेड दर बढाए पनि यो सरकारी बैंकले भने ब्याज मार्जिन बढाएको छैन । बरु वर्षौंसम्म सबैभन्दा महँगो लागतको पैसा चलाउने कृषि विकास बैंकको पूँजीको लागत र आधारदर अहिले बाणिज्य बैंकहरुको औसत स्तरमा झरेको छ ।

राष्ट्रिय बाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३७.३८ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षको बैंकले ३ अर्ब ७९ करोड ५४ लाख खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको वितरणयोग्य मुनाफा पनि ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.२९ प्रतिशत बढेको छ भने शुल्क तथा कमिसन आम्दानी ६.८८ प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत र सञ्चालन मुनाफा ३७.६७ प्रतिशत बढेको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। यस्तो आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा झरेको छ। बैंकको चुक्ता पूँजी ४६.६९ प्रतिशत बढेका कारण प्रतिशेयर आम्दानी कम भएको हो । बैंकको निक्षेप १.६९ प्रतिशत घटेको छ भने कर्जा १९.२२ प्रतिशत बढेको छ। गत असार मसान्तसम्म बैंकले २ खर्ब ५९ अर्ब निक्षेप संकलन गरेर २ खर्ब १२ अर्ब कर्जा लगानी गरेको छ । राष्ट्रिय बाणिज्य बैंक सरकारी कारोबार गर्ने संस्था भएकाले यो सबैभन्दा कम आधार दर भएको बैंक हो । यसको आधार दर असार मसान्तमा पनि ७.६३ प्रतिशतमात्रै छ ।

नेपाल बैंक
नेपाल बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५४ करोड ६६ लाख वितरणयोग्य मुनाफा कमाएको छ । बैंकले १ खर्ब ९६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ७१ अर्ब ८० करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ४ अर्ब ३४ करोड सञ्चालन नाफा गरेको बैंकले गत साल भने ४ अर्ब ११ करोडमात्रै यस्तो नाफा गर्न सक्यो । सञ्चालन नाफामा आएको कमीका बावजुत बैंकको खुद नाफा २ अर्ब ९६ करोडबाट बढेर गत वर्ष ३ अर्ब २६ करोड ६० लाख नाघेको छ ।

गत वर्ष अधिकांश बैंकले लिने र दिने ब्याजको अन्तर स्प्रेड दर बढाएका छन् । बै.कमा कर्जाको अभाव भएपछि सबैले मार्जिन बढाएर नाफा कमाएको बेला नेपाल बैंकले भने त्यसो गर्न सकेन । उल्टै बैंकको स्प्रेड दर अघिल्लो वर्षको तुलनामा २६ आधार विन्दुले घटेर ४.०८ प्रतिशत कायम भएको छ । ऋणीहरुलाई यसबाट कम भार पर्ने भए पनि बैंकको व्यवस्थापकीय पाटोबाट हेर्ने हो भने यो अवस्था आउनु बैंकको असफलता हो । आधार दर भने अन्य बैंकको जस्तै उच्च अंकमा बढोत्तरी भएको छ । अघिल्लो वर्ष ५.७३ प्रतिशत रहेको आधार दर गत वर्षको अन्त्यमा ७.९९ प्रतिशत पुगेको छ ।

नेपाल बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६७ पैसा छ । मूल्य आम्दानी अनुपात भने १३.१४ गुणा छ । १४ अर्ब ४० करोड पुँजी र १७ अर्ब ८२ करोड सञ्चिति रहेको बैंकको प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ हुनुले बैंक वित्तीय रुपमा भने स्वस्थ भएको देखाउँछ । अझै निष्कृय कर्जा अनुपात २.०५ प्रतिशतबाट घटेर १.९ प्रतिशतमा झरेको तथ्यांकले यसमा झन् बल मिलेको छ ।


प्रतिक्रिया दिनुहोस्