पुँजीबजार सुधार्न व्यवसायिक घरानाका कम्पनी सूचीकृत गराउनुपर्छ : डा. मनोज शाही « Arthapath.com
१६ मंसिर २०७९, शुक्रबार

पुँजीबजार सुधार्न व्यवसायिक घरानाका कम्पनी सूचीकृत गराउनुपर्छ : डा. मनोज शाही



नेपाली सेयर बजार र छिमेकी मुलुक भारतकै पुँजीबजारको कोरिलेसन हेर्दा पनि ५० प्रतिशतजति मात्र देखिन्छ । कुनै पनि समय यस्तो सम्वन्ध नकरात्मक पनि थियो । यसले पनि देखाउछ कि पुँजीबजारका सन्दर्भमा हामी विश्वजारसंग जोठिएका छैनौं ।

धितोपत्र बजारमा इक्विटीको मात्र कारोबार हुने गरेको छ । सरकारको नेतृत्व गर्ने व्यक्तिका कमजोरीका कारण धितोपत्र बजारमा विविधता आउन नसकेको हो । सरकारले शिक्ष, स्वास्थ्य र पूर्वाधारमा लगानी गनुपर्ने हो ।

डा. मनोज शाही

अन्तर्राष्ट्रिय पुँजीबजारको तुलनामा नेपालको बजारमा धेरै उतारचढाव आउने गरेको देखिन्छ । त्यसको मुख्य कारण धितोपत्र बजारमा लगानी गर्दा अर्थतन्त्र, कम्पनीको वित्तीय अवस्था तथा बजार अवस्था विश्लेषण गरेर भन्दा पनि हल्लाका भरमा लगानी गर्ने प्रवृत्ति हाबी भएर पनि हो । त्यसका साथै पुँजीबजारमा सूचीकृत कम्पनीको विविधता नभएकाले पनि धितोपत्र बजारमा कारोबारी हावी हुँदा धेरै उतारचढाव आउने गर्छ ।

नेपालको अर्थतन्त्र हेर्दा सीमित व्यक्ति वा समूहको नियन्त्रणमा रहेको छ। ती व्यावसायीक घरानाको व्यापार व्यवसायले अर्थतन्त्रलाई गति दिँदै आएको छ । अर्थतन्त्रलाई नै नियन्त्रणमा व्यावसायिक घरानाका कम्पनीलाई धितोपत्र बजारमा ल्याउनु आवश्यक देखिन्छ । यस विषयमा सरकारले पनि गम्भीररुपमा सोच्नुपर्ने समय भएको छ । सीमित व्यक्तिको नियन्त्रणमा रहेका कम्पनी पूँजीबजारमा आएको खण्डमा सर्वसाधारणको सहभागिताले अर्थतन्त्रलाई नै गति दिने निश्चित छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि सीमित समूहको नियन्त्रणबाट अर्थतन्त्र बाहिर ल्याउने बलियो माध्यम भनेकै पुँजीबजार हो । पछिल्लो उदाहरण हेर्दा पनि भारतमा सीमित व्यक्ति वा समूहको नियन्त्रणमा रहेका धेरै कम्पनी पुँजीबजारमा आएका छन् । त्यसले त्यहाँको पुँजीबजार मात्र नभई अर्थतन्त्रलाई नै गति प्रदान गरेको देख्न सकिन्छ । त्यतिमात्र नभई अन्तर्राष्ट्रिय पुँजीबजारसँग समेत जोडिन मदत गरेको छ । विश्व सेयर बजारमा आएको उतारचढावले भारतीय पुँजीबजार पनि प्रभावित हुने गर्छ । तर, नेपालको पुँजी बजारका सन्दर्भमा त्यस्तो हुन सकेको छैन ।

नेपालको पुँजीबजार अन्तर्राष्ट्रिय बजारसंग नजोडिनुका धेरै कारणमध्ये ठूला व्यावसायिक घरानाका कम्पनी नआउनुलाई पनि लिन सकिन्छ । धितोपत्र बजारमा सहभागी कम्पनीको विविधताका लागि पनि सरकारले त्यस्ता समुदायका कम्पनीलाई बजारमा ल्याउनुपर्छ। पछिल्लो समय नेपाली पुँजीबजारमा देखिएको उतारचढाव भने अन्तर्राष्ट्रिय बजारसँग मेल खान जान्छ । त्यसको मुख्य कारण मनेको विश्व अर्थतन्त्रमा देखिएका एकपछि अर्का समस्या हुन्। कोरोना महामारीका कारण विश्व अर्थतन्त्रको माग र आपूर्ति संरचना खल्बलिन पुग्यो । त्यसको लगतै रूस र युक्रेन युद्ध पनि एक कारणका रूपमा देखापरेको छ । त्यसका साथै पछिल्लो समय चीनको जिरो कोमिड नीतिले विश्व आपूर्ति श्रृंखलामा असर पुगेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि आगामी वर्षसमेत विश्व अर्थतन्त्र खुम्चिने प्रक्षेपण गरेको छ । तर, नेपालको सन्दर्भमा भने सुधार हुने अनुमान कोषको छ । नेपाली अर्थतन्त्रमात्र नभई पुँजी बजारकै कुरा गर्दा अन्तर्राष्ट्रिय आवद्धता छैन । नेपाली सेयर बजार र छिमेकी मुलुक भारतकै पुँजीबजारको ’कोरिलेसन’ हेर्दा पनि ५० प्रतिशतजति मात्र देखिन्छ । कुनै समय यस्तो सम्बन्ध नकारात्मक पनि थियो । यसले पनि देखाउँछ कि पुँजीबजारका सन्दर्भमा हामी विश्वबजारसँग जोडिएका छैनौं ।

अन्तर्राष्ट्रिय बजारसँग सम्बन्ध नहुँदा अवसर र चुनौती दुवै हुन्छ । वाह्य बजारसँग सम्बन्ध नभएपछि आन्तरिकरुपमा मात्र पुँजीबजार अगाडि लैजान सक्छौं कि सक्दैनौ भन्ने प्रश्न आउँछ । सामान्यतः अर्थतन्त्रअनुसार नै पुँजीबजारमा उतारचढाव आउनुपर्ने हो । कोरोना महामारीमा सबै मानिस घरभित्र थुनिएसरह भयो । त्यो समयमा के गर्ने भन्ने अन्योलतामा सेयर बजारमा लगानी विकल्प बन्यो । बजार बढिरहेको अवस्था छ केही हुन्छ कि भनेर लगानी गर्नेको संख्या बढ्दै गएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले नयाँ उचाइ बनाउँदै गयो । तर, त्यो वृद्धि अर्थतन्त्र तथा सूचीकृत कम्पनीहरुको कार्यसम्पादनमा सुधार आएका कारण भनई विचार गर्न गरिएको लगानीको कारण हो । आधारभुत विश्षेण नगरि पुँजीबजारमा लगानी बढाएको हो भन्ने पुष्टि पछिल्ला दिनमा आएको गिरावट स्पष्ट हुन्छ । नेपाली बजारमा मात्र भनई विश्वका अधिकांश सेयर बजार सूचक अहिले घट्दो गतिमा देखिएका छन् । यसको मुख्य कारण भनेको हेरौं न भनेर गरिएको लगानीका नतिजा हो । नेप्से सूचक ३२ सयसम्म पुगेर १८ सयसम्म झरेको अवस्था छ । बजार घट्ने बढ़ने त हुन्छ नै। पुँजीबजारको मुख्य आधार भनेको अर्थतन्त्र नै हो । अर्थतन्त्रअनुसार नै पुँजीबजार चल्ने हो । सोअनुसार बजार चलेको छैन भने त्यहाँ विकृति हाबी छन् भन्ने बुझ्नुपर्छ ।

पुँजीबजारले देशको अर्थतन्त्रका अवस्था पनि झल्काउँछ । अर्थतन्त्र नै अन्यौलमा हुँदा समेत पुँजीबजारले नयाँ उचाइ बनाउनु भनेको विकृति हो । धितोपत्र बजारमा दिर्घकालीन सोचेर लगानी गर्ने व्यक्तिले अर्थतन्त्र, बजारको अवस्था तथा आफूले सेयर किन्न लागेको कम्पनीका आधारभूत पक्ष विश्लेषण गर्छ । अल्पकालीन लगानी गर्नेले कारोबार गर्ने हो । पुँजीबजार भनेको सूचनाको पनि खेल हो । बजारमा आएका हल्ला आधार मानेर सेयर खरिद बिक्रीको निर्णय गर्दा कमाउन पनि गुमाउन पनि सकिन्छ । अहिले पुँजीबजारमा स्पेक्युलेटिभ बबल विस्तारै घट्दै गएको छ । सेयर बजारमा लगानी गर्दा मुख्यतः अहिलेको र भोलिको मूल्य हेर्ने गरिन्छ । कुनै पनि स्टक खरिद बिक्रीको निर्णय आजको र भविष्यको भ्यालुलाई आधार बनाएर गरिन्छ । भविष्यमा दिने भ्यालुलाई प्राथमिकतामा राखे लगानी गर्दै जाँदा मूलइ बढ्दै जान्छ । तर, भविष्यको भ्यालु अनुमान गरिएअनुसार नुहुँदा स्टक मूल्य घट्न जान्छ । धितोपत्र बजारमा बढ्ने वा घट्ने भनेको आवश्यकताभन्दा धेरै महत्व दिने भएकाले हो । आवश्यकताभन्दा धेरै महत्व दिएपनि बजार सूचकमा पिक्स एण्ड बबल सिर्जना हुन्छ । यसमा लगानीकर्ताले कस्तो व्यवहार गरको छ भन्ने कुराले पनि उत्तिकै महत्व राख्छ । सबै लगानीकर्ताले आधारभुत विश्लेषण गरिरेर लगानी नगर्ने भएकाले पनि यस्तो अवस्था आउने गर्छ ।

नेप्सेमा रहेको जलविद्युत समूहलाई उदाहरणका रुपमा लिएर लगानीकर्ताले किनबेच गर्ने व्यवहार हेर्न सकिन्छ । जलविद्युत भनेको ’फिक्स्ड इनकम’ जस्तै हो । एउटा आयोजनाको अवधि ३५ वर्ष हुन्छ । पाँच वर्ष निर्माणमा जान्छ । बाँकी ३० वर्ष भ्यालु खाने हो । यसको उत्पादन क्षमता र आम्दानी भनेको फिक्स छ । तर, पुँजीबजारमा जलविद्युत कम्पनीको सेयर कारोबार भएको मूल्यले त्यो विषयलाई संकेत नै गर्दैन । निर्माण नै नभएका जलविद्युत कम्पनीसमेत नेप्सेमा सूचीकृत छन् । यसले नेपाली धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ता सुरक्षित छैनन् भन्ने बुझिन्छ ।

धितोपत्र बजारमा इक्विटीको मात्र कारोबार हुने गरेको छ । सरकारको नेतृत्व गर्ने व्यक्तिका कमजोरीका कारण धितोपत्र बजारमा विविधता आउन नसकेको हो । सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा लगानी गर्नुपर्ने हो । नेतृत्वमा दुरगामी भिजन नहुँदा असर पुँजीबजारमा समेत देखिएको छ । शिक्षा र स्वास्थ्यले क्षमतावान जनशक्ति दिन्छ । पूर्वाधारले औद्योगिक वातावरणको विकास हुन्छ । त्यसले धितोपत्र बजारमा पनि विविधिकरण ल्याउने तथा डेब्ट मार्केटको समेत विकास गर्न सकिन्छ । त्यसका साथै नेतृत्व समयअनुसार चल्ने हो भने पनि धेरै समस्या समाधान भएर जान्छ । पछिल्लो समय प्रविधिमा लगानी बढाएर आइटी कम्पनीलाई प्रोत्साहन गर्नुपर्छ ।

त्यस्ता कम्पनी धितोपत्र बजारमा आएको खण्डमा अन्तर्राष्ट्रिय बजारसँग समेत सम्बन्ध स्थापित हुने अवस्था सिर्जना हुन्छ । अहिले नेप्सेमा आइटी क्षेत्रको कुनै पनि कम्पनी सूचीकृत छैनन् । नेपालको पुँजीबजारमा फुडमान्डु, ई–सेवाजस्ता कम्पनी सूचीकृत गराउने विषयमा सरकारले ध्यान दिनुपर्छ ।

नेपालको समग्र अर्थतन्त्र नै थोरै व्यावसायिक समूहको नियन्त्रणमा छ । यस्तो नियन्त्रणलाई सरकारले पुँजीबजार प्रयोग गरेर बाहिर ल्याउनुपर्छ । सरकारले त्यसो नगरेको खण्डमा नयाँ उद्योग मर्ने तथा इनोभेसन नै समस्यामा पर्न सक्छ । सरकारले १ अर्ब चुक्ता पुँजी भएको वा वर्षमा ५० करोडदेखि १ अर्बको कारोबार गर्ने कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्नुपर्ने व्यवस्था बजेटमार्फत गर्या । तर, त्यसको कार्यान्वयन हुन सकेन । नीति राम्रा भए पनि कार्यान्वयन हुन नसक्दा पनि नेपाली पुँजीबजार पछि परेको हो । –सेजन स्मारिका २०७९ बाट

(लेखक:शाही एसोसिएसन अफ इन्भेस्टमेन्ट प्रोफेसनल्स इन नेपालका अध्यक्ष हुन् ।)


प्रतिक्रिया दिनुहोस्