११ अर्बले घट्यो सुन आयात : काँचो सुनको अभावले गहना निर्यात प्रभावित, मूल्यमा भने दैनिक नयाँ रेकर्ड « Arthapath.com
१३ माघ २०७९, शुक्रबार

११ अर्बले घट्यो सुन आयात : काँचो सुनको अभावले गहना निर्यात प्रभावित, मूल्यमा भने दैनिक नयाँ रेकर्ड



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा करिब ११ अर्ब बराबरको सुन आयात भएको छ ।भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवको ६ महिनाको वैदेशिक व्यापार सम्बन्धीको तथ्यांकले यस्तो देखाएको हो ।

सो अवधिमा १० अर्ब ९५ करोड ७१ लाख ९१ हजार रुपैयाँ बराबरको सुन आयात भएको हो । विभागका अनुसार ६ महिनामा १ हजार ५१६ केजी बढी सुन नेपाल भित्रिएको छ । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने सुन आयातमा कमी देखिएको छ । समिक्षा अवधिमा सुन आयात ५०.२८ प्रतिशतले घटेको हो । गत वर्षको पुस मसान्तसम्ममा २२ अर्ब ३ करोड ९२ लाख ९ हजार रुपैयाँ बराबरको सुन आयात भएको विभागले जनाएको छ । गत वर्षको सो अवधिमा ३ हजार १८८ केजी बढी सुन नेपाल भित्रिएको थियो । एक वर्षको अवधि अर्थात गत वर्षको पुस र यस वर्षको सोही महिनाको तुलनामा ११ अर्ब ८ करोड २० लाख रुपैयाँ बराबरले सुन आयात घटेको हो । चालु आवको ६ महिनासम्ममा सुन आयातबाट सरकारले १ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यका अनुसार सरकारले कोटा घटाएपछि नै सुन आयातमा कमी आएको बताउँछन् । बिशेषगरि सरकारले दैनिक २० केजी आयात गर्ने ठाउँमा १० केजीको कोटा तोकेपछि आयात घटेको अध्यक्ष शाक्यको भनाई छ ।

काँचो सुनको अभावमा गहना निर्यात प्रभावित, ६४ प्रतिशतले घट्यो निर्यात

चालु आवको पुस मसान्तसम्ममा १० करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ । विभागका अनुसार सो अवधिमा ११ केजी बढी सुनका मौलिक गहना नेपालबाट निर्यात भएको देखिएको छ ।

तर, यो गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ६४.३२ प्रतिशतले कमी हो । गत वर्षको सो अवधिमा २९ करोड ४७ लाख १९ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको थियो । सुनका गहना निर्यात गत वर्षमा भने निकै उत्साहजनक रुपमा बढेको थियो । भन्सार विभागले एचएस कोड दिएपछि आव २०७७/७८ देखि नेपालबाट सुनका गहना विदेश निर्यात हुन थालेको थियो । बिशेषगरि अमेरिका, अस्ट्रेलिया र हङकङमा सुनका गरगहना निर्यात हुने गरेको छ ।

सुनचाँदी ब्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिँदै आएका थिए । व्यवसायीहरुले नेपाली परम्परागत कला कौशल युक्त गरगहनाको निर्यातबाट रोजगारी प्रवद्र्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त संभावना औंल्याउँदै आएका थिए ।

तर, पछिल्लो समय स्वदेशमा काँचो सुनको अभावले गहना निर्यात समेत प्रभावित भएको अध्यक्ष शाक्यले बताए । विदेशी मुद्रा सञ्चिती घट्दै गएपछि राष्ट्र बैंकले दैनिक १० केजी मात्रै सुन आयात गर्न दिएको छ । यसअघि भने दैनिक २० केजी सुन आयात गर्न पाईने व्यवस्था रहेको थियो ।

अध्यक्ष शाक्यका अनुसार अहिले आयात गरिने १० केजी सुनले स्वदेशी माग पुर्ति गर्नै ठिक्क हुन गरेको निर्यात प्रयोजनका लागि बनाइने गहनाका निम्ती सुन नै अपुग हुने गरेको छ । अध्यक्ष शाक्यले भने,– ‘सुनको आयातको कोटा घटाएपनि निर्यात गर्ने व्यवसायीलाई छुट्टै सुन आयात गर्न दिने वा बिशेष व्यवस्था गर्ने भनिएको थियो । तर, त्यसको लागि कुनै व्यवस्था नहुँदा सुनको गहनाको निर्यात प्रभावित भएको छ ।’ सुनको गहनाको निर्यात बढाउन सकेको भए विदेशी मुद्रा आम्दानी बढ्ने व्यवासायीहरु बताउँछन् ।

भन्सारले एचएस कोड दिएको वर्ष सुनको गहना निर्यात उच्च दरमा वृद्धि भएको थियो । विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३८ करोड ७१ लाख रुपैयाँको ३८ केजी बराबर सुनका गहना निर्यात भएको थियो । यसैगरि गत आव २०७८/७९ मा ५३ करोड २७ लाख रुपैयाँ बराबरको ६१ केजी सुनको गरगहना निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

तर, यस वर्षमो भने सुनको गहनाको निर्यात घटेको हो । चालु आवको पुस मसान्तसम्ममा नेपालबाट अमेरिकामा ८ करोड ४१ लाख ६३ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ । विभागका अनुसार अमेरिकमा ९.२९३ केजी सुनका गहना पुगेको हो । यता, अष्ट्रेलियमा भने २ करोड ९ लाख ८८ हजार रुपैयाँ बराबरको २.१७९ केजी सुनका गहनामा निर्यात भएको विभागले जनाएको छ ।

सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड

पछिल्लो समय नेपाली बजारमा सुनको भाउले उच्च वृद्धि भएको छ । केही दिन सुनको मूल्यले नयाँ रेकर्ड पनि कायम गरेको छ । बिहीबार हालसम्मकै सर्वाधिक महंगो भएको थियो । सो दिने तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला एक लाख ६ हजार ९०० रुपैयाँ कायम भएको थियो । यो हालसम्मकै उच्च हो ।

यस साताको पहिलो कारोबार दिन अर्थात गत आइतबार १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार १ लाख ५ हजार ३ सयमा काराबोर भएको सुन मंंगलबार भने १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो ।

यस्तै, माघ ११ गते बुधवार भने १ लाख ६ हजार २ सय रुपैयाँ कायम भई खरिदबिक्री भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार साताको अन्तिम दिन अर्थात शुक्रबार भने भने १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्