नेपालमा विश्वका ७३ देशका कामदार कार्यरत, मासिक ५७ करोड ३३ लाख बढी बाहिरिन्छ रेमिट्यान्स « Arthapath.com
५ चैत्र २०७९, आईतवार

नेपालमा विश्वका ७३ देशका कामदार कार्यरत, मासिक ५७ करोड ३३ लाख बढी बाहिरिन्छ रेमिट्यान्स



काठमाडौं । नेपालमा रोजगारी भएन भनेर लाखौं युवाहरु विदेशीएका छन्, जुन नेपालको लागि नौलो कुरा होइन । तर, नेपालीहरुले रोजगार पाएनौं भनेर विदेशी गईरहदाँ विदेशीहरु भने रोजगारका लागि नेपालमै आएर काम गरिरहेका छन् ।

नेपालको अनौपचारिक क्षेत्रमा थुप्रै भारतीय नागरिकहरु आएर काम गर्दै आएका छन्, जसले वर्क पर्मिट लिएका छैनन् । तर, वर्क पर्मिट लिएर नै विश्वका थुप्रै देशका नागरिकहरु नेपालमा आएर काम गरिरहेका छन् । उनीहरुले नेपालमा कमाएर अर्बाै रुपैयाँ आफ्नो देश लगेका छन् ।

हाल नेपालमा वर्क पर्मिट ल्याएर २ हजार ३१६ जना विदेशी कामदारले विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । श्रम विभागका प्राप्त तथ्यांकले यस्तो देखाएको हो । विभागबाट हालसम्म १९ हजार विदेशी कामदारलाई श्रमको स्वीकृति ल्याएका थिए, जसको म्याद १ वर्षको हुनेछ, त्यसपछि नविकरण गर्नुपर्छ ।

कपितय आफ्नो कन्ट्रयाक अवधि सकिएर आफ्नो देश फर्किन्छन् । कतिपय भने श्रम स्वीकृत नविकरण गरेर यही काम गर्दै आएका छन् । त्यसरी गरिएको नविकरण र नयाँ सहित अहिले नेपालमा २ हजार ३१६ जना विदेशी कामदार औपचारिक रुपमै काम गर्दै आएका छन् ।

तथ्यांकअनुसार नेपालमा ७३ देशका कामदार कार्यरत छन् । त्यसैमा सबैभन्दा बढी विदेशी कामदार चिनका छन् । चीनका १ हजार ६३५ जना नागरिक नेपालमा कार्यतर रहेको तथ्यांकमा उल्लेख छ । दोस्रोमा भने लण्डन रहेको छ । लण्डनका ९४ जना नागरिक रोजागरीको लागि नेपाल आएका छन् । यसैगरि तेस्रोमा भने अमेरिकाबाट ९३ जना नागरिक नेपालमा काम गर्न आएका छन् ।

विशेषगरि नेपालमा विदेशी लगानीका कम्पनी, जलविद्युत अयोजना, बैंक तथा बीमा लगायतका क्षेत्रमा विदेशी कामदार छन् । नेपालमा जलविद्युत आयोजनाहरुमा चिनियाँ कामदार बढी मात्रामा आउने गर्छन् । उनीहरुले नेपालमा कमाएर अर्बौ रुपैयाँ आफ्नो देश लैजाने गर्छन ।

चालु आवको पहिलो सात महिनामा मात्रै नेपालबाट ४ अर्ब १ करोड ३५ लाख रुपैयाँ रेमिट्यान्स बाहिरीएको हो । औषतमा मासिक ५७ करोड ३३ लाख ५७ हजार रुपैयाँ रेमिट्न्यास बाहिरिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आव २०७७/७८ को समिक्षा अवधिमा ३ अर्ब ४९ करोड ८६ लाख रुपैयाँ रेमिट्यान्स बाहिरीएको थियो ।

गत आव २०७८/७९ मा ७ अर्ब ६७ करोड ९१ लाख रुपैयाँ रेमिट्यान्स बाहिरीएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । विदेशीले कामदारले आफ्नो आम्दानीको ७५ प्रतिशत रकम आफ्नो देश लैजान पाउछन्, बाँकी २५ प्रतिशत रकम भने आवास लगायतका शीर्षकमा यही खर्च गर्नुपर्ने हुन्छ ।

यता, नेपालबाट रोजगारीका लागि विदेशीनेको संख्यामा उत्तिकै बाक्लो छ । चालु आवको माघ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीकोसंख्या ५७.३ प्रतिशतले वृद्धि भएको छ । समिक्षा अवधिमा सो संख्या भने ३ लाख १४ हजार ७६७ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा वैदेशि रोजगारीका लागि पुनः स्वीकृति १ लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो ।

चालु आवको माघ मसान्तसम्ममा नेपालमा भित्रने रेमिट्यान्स (विप्रेषण आप्रवाह) पनि वृद्धि भएको छ । सो अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भई ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । समिक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।


प्रतिक्रिया दिनुहोस्