धान, गहुँ , मकै लगायतको उत्पादन ३.९ प्रतिशत बढ्ने, १ करोड १२ लाख मेट्रिक टन पुग्ने अनुमान « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

धान, गहुँ , मकै लगायतको उत्पादन ३.९ प्रतिशत बढ्ने, १ करोड १२ लाख मेट्रिक टन पुग्ने अनुमान



काठमाडौं । चालु आर्थिक वर्षमा खाद्यान्न बालीको उत्पादन ३.९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

यस वर्ष धान, गहुँ, मकै लगायतका खाद्यान्न बालीको उत्पादन ३.९ प्रतिशतले वृद्धि भई १ करोड १२ लाख मेट्रिक टन पुग्ने अनुमान रहेको छ ।गत आर्थिक वर्षमा यस्तो उत्पादन ३.३ प्रीतशतले घटेको थियो । यस वर्ष कृषि बाली लगाइएको कुल क्षेत्रफल मध्ये ७१.४ प्रतिशत क्षेत्रफलमा खाद्यान्न बाली लगाइएको अनुमान छ ।

गत फागुन मसान्तसम्ममा राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा ११ हजार ५३४ मेट्रिक टन खाद्यान्न मौज्दात रहेको छ । यस्तै, सार्क खाद्यान्न सुरक्षा बैंकमा भने ८ हजार मेट्रिक टन खाद्यान्न मौज्दात रहेको छ ।

चालु आर्थिक वर्षको लागि रासायानिक मलको कुल माग ५ लाख २० हजार मेट्रिक टन रहेको अनुमान छ । कुल अनुमानित माग मध्ये ३ लाख १० हजार मेट्रिक टन यूरिया, १ लाख ९० हजार मेट्रिक टन डिएपि र २० हजार मेट्रिक टन पोटास रहेको छ । चालु आव २०७९/८० को फागुनसम्म २ लाख ३२ हजार ८६ मेट्रिक टन रासायानिक मल पैठारी भएको छ ।

यस्तै, फागुन मसान्तसम्ममा कुल सिँचाइयोग्य जमीन १७ लाख ६० हजार हेक्टरमध्ये ८७.० प्रतिशत र कुल कृषियोग्य जमिन २६ लाख ४० हजार हेक्टर मध्ये ५८.० प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको छ । फागुनसम्म २ हजार हेक्टर जमिनमा थप सिंचाइ सुविधा विस्तार भएको छ ।


प्रतिक्रिया दिनुहोस्