कुल वस्तु निर्यातमा ‘जुस’को हिस्सा ४ प्रतिशत: भारत नै मुख्य बजार, गर्मी बढेसंगै १५.१० प्रतिशतले बढ्यो निर्यात « Arthapath.com
२३ जेष्ठ २०८०, मंगलवार

कुल वस्तु निर्यातमा ‘जुस’को हिस्सा ४ प्रतिशत: भारत नै मुख्य बजार, गर्मी बढेसंगै १५.१० प्रतिशतले बढ्यो निर्यात



काठमाडौं । नेपालको कुल वस्तु निर्यातको ४.१० प्रतिशत हिस्सा जुस निर्यातको छ । नेपालबाट निर्यात हुने अधिकांश वस्तुको निकासी घटेरहेका बेला जुसको भने वृद्धि भएको छ ।

चालु आवको १० महिनामा नेपालको कुल वस्तुको निर्यात २४.५० प्रतिशतले घटेको छ । गत आवको बैशाख मसान्तसम्ममा १ खर्ब ७३ अर्ब ३४ करोड ८२ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । तर, चालु आवको समिक्षा अवधिमा भने घटेर १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ कायम भएको छ ।

नेपालबाट निर्यात हुने वस्तुमध्ये जुस निकासीमा भने बढोत्तरी देखिएको हो । पछिल्लो १० महिनामा जुस निर्यात १५.१० प्रतिशतले वृद्धि भएको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७९/८० को बैशाख मसान्तसम्ममा ५ अर्ब ३३ करोड ४२ लाख २६ हजार रुपैयाँ बराबरको जुस निर्यात भएको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा ६९ करोड ७९ लाख रुपैयाँले बढी हो । गत आवको बैशाख मसान्तसम्ममा ४ अर्ब ६३ करोड ६२ लाख रुपैयाँ बराबरको जुस निर्यात भएको थियो । गत आवमा भने कुल ६ अर्ब ७ करोड ८७ लाख रुपैयाँ बराबरको जुस निर्यात भएको थियो ।

चालु आवको १० महिनामा ६ करोड ४९ लाख ६६ हजार ४६१ लिटर जुस निर्यात भएको छ । नेपाली जुस विशेषगरि भारतीय बजारमा पुग्ने गरेको छ । भारतमा गर्मी बढेसंगै नेपालबाट जुस निर्यात बढेको बताइएको छ । भारतमा मात्रै ५ अर्ब ३३ करोड बढीको जुस निर्यात भएको हो । भारत पछिको बजार बंगलादेश रहेको छ । १० महिनामा बंगलादेशमा भने १७ लाख ६५ हजार रुपैयाँ बराबरको १५ हजार लिटर जुस निर्यात भएको छ ।

यस्तै, अमेरिका तर्फ २ लाख ७८ हजार रुपैयाँ बराबरको १९२ लिटर,अष्ट्रेलियामा २ लाख रुपैयाँ बराबरको १ हजार ४८० लिटर, कोरिया १३ हजार रुपैयाँ र माल्दिभस ७ हजार रुपैयाँ बराबरको जुस निर्यात भएको थियो ।

१० महिनामा २६ करोडको मात्रै जुस आयात

चालु आवको १० महिनामा साढे २६ करोडको मात्रै जुस आयात भएको छ । बैशाख मसान्तसम्ममा विश्वका विभिन्न मुलुकबाट २६ करोड ४३ लाख २८ हजार रुपैयाँ बराबरको जुस आयात भएको हो । समिक्षा अवधिमा २२ लाख १९ हजार ५७० लिटर मात्रै जुस आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा भारत, चीन, मलेशिया, स्पेन, अष्ट्रेलिया, इटली, कुवेत, जापान, अमेरिका लगायतका देशहरुबाट जुस आयात हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्