चार वर्षपछि व्यवसायिक रुपमा खुल्यो कोरला नाका: अब वर्षभर नै पूर्ण रुपमा संचालन हुने, चुनौति कस्तो ?

काठमाडौं । सोमबारदेखि मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थिति कोरला नाका खुलेको छ । चार वर्षपछि उक्त नाका खुलेको छ ।
कोरोना महामारीको बेला २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघि भने वर्षमा दुई पटक मात्रै अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । तर, सोमबारदेखि भने अब यो नाका पूर्ण रुपमा संचालन हुने बताइएको छ ।
मुस्ताङको सबै स्थानीय तहका बासिन्दाले कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन् । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो ।
नाका संचालनमा आएसँगै स्थानीयवासी पनि उत्साहित छन् । नेपाली उत्पादनमा पनि बिक्री गर्न पाउने भएकाले स्थानीयवासीमा खुशीयाली छाएको हो । नेपालका व्यवसायीहरुले पनि चीनबाट सामानहरु सहजै खरिद गर्न सक्नेछन् । मुस्ताङका बासिन्दाले दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउँछन् । यसअघि चीनबाट आयात हुने सामान, लत्ताकपडा लगायतका माल वस्तु काठमाडौं, पोखराहुँदै मुस्ताङ पुग्ने गरेको थियो । तर, अब भने सिधै आइपुग्ने छ ।
नेपाल र चीनलाई सडक सम्पर्कले जोड्ने केरुङ र तातोपानी नाकापछि कोरोला तेस्रो नाका बनेको छ । नेपाल–चीनबीच सात वटा द्विदेशीय व्यापारिक नाका (ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर, गोर्खाको लार्के, हुम्लाको यारी र मुगु) पनि छिट्टै खोल्ने सहमति छ ।
सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो । विसं २०५८ सम्म रोकतोक नरहेको सीमा २०५९ सालदेखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ ।
चार वर्षपछि खुलेको नाका वर्षभर नै संचालनमा ल्याउन भने केही कठिनाई हुने बताइन्छ । विशेषगरि जोडो याममा माथिल्लो मुस्ताङमा मानिसहरुको चहलपहल कम हुने गरेको छ । त्यसले पनि कोरला नाका वर्षभर संचालनमा ल्याउन भने कठिनाइ हुने स्थानीय बताउँछन् । प्रत्येक वर्षको जाडोमा यायम अर्थात् मंसिरदेखि फागुनसम्म आवतजावत गर्न कठिन हुने उनीहरुको भनाई छ ।
दुुई दिनअघि चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा पाँचवटा प्रिफेव कन्टेनर जडान गरिएको छ । कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन्, नेपालमा थिएन । लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बीओपी)को रोहवरमामा उक्त कन्टेनर जडान गरिएको हो ।
चार हजार मिटरभन्दा बढी उचाइको नाकामा नेपाली सुुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुरोधमा चीनले प्रिफेव कन्टेनर उपलब्ध गराएर जडान गरिएको बताइएका छ । कन्टेनरभित्र चार वटा छन्, त्यसमा १० जनासम्म अटाउन सक्छन् ।
चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरला नाका जाने पर्यटक प्रतिकूल मौसम हुँदा आश्रय लिन सक्नेछन् । रोला नाका सञ्चालनमा आएपछि यही अस्थायी संरचनामा नेपाली सुरक्षाकर्मी बस्नेछन् ।