कसरी धानिएको छ नेपालको अर्थतन्त्र ? « Arthapath.com
२९ कार्तिक २०८०, बुधबार

कसरी धानिएको छ नेपालको अर्थतन्त्र ?



काठमाडौँ । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सुखद देखिएको छैन । नेपालले चालु आर्थिक वर्षको तीन महिनामा विश्वका विभिन्न मुलुकसँगको व्यापारमा साढे ३ खर्ब बढी घाटा व्यहोरेको छ ।

भन्सार विभागका अनुसार गत साउनदेखि असोज मसान्तसम्ममा नेपालले कुल १३७ वटा भन्दा बढी मुलुकहरूसँग व्यापार गरेको हो । ती मुलुकहरूसँगको व्यापारमा ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रुपैयाँ घाटामा छ ।

समीक्षा अवधिमा नेपालले कुल ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । तर, ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । व्यापारमा आफूले सामान बिक्री गरी बढी पैसा पाइयो र अर्कालाई कम पैसा तिर्नपर्‍यो भने व्यापार नाफा भनिन्छ । तर, नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भने ठुलो मात्रामा घाटा व्यहोरेको छ ।

अन्तर्राष्ट्रिय व्यापारमा २५ वटा मुलुकसँग मात्रै नाफामा देखिएको छ । विश्वकै ठुलो अर्थतन्त्रको भएको अमेरिका लगायतका देशहरूसँगको व्यापार नेपालको पक्षमा देखिएको छ । अन्य मुलुकसँगको व्यापारमा भने ठुलो नोक्सानी व्यहोर्नु परेको छ ।

पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रमा निरन्तर सुधार हुँदै आएको छ । तर, आन्तरिक गतिविधि भने बढ्न सकेको छैन । चालु आवको पहिलो त्रैमासमा शोधनान्तर स्थिति पनि ९९ अर्ब ७ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको असोज मसान्तसम्ममा पनि यस्तो बचत १२ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा यस्तो बचत ७४ करोड ७२ लाख रहेको छ ।

नेपालको अर्थतन्त्रको बलियो साहारा भने रेमिट्यान्स बनेको छ । नेपाल भित्रने रेमिट्यान्स उल्लेख्य रूपमा बढी रहेको छ । चालु आवको तीन महिनामा कुल ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ नेपाल भित्रिएको हो । जुन गत आवको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढेको हो । अमेरिकी डलरमामा भने रेमिट्यान्स २५.९ प्रतिशतले बढेर २ अर्ब ७६ करोड पुगेको हो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख १३ हजार ३९७ र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या ४९ हजार २९७ रहेको छ ।

रेमिट्यान्स वृद्धि लगायतले कुल विदेशी विनिमय सञ्चिति पनि बढेको छ । हाल यस्तो सञ्चिति १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति १२ अर्ब ३३ करोड पुगेको छ । चालु आवको तीन महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा चालु खातामा ५९ अर्ब ९ करोडले बचतमा देखिएको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई १ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोड रुपैयाँले धनात्मक रहेको छ ।

राष्ट्र बैङ्कका अनुसार नेपालबाट शिक्षा मार्फत बाहिरिने रकम निरन्तर बढी रहेको छ । चालु आवको तीन महिनामै ३२ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीहरूले विदेश लगेका छन् । जुन गत आवको असोज मसान्तसम्मको तुलनामा ८४.०६ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा पनि नेपालबाट कुल १७ अर्ब ८८ करोड ६८ लाख रुपैयाँ वैदेशिक अध्ययनका लागि नेपालबाट बाहिरिएको थियो । यसरी नै नेपालबाट बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको देखिन्छ । तर, शिक्षा मार्फत नै नेपाल तीन महिनामा १ अर्ब ५९ करोड १५ लाख रुपैयाँ भने भित्रिएको छ । नेपालबाट बाहिरिने र भित्रिने मुद्रामा ३१ अर्ब ३३ करोड २७ लाख रुपैयाँको अन्तर छ ।

यस्तै, समीक्षा अवधिमा नेपालबाट विदेश भ्रमणमा जाने नेपालीहरूले पनि टन्नै खर्च गरेको तथ्याङ्कमा उल्लेख छ। तीन महिनामा घुमफिर लगायतका अन्य प्रयोजनका विदेश भ्रमणमा नेपालीहरूले ५१ अर्ब ८० करोड ९ लाख रुपैयाँ खर्च गरेका छन् । तर, नेपालमा भ्रमण आउने विदेशीले भने तीन महिनामा कुल १७ अर्ब १ करोड ६१ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । यद्यपि, पर्यटन क्षेत्रबाट हुने आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा भने ५०.३४ प्रतिशतले बढी हो । तर, नेपालमा पर्यटन क्षेत्रमा भित्रने रकम भन्दा बाहिरिने रकम बढी नै छ। अर्थात् कुल ३४ अर्ब ७८ करोड ६८ लाख रुपैयाँको अन्तर छ । सन् २०२३ को १० महिनामा अर्थात् जनवरीदेखि अक्टोबरसम्ममा कुल ८ लाख ९ हजार ६७८ जना विदेशी पर्यटकले नेपाल घुमेका छन् ।

हाल बैंकिङ्ग प्रणालीमा ५९ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कुल ४९ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
चालु आवको तीन महिनामा मुद्रास्फीति दर अर्थात् बजार महँगी ७.५० प्रतिशत पुगेको छ । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ ।

राष्ट्र बैङ्कको तीन महिनाको तथ्याङ्क हेर्दा अर्थतन्त्रको बाह्य क्षेत्रहरूमा निरन्तर सुधार आएको छ । समग्रमा विदेशी मुद्राको सञ्चिति, शोधनान्तर जस्ता बाह्य क्षेत्रमा उल्लेख्य सुधार भएको छ । तर, पनि आन्तरिक अर्थतन्त्र अझै चलायमान हुन सकिरहेको छैन । राज्यले आन्तरिक अर्थतन्त्र चलायमान बनाउने गरी नीति तथा कार्यक्रमहरू अघि सार्नुपर्ने जानकारवालाहरु बताउँछन् । आयातमुखी अर्थतन्त्रलाई निर्यातमा जोड दिन आवश्यक छ । स्वदेशी उत्पादन बढाउन जोड दिनुपर्न विज्ञहरूको सुझाव छ ।

लक्ष्य अनुसार छैन सरकारको आम्दानी, थप ऋणात्मक बन्दै सरकारी ढुकुटी

चालु आवको करिब ४ महिना बितिसक्न लाग्दा सरकारको लक्ष्य अनुसार आम्दानी देखिएको छैन । सरकारी खाता थप ऋणात्मक बन्दै गएको हो । सरकारको आम्दानी भन्दा खर्च बढी भएपछि सकारी खाता थप ऋणात्मक बनेको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक २७ गतेसम्म सरकारले ३ खर्ब ५५ अर्ब ६३ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ । तर, आम्दानी भने २ खर्ब ५५ अर्ब ६३ करोड १८ लाख रुपैयाँ मात्रै छ । यसरी आम्दानी भन्दा बढी खर्च हुँदा सरकारी खाता ६० अर्ब १० करोड बढी ऋणात्मक बन्न पुगेको हो । सरकारको मुख्य आम्दानी अर्थात् राजश्व सङ्कलन निराशाजनक छ ।

विशेषगरि आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउन सरकार जिम्मेवार नहुँदा पनि लक्ष्य अनुसार राजश्व उठ्न नसकेको हो । नेपालको अर्थतन्त्र सुस्त नै छ । बजारमा माग नबढ्दा स्वदेशी उद्योग आधा क्षमतामा मात्रै चलेका छन् । आयात–निर्यात तथा राजस्व घट्दो क्रममा छ । महँगी दर सरकारले लिएको लक्ष्य भन्दा नै बढी छ, अझै बढ्दो क्रममै छ । राजश्वदेखि वैदेशिक व्यापारसम्म सुस्ताएको अवस्था छ । समग्र आर्थिक गतिविधि खुम्चिँदै जाँदा राजश्व समेत प्रभावित भइरहेको छ ।

कार्यालयका अनुसार समीक्षा अवधिमा सरकारले २ खर्ब ७६ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । जुन, चालु आर्थिक वर्षमा लिएको लक्ष्यको १९.४४ प्रतिशत मात्रै हो । यो वर्ष सरकारले कुल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको छ ।

यस्तै, सरकारको चालु खर्च २ खर्ब ७१ अर्ब १७ करोड ४७ लाख रुपैयाँ रहेको छ । यो यस वर्षको लक्ष्यको २३.७५ प्रतिशत हो । समीक्षा अवधिमा पुँजीगत खर्च न्यून नै छ । सरकारले चालु आवको करिब चार महिनामा २९ अर्ब ९८ करोड रुपैयाँ मात्रै पुँजीगत खर्च गरेको छ । यो चालु आवको लिएको लक्ष्यको ९.२३ प्रतिशत मात्रै हो । यता, सरकारको वित्तीय खर्च ५४ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ रहको छ ।


प्रतिक्रिया दिनुहोस्