१६ प्रतिशत बढ्यो घरजग्गा किनबेच, अब चलायमान होला कारोबार ?

काठमाडौं । घरजग्गा कारोबारमा सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा देशभर घरजग्गा कारोबार १६ प्रतिशत बढेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवमा कुल ५ लाख ३७ हजार २९५ वटा घरजग्गा खरिदबिक्री भएका छन् । जुन अघिल्लो आवको तुलनामा १५.९६ प्रतिशत बढी हो । अघिल्लो आव पनि देशभर ४ लाख ६३ हजार ३२२ वटा घरजग्गा किनबेच भएको थियो ।
आर्थिक शिथिलताका कारण सुस्त रहेको घरजग्गा कारोबार पछिल्लो समय सकरात्मक रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले लिएको एकपछिको अर्को खुकुलो नीतिका कारण घरजग्गा कारोबारमा केही सुधार देखिएको हो । घरजग्गा क्षेत्रमा कर्जा लगानी बढाउन केन्द्रिय बैंकले लचिलो नीति लिएको छ। त्यसकै प्रभाव देखिएको घरजग्गा व्यवसायीहरु बताउँछन् ।
राष्ट्र बैंकले व्यक्तिगत आवासीय कर्जाको अधिकतम सिमा पनि बढाएको छ । हाल यस्तो कर्जाको सीमा डेढ करोडबाट बढाएर दुई करोड रुपैयाँ पुर्याइएको छ । यस्तै, घरजग्गा धितोमा प्रवाह हुने कर्जाको जोखिमभार पनि १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको छ ।
यता, घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सजकीकरण गरेको छ । राष्ट्र बैंकले कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको छ । यस्ता नीतिगत सहजीकरणले पनि कारोबारमा अघिल्लो वर्षको तुलनामा सुधार आएको हो । पछिल्लो समय आर्थिक गतिविधि पनि बढ्न थालेको छ । बैंकिङ्ग प्रणालीमा पनि लगानीयोग्य रकम बढ्दो छ, ब्याजदर घट्दो छ । यसले आगामी दिनमा अझै बढाउने व्यवसायीहरु बताउँछन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत केन्द्रिय बैंकले घरजग्गा कारोबार थप सहजीकरण गरिदिने अपेक्षा छ । घरजग्गा व्यवसायीहरुले विशेषगरि कर्जा आम्दानी अनुपातलाई न्युयनतम ८० प्रतिशत पुर्याउन माग गरेको छ। नेपाल घरजग्गा तथा आवास विकास महासंघले मुलुकको अर्थतन्त्रलाई स्थायित्व दिने गरि लचिलो मौद्रिक नीति लिन राष्ट्र बैंकलाई सुझाव समेत दिएको छ । महासंघले घरजग्गा कर्जाको हकमा लोन टु भ्यालु रेसियो ८० प्रतिशत कायम गर्दा कारोबारसँगै समग्र अर्थतन्त्र चलायमान हुने बताएको छ । यस्तै, उनीहरुले कर्जाको जोखिम भारलाई पनि १०० प्रतिशत कायम गर्न माग गरेका छ । हाल केन्द्रिय बैंकले कर्जाको जोखिम भार १२५ प्रतिशत कायम गरेको छ ।
मासिक ४५ हजार घरजग्गा किनबेच, कुन महिना कति ?
हाल देशभर औसतमा मासिक ४५ हजार हारहारीमा घरजग्गा किनबेच भएको देखिन्छ ।
विभागका अनुसार गत आवमा सबैभन्दा धेरै गत जेठमा ६१ हजार १६१ वटा घरजग्गा किनबेच भएको थियो । जेठको तुलनामा गत असार महिनामा भने झन्डै १५ हजार कम घरजग्गा किनबेच भएको छ । असार महिनामा ४६ हजार १७९ वटा घरजग्गा खरिदबिक्री भएको छ। असारलाई घरजग्गा कारोबारका लागि अफसिजन मानिन्छ । त्यसैले पनि कारोबार घटेको हो ।
विभागका अनुसार गत बैशाख महिनामा पनि ४९ हजार ७८२ वटा घरजग्गा खरिदबिक्री भएका थिए । यस्तै, गत चैतमा ५० हजार २५२ वटा, फागुनमा ५० हजार ९९८, माघमा ५० हजार ९२१ वटा घरजग्गा किनेबच भएका थिए ।
विभागका अनुसार गत पुस महिनामा ४५ हजार २७५, मंसिरमा ४१ हजार ८५१, कात्तिकमा २६ हजार ४६, असोजमा ३९ हजार ८८१, भदौमा ३५ हजार ६८६ र साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो ।

एक वर्षमा उठ्यो ४२ अर्ब राजश्व, कुन महिना कति संकलन ?
एक वर्षको अवधिमा देशभर भएको घरजग्गा खरिदबिक्रीबाट ४२ अर्ब बढी राजश्व उठेको छ । विभागका अनुसार गत आर्थिक वर्ष ४२ अर्ब ९२ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन भएको हो । यो अघिल्लो आवको तुलनामा भने २.०७ प्रतिशत मात्रै बढी हो । अघिल्लो आवमा पनि ४१ अर्ब १५ करोड ७६ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
घरजग्गा कारोबारबाट औसतमा मासिक ३ अर्ब ५० करोड रुपैयाँ राजश्व उठ्ने गरेको छ । तर, गत असार महिनामा ४ अर्ब ६१ करोड २५ लाख ५३ हजार रुपैयाँ राजश्व संकलन भएको छ। असारमा घरजग्गा किनबेच घटेपनि राजश्व भने गत आवकै धेरै उठेको विभागले जनाएको छ ।
विभागका अनुसार गत जेठमा ४ अर्ब ३घ करोड ९२ लाख, बैशाखमा ३ अर्ब ८६ करोड ३८ लाख, चैतमा ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार र फागुनमा ३ अर्ब ५९ करोड २६ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
यस्तै, गत आवको पुस महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार, मंसिरमा २ अर्ब ८६ करोड ५० लाख ११ हजार, कात्तिकमा २ अर्ब १६ करोड ३८ लाख ६७ हजार, असोजमा ४ अर्ब ८ करोड ६६ लाख २९ हजार, भदौमा ३ अर्ब ४ करोड ५९ लाख र साउनमा २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
