बजारमा बिचौलियाको रजाइँ : यसरी ठगिन्छन् किसानदेखि उपभोक्ता « Arthapath.com
३० भाद्र २०८१, आईतवार

बजारमा बिचौलियाको रजाइँ : यसरी ठगिन्छन् किसानदेखि उपभोक्ता



काठमाडौं । एउटा उखान छ नि, ‘काम गर्ने कालु, मकै खाने भालु’ – यो उखान ठ्याक्कै नेपाली कृषकहरूको वास्तविकतासँग मेल खान्छ । कृषकहरू आफ्नो पौरख खर्चिन्छन् । कडा परिश्रम गर्छन् । उत्पादन गर्छन् । उत्पादित वस्तु बजारसम्म पुर्याउँछन् । तर उत्पादित वस्तु बजारसम्म पुग्दा उसले आफ्नो पौरख, परिश्रम र पसिनाको मूल्य भने पाउँदैनन् । बिचौलिया हाबी हुँदा न किसानले मूल्य पाउँछन्, न उपभोक्ताले सस्तो मूल्यमा उपभोग्य समान नै खरिद गर्न पाउँछन् ।

अहिले कालिमाटी तरकारी बजारमा अदुवाको मूल्य प्रतिकेजी अधिकतम २२० रुपैयाँमा बिक्री भइरहेको छ । यसको न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको छ । तर सबै ठाउँमा सोही मूल्यमा उपभोक्ताले पाउँदैनन् ।

यही अदुवा उत्पादन गर्ने किसानले भने प्रतिकिलो ९० देखि १०० रुपैयाँसम्म पाउँछन् । बजारमा महँगो मूल्यमा बिक्री भइरहँदा पनि उत्पादन गर्ने किसानले भने थोरै मूल्य पाउने यो पुरानै रोग हो । बिउदेखि उत्पादनसम्म किसानले महँगो खर्च गरेका हुन्छन् । तर श्रमको उचित मूल्य भने पाउन सक्दैनन् ।

मूल्यको सबैभन्दा बढी हिस्सा किसानले पाउनुपर्ने हो । तर बिचौलियाको चंगुलमा परेका किसानले पसिनाको मूल्य पाउँदैनन् । उपभोक्तासम्म आइपुग्दा त्यहि मूल्य दोब्बर महँगो हुन्छ । बिचौलिया हुँदै खुद्रा पसल पुग्दा ९० देखि १०० रुपैयाँ प्रतिकेजीको अदुवा १५०/१६० रुपैयाँ पुग्छ । उपभोक्तासम्म पुग्दा त्यहि मूल्य २५० प्रतिकेजीसम्म पुग्छ ।

नुवाकोटका एक किसानले दशैँ खर्च जोहो गर्न ५ क्वीन्टल अदुवा लिएर काठमाडौंको माछापोखरीस्थित तरकारी बजार आइपुग्छन् । ११० रुपैयाँ पाउने भनीपछि हतारहतार बारीको अदुवा खनेर काठमाडौं आइपुगेका उनले जम्मा ९५ रुपैयाँ पाए । ‘केजीको ११० रुपैयाँ दिन्छु भनेका थिए । यहाँ आइपुग्दा एक दिनमा मूल्य घटेको भनेर ९५ रूपैयाँ दिए । अब ल्याइसकेपछि फिर्ता लैजाने कुरा भएन’, मलिन अनुहार पार्दै ती किसान भने । दशैँ तिहारमा राम्रो मूल्य आउँछ भन्ने सोचेका उनले मूल्य नपाएपछि निरास भए । उनी मात्र होइन, यो हरेक किसानको समस्या हो । उत्पादन गर्ने जति गाह्रो छ, त्यो बजारमा ल्याएर बेच्न पनि किसानलाई उत्तिकै गाह्रो छ ।

दुख गरेर उत्पादन गरेको तरकारीले मूल्य नपाउँदा किसानहरूले आन्दोलन नै गर्नुपरेको धेरै उदाहरण छन् । किसानले कुनैपनि वस्तुको मूल्य पाउन सकेका छैनन् ।

यता उपभोक्ता भने सधैँ महंगीको मारमा पर्ने गरेका छन् । बिचौलिया हाबी हुँदा उपभोक्ता सधैँ महंगीको चपेटामा पर्ने गरेका छन् । किसानसँग कौडीको भाउमा खरिद गरिएका वस्तु उपभोक्तासम्म आइपुग्दा छोई नसक्नु महँगो बनिसक्छ ।

काठमाडौंको लाजिम्पाट बस्ने मञ्जु श्रेष्ठलाई महंगिएको भान्साले पिरोल्न थालेको छ । सामान्य जीविकोपार्जन गरिरहेकी उनीजस्तै धेरैलाई यहि समस्याले पिरोल्ने गरेको छ । नक्साल तरकारी तथा फलफुल बजारमा भेटिएकी उनी महंगीले गर्दा छाक टार्न मुस्किल भएको बताउँछिन् । ‘महंगी छोइनसक्नु छ । कसरी जिविको चलाउने भन्ने चिन्ता छ । बिहानको छाक जसोतसो टारे बेलुकी के खाने भन्ने हुन्छ’, उनले भनिन् ।

बिचौलियाको रजाइँले किसानदेखि उपभोक्ता वर्षौदेखि यसैगरी ठगीमा परिरहेका छन् ।

बजेटमै सीमित कृषि क्रान्ति

प्रत्येक वर्षको बजेट आउँदा अब कृषि क्षेत्रमा क्रान्ति नै आउँछ झैँ लाग्छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले हरेक वर्षको बजेट ल्याउने गरेको छ ।

सरकारले कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि भने चालु आर्थिक वर्ष २०८१÷८२ को बजेटमार्फत ‘कृषिमा लगानी दशक’ घोषणा गरेको छ ।

सरकारले कृषिको व्यवसायीकरण, आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य मात्र लिएको छैन । कृषि उपजको उचित मूल्य र बजार सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

तर मूल्य नपाएर पिल्सिनुपर्ने किसानको समस्या भने ज्यूँका त्यूँ छ । कृषि अनुदानका लागि वर्षेनी खोलासरी पैसा बगाइन्छ । उक्त अनुदान वास्तविक किसानसम्म पुग्न मुस्किल छ । बजेटको सधैँ प्राथमिकतामा पर्ने कृषि क्षेत्र र किसानले हरेक वर्ष समस्या झेल्नुपरेको छ ।


प्रतिक्रिया दिनुहोस्