संविधानको नाममा अराजकता : सडक बन्द गरेर ‘कन्सर्ट’   « Arthapath.com
२ आश्विन २०८१, बुधबार

संविधानको नाममा अराजकता : सडक बन्द गरेर ‘कन्सर्ट’  



काठमाडौं । भोली असोज ३ गते अर्थात् संविधान दिवस । देशले इतिहासमै पहिलो पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट संविधान जारी भएको दिन । अर्थात् जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको दिन ।

सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यही खुशियालीमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । भोली मुलुकले नयाँ संविधान पाएको ‘एक दशक’ प्रवेश गर्दैछ । अर्थात् नागरिकले संविधान पाएको ९ वर्ष पूरा हुँदै छ ।

यही उपलक्ष्यमा भोली संविधान दिवस मनाइंदैछ । संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा आयोजना गर्ने तयारी छ । साँझ नारायणहिटी दरबार अगाडिको सडकमा ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिँदैछ ।  नागरिकस्तरबाटै गरिने भनिएको ‘नेसनल डे कन्सर्ट’ ले भने नागरिकलाई नै सास्ती दिएको छ ।

आज दरबारमार्ग चटक्क सिंगारिदै छ । त्यहाँ भोलीको कार्यक्रमको लागि तयारी व्यापक छ । सदा सवारी छाप देखिने दरबारमार्ग आज सुनसान छ । सडकको बीचमा लगाइएको रेलिङ धमाधम निकालिँदै छ । लाग्छ दरबारमार्ग सडक होइन । कुनै भब्य कार्यक्रम गर्ने स्थल हो ।

भोली गरिने कार्यक्रमका लागि दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ । यसले गर्दा काठमाडौंमा सवारी चाप देखिएको छ ।

एकातिर चर्को घाम त्यसमाथि पनि घन्टौंको ट्राफिक जाम । सामान्य अवस्थामा पनि ट्राफिक जामको सास्ती व्यहोर्नुपर्ने काठमाडौंमा व्यस्त सडक नै बन्द गरेपछि अवस्था झनै अस्तव्यस्त बनेको छ ।

टुँडीखेल छाडेर सरकारले दरबारमार्ग जस्तो सवारी चाप हुने ठाउँमा  सडक नै बन्द गरेर कार्यक्रमको तयारी गर्दा नागरिक भने आक्रोशित बनेका छन् ।

कतिपय सर्वसाधारण त ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि नै आक्रोश पोखिरहेका छन् ।

काठमाडौंको बानियाँटार बस्ने विक्रम जंग ठकुरी श्रीमतीलाई प्रसूति वेथाले च्यापेपछि बिहान ९ बजे बीर अस्पताल निस्कन्छन् । तर उनी समयमै नै अस्पताल पुग्न सक्दैनन् । उनी लैनचौर नभई रानीबारी लाजिम्पाटको बाटो आउँछन् । त्यसपछिको जामले अत्तालिएका उनी केशरमहल हुँदै दरबारमार्ग तर्फको छोटो बाटो लाग्छन् । किनकी उनलाई त्यो बाटो बन्द छ भन्ने बारे थाहा हुँदैन । कहालीलाग्दो जामले ३० मिनेटको बाटोमा उनलाई डेढ घण्टा लाग्छ । ‘कमसेकम बाटो बन्द छ भनेर एउटा सूचना मात्र निकालिदिएको भए यस्तो सास्ती खेप्नुपर्ने थिएन ।  बिरामी, अफिस हिडेको मान्छे सबैलाई सास्ती छ । जनतालाई दुख दिएर के संविधान दिवस ? संविधान जनताका लागि भन्थे तर ठूलाबडाको रजाइँ त छ । अब नबोले कहिले बोल्ने ?’ – आक्रोशित भावमा उनले भने ।

ठूलाबडाले जे गरे नि हुन्छ भन्ने भाष्य निर्माण भएकोप्रति उनले दुखेसो पोखे । कुनैपनि काम गर्दा नागरिकले व्यहोर्नुपर्ने सास्तीलाई पनि नजरअन्दाज गरिनुपर्ने उनी बताउँछन् । सर्वसाधारणलाई सास्ती बनाएर संविधान दिवस मनाउनुको औचित्य नहुने उनी बताउँछन् ।

अर्का एक व्यक्ति ड्युटीमा रहेका प्रहरीसँग भनाभन गरिरहेको अवस्थामा भेटिन्छन् । उनी भनिरहेका थिए, नागरिकलाई सास्ती दिएर मनाएको संविधान दिवस मनाउनुको के अर्थ ? उनी थप्छन्, ‘संविधानले निमुखा जनतालाई के दियो ? जनताले के पाए ? यसरी तामझाम र प्रचारप्रसार गर्न लाज लाग्नु पर्ने होइन र ?’

यी प्रतिनिधि पात्र मात्र भए । कोही ट्राफिक प्रहरीसँग झगडा गरिरहेका भेटिन्थे त कोही राज्यलाई आक्रोश पोखिरहेका । सवारी डाइभर्सन हुँदा त्यसको प्रभाव धेरै टाढासम्म परेको छ । १०/१५ मिनेटको बाटो छिचोल्न घन्टौं जाम बस्नुपर्ने आम नागरिकको समस्या बनेको छ ।

ड्युटीमा खटिएका ट्राफिक प्रहरी नागरिकको आक्रोसबाट हड्दु हैरान देखिन्थे । ‘हाम्रो पनि ड्युटी हो । माथिबाट जे आदेश आउँछ त्यहीँ गर्नैपर्छ । नागरिक हामीमाथि खनिन्छन्’, एक ट्राफिक प्रहरीले भने ।

आफूहरूले नागरिकको पीडा महसुस गरे पनि ड्युटी पूरा गर्नुपर्ने कर्तव्य रहेको उनले बताए । नागरिकलाई सूचना प्रवाह नगर्दा समस्या बढी देखिएको उनले बताए ।

नागरिक नै बेखबर रहेको कार्यक्रमलाई नागरिकस्तरबाटै आयोजित भनेर नाम दिइएको छ । दरबारमार्गको सडकमा रोक लगाउँदा त्यहाँको व्यापार व्यवसायमा पनि धक्का लागेको छ ।

राज्यले तामझामका साथ गर्न लागेको संविधान दिवसमा नागरिक व्यहोर्नु परेको सास्तीमा सरकार बेखबर जस्तै छ ।


प्रतिक्रिया दिनुहोस्