लामो समयदेखि अल्झिएको नेपाल-बंगलादेश विद्युत व्यापार सम्झौताको टुंगो, कहिले हुँदैछ ?
काठमाडौं । विभिन्न कारणले लम्बिएको नेपाल–बंगलादेश विद्युत सम्झौता प्रक्रिया अघि बढेको छ । निकै लामो समयदेखि धकेलिएको विद्युत व्यापार सम्झौताको टुंगो लागेको हो ।
आउँदो बिहीबार (असोज १७ गते) नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौता हुने भएको छ ।
यसअघि गत साउन १३ गते पनि नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगमबीच सम्झौत हुने भनिएको थियो । तर, बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक आन्दोलनका कारण सम्झौता अनिश्चित बनेको थियो । नेपालबाट बंगलादेशले ४० मेगावाट विद्युत लैजाने निर्णय गरेको थियो । उक्त विद्युत बिक्री गर्न नेपाल र बंगलादेशबीच साउन दोस्रो साता नै सम्झौता हुने भनिएको थियो । हाल भारतसँग निर्भर बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने योजना थियो ।
तर, लामो समयदेखि धकेलिएको उक्त योजना अहिले अघि बढेको छ । बंगलादेशको अन्तरिम सरकारले नेपालबाट विद्युत लैजान स्वीकृत गरेको छ । बंगलादेशका तत्कालिन प्रधानमन्त्री हसिनाको पालमा नेपालबाट विद्युत खरिद गर्ने समझारी भएको थियो । सोही समझदारीलाई अन्तिम रुपमा दिएर अन्तरिम सरकारले नेपालबाट विजुली लैजाने प्रस्ताव स्वीकृत गरेको थियो ।
बंगलादेशको अन्तरिम सरकारले स्वीकृति प्रदान गरेसँगै तीनै वटा देशका प्रतिनिधिहरु बसेर सम्झौता गर्ने तयारी भईरहेको छ । आगामी बिहीबार सम्झौता हुनेछ । त्यसका लागि भोलि नै (मंगलबार) नेपाल र बंगलादेशबीच सहसचिवस्तरीय र बुधवार सचिवस्तरीय बैठक पनि बस्दैछ । उक्त दुई चरणको बैठकपछि बल्ला व्यापार सम्झौता हुनेछ । सम्झौतापछि नेपालबाट बंगलादेश बिजुली लैजाने बाटो खुल्नेछ ।