त्यो ‘काँठ’ र यो ‘शहर’को दशैँ : बैंकर सुनिल पन्तको संस्मरणमा के छ ?

काठमाडौँको मैतीदेवी यसै पनि शहरको केन्द्रीय भाग हो । त्यही भित्रि टोलमा जन्मिएका सुनिल पन्तका लागि बाल्यकालमा दशैँ उपत्यका भित्रको पर्वमात्र सीमित थियो । अचेल मानिसहरु दशैँको मौसममा घुमफिर गर्न घर बाहिर वा विदेशमा समेत जान थालेका छन् । तर पहिले त्यस्तो थिएन । परम्परागत रुपमा दशैँलाई टाढा टाढा पुगेकाहरु पनि घर फर्किने पर्वका रुपमा मनाइन्छ ।
यही पारिवारीक संस्कार पाएका पन्त अहिलेसम्म दशैँमा घर बाहिर निस्किएका छैनन् । ‘मिलेसम्म सबैजना घरमा आउँछन् । घरमै बसिन्छ’, उनी भन्छन् । उनी सानो छँदा र अचेलको दशैँमा आकाश–पाताल फरक छ । मान्छेहरुले संस्कार नै पुरा गर्न छाडिसकेको होकि जस्तो लाग्छ उनलाई ।
पहिले त दशैँ कुलको एउटै घरमा हुन्थ्यो । अहिले सबै परिवार छुट्टिए । एकल परिवारमा बस्ने प्रबृत्ति बढ्यो । पहिले यस्तो हुँदैन थियो । संयुक्त परिवारमा बस्नेहरु धेरै हुन्थे । त्यसमाथि अचेल युवा पुस्ताको अभाव देखिन थालेको छ समाजमा । यसले पनि दशैँलाई पहिलेभन्दा खल्लो बनाएको अनुभव पन्तसँग छ ।
‘पछिल्लो आर्थिक वर्षमा पनि ७–८ लाख मान्छेले देश छाडेका छन् । त्यो हुने बित्तिकै घरमा दशैँको चहलपहल कम हुने भयो नि त’, उनी भन्छन्, ‘अधिकांशका छोराछोरी पढ्नका लागि विदेश गएका छन् । दशैँमा घर आउने भन्ने हुँदैन । पढाइ छाडेर आउने कुरा पनि भएन । केटाकेटी भएन भने दशैँ रमाइलो हुँदैन ।’
अचेल नेपाली घरहरुमा साना बालबच्चा भेट्टाउनै मुस्किल भएको छ । युवा पुस्ता या त विदेशिएको छ, यहीँ हुनेले पनि बच्चा जन्माउनै चाहेको छैन । त्यसैले पहिला जुन किसिमको रमाइलो हुन्थ्यो, अहिले त्यस्तो छैन । पहिला हामी चङ्गा खेल्थ्यौं । अहिले त बच्चाहरू पनि सामाजिक सञ्जालमै भुल्छन् । जमघट पनि खासै देखिँदैनन् । ‘बुवाहरूको पालामा त ठूलो परिवार हुन्थ्यो । अहिले घट्दै गइरहेको छ’, उनी भन्छन्, ‘अहिले त एउटा, दुईटा हुन्छ । त्यही पनि विदेशमा ।’
उनलाई अहिलेको यो परिरिस्थिति बिस्तारै परिवर्तन हुन्छ होला भन्ने आशा पनि बाँकी नै छ । यी सबै कुराहरू विकासले गर्दा हुने हो । विकास हुँदै गए पढ्न गएका मान्छेहरू फर्किने अवस्था बन्नेछ भन्नेमा उनी आशावादी छन् । आधुनिकीकरणसँगै हरेक कुरा आधुनिक हुँदै जान्छ । उनले भने, ‘कला संस्कृति बचाएर राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
दशैँमा उनी मन्दिर जाने, घरपरिवारसँग बस्ने गरेरै रमाउँछन् । ‘देश–विदेशमा घुम्न जाने भन्ने छैन’, उनी थप्छन्, ‘दशैँ भन्ने बित्तिकै पारिवारिक समय हो । यसपाली पनि दशैँ काठमाडौंमै बसेर मनाउने हो ।’
काँठको दशैँ
आजको बजार केन्द्र बनेको मैतीदेवीे क्षेत्र केही दशक अघिसम्म काँठ थियो । खेतिपाति र पशुपालन हुन्थ्यो । त्यसै ताका पन्तको बाल्यकालका दशैँ सम्झनाहरु लटरम्म छन् । ‘बाल्यकालको दशैँमा छुट्टै रमाइलो हुन्छ । त्यतिखेला अहिलेजस्तो बजारीकरण थिएन । सीमितता थियो’, उनी भन्छन्, ‘मान्छे स–सानो कुरामा रमाउँथे । नयाँ लुगा लगाउने, मिठो खाने, चङ्गा उडाउने, साथीसँग रमाइलो गर्ने, पिङ खेल्ने गरिथ्यो ।’
पन्तका पुर्खाहरु गोर्खाबाट शाहबंशसँगै काठमाडौँ आएका हुन् । उनको जन्म यही मैतीदेवीमा भएको हो । पहिला–पहिला सहर भनेको असन–इन्द्रचोकको इलाकामात्रै थियो । दशैँको किनमेल जानेदेखि चङ्गा धागो किन्न पनि सहर (असन) नै पुग्थे । ‘अहिले पनि पुरानो पुस्ताले सहर जाने नै भन्छन् । अब त जताततै सहर भइसक्यो’, उनी थप्छन्, ‘पहिला खासखास चिज असन र न्यूरोडमै पाइन्थ्यो । त्यसकारण सहर जाने भन्ने चलन नै थियो ।’
तर पहिल्यै पनि मैतीदेवीदेखि सेतोपुलसम्म बस्ति बाक्लो नै थियो । ‘त्यो भन्दा माथि चाहीँ स्याल कराउँथ्यो भन्थे । मैले चाहिँ सुनिन’, उनले भने ।
दशैँमा नौरथा लागेदेखि नै उनको घरछेउमा रहेको मौतीदेवी मन्दिरमा भिडभाड हुन्थ्यो । त्यहाँ पहिलो त बाक्लै नेवार बस्ती थियो । अहिले अन्य समुदायका मानिसको उपस्थिति पनि बढ्दै छ । त्यही मन्दिर वरपर चहलपहल बढेदेखि नै उनलाई दशैँ आएको भान हुन्थ्यो । ‘माहोल नै दशैँको हुन्थ्यो । पहिला साना–साना चिजमा मान्छे रमाउँथे’, उनी भन्छन् ।
उनलाई दशैँमा घर छाडेर बाहिर जान कहिल्यै मन लागेन । ‘मान्छे आउनुपर्ने बेला हामी नै बाहिर गयौं भने मतलब भएन नि’, उनी भन्छन्, ‘यो बेला त भेटघाट गर्ने बेला हो । मानिसहरु फेस्टिभ मुडमा हुन्छन् ।’ कसैलाई घुम्नै जान मन लागे पनि आफ्नै देश घुम्न उनी सल्लाह दिन्छन् ।
गोरखा छाडेर काठमाडौँ आएपछि पनि पन्त खानदान निकै झाँगिएको थियो । ‘त्यतिखेर दशैँ एउटै घरमा मनाइन्थ्यो । सय–डेढसय जना जम्मा हुन्थ्यौं । हामीलाई यसै रमाइलो भइहाल्थ्यो’, उनी फेरी बाल्यकालमा फर्किन्छन्, ‘टीका लगाएर दक्षिणा दिन्थे । त्यसताका सजिलै पैसा कसैको हातमा हुँदैनथ्यो । पैसा पाएपछि यसै खुशी हुन्थ्यौं ।’ त्यस ताका काठमाडौँमै पनि खेतीपाती हुन्थ्यो, घरजग्गा हुन्थ्यो तर मान्छेको हातमा पैसा हुँदैनथ्यो ।
तर अहिले मान्छेसँग पैसा हुन्छ । खेतिपाती र पहिलेजस्ता धेरै रोपनी जग्गा अहिले खोजेर पनि पाइँदैन । कसैले धेरै जग्गा रोकेर राखेको भए आखिर आजको शहर पनि कसरी बस्थ्यो र ? अचेलका मान्छेसँग पैसा हुने भएकाले नै होला, दशैँको रौनक पनि घट्दै गएको देखिएको छ ।
अचेल दशैँमै किनमेल गर्ने भन्ने अभ्यास खासै छैन । आवश्यकताको आधारमा जुनसुकै बेलामा सरसामान किनिएको हुन्छ । ‘पहिला पो मिठो खान, राम्रो लाउन दशैँ नै आउनुपथ्र्यो । अहिले सहरी क्षेत्रमा त्यस्तो छैन’, उनी भन्छन्, ‘दशैँमा नयाँ लुगा किन्न जाने भन्ने छैन । बालबच्चामा पनि त्यो आकर्षण छैन ।’
त्यसै कारण अचेलको दशैँमा टीका लगाएर दिने दक्षिणा नै उनको सबैभन्दा ठूलो खर्च ‘शीर्षक’ हो । वित्ती क्षेत्रमा लामो समय बिताएका पन्त फजुल खर्चमा रमाउँदैनन् । ‘अचेल सामान्य नै हुन्छ हाम्रो दशैँ । त्यस्तो तडकभडक भन्ने हुन्न’, उनी भन्छन्, ‘नौ दिनसम्म घरमा नौरथा पुजा गरिन्छ । अष्टमीको दिन पनि पाहुना आउँछन् । हामी दक्षिणकाली जान्छौं । ९ दिन विभिन्न देवीको पुजा गरेर दशौँ दिन टीका र जमरा लगाउने त हो ।’
पन्त परिवारले नौरथामा ९ दिनसम्म घरमै पूजा गर्ने भएको हुँदा माछा मासु खाने चलन छैन । मदिराको त झन् कुरै भएन । ‘खाने खेल्नेहरू पनि
हुन्छन् । तर मेरो केशमा अलिक कम हुन्छ’, उनी भन्छन् । कुल देवीको रुपमा पूजिने माता दक्षिणकालीमा नवमीको दिन भोग लगाइसकेपछि त्यहाँको प्रसाद खाएर मात्रै उनको परिवारमा माछामासु खुल्छ ।
देवीको भक्ति र आरधनामै दशैँको मुख्य समय सकिन्छ ।