काठमाडौंमा महँगो मूल्यका घरजग्गा : कलंकी र चावहिल क्षेत्रमा हुन्छ धेरै ‘घर-घडेरी’ किनबेच, कहाँ कति ? « Arthapath.com
२१ कार्तिक २०८१, बुधबार

काठमाडौंमा महँगो मूल्यका घरजग्गा : कलंकी र चावहिल क्षेत्रमा हुन्छ धेरै ‘घर-घडेरी’ किनबेच, कहाँ कति ?



काठमाडौं । विगत साढे दुई वर्षदेखि घरजग्गा कारोबार शिथिल छ । आर्थिक शिथिलताले सुस्ताएको कारोबारमा अझै पनि सुधार आउन सकिरहेको छैन् ।

घरजग्गा कारोबार चलायमान बनाउनकै लागि केही नीतिगत सहजीकरण पनि गरिएको छ । यता, बैंकिङ्ग प्रणालीमा अधिक तरलता छ । कर्जाको ब्याजदर पनि निरन्तर घटीरहेको छ ।

अर्थतन्त्रका अन्य क्षेत्रहरुमा पनि विस्तारै चलायमान भइरहेको अवस्थामा पनि घरजग्गा कारोबार भने अझै सुस्त नै छ ।

ब्याजदर महिनैपिच्छे घट्दा पनि कारोबारमा भने सुधार आउन सकेको छैन् । बैंक तथा वित्तीय संस्थाहरुले पनि एकल अंकको ब्याजदरमै कर्जा उपलब्ध गराउने विभिन्न स्किमहरु पनि धमाधम ल्याइरहेका छन् । तर, पनि कारोबारमा खास गति लिन सकिरहेको छैन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो तथ्याङ्क अनुसार कारोबार झन् घट्दै गएको देखिन्छ । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कारोबार ६.६८ प्रतिशत घटेको छ । गत आवको साउनदेखि असोज मसान्तसम्ममा देशभर कुल १ लाख १४ हजार ८३० वटा घरजग्गाको लिखत पारित भएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने १ लाख ७ हजार १६० वटा घरजग्गा मात्रै किनबेच भएको छ ।

समिक्षा अवधिमा कारोबारसँगै राजश्व पनि घटेको विभागले जनाएको छ । गत आवको पहिलो त्रैमासमा घरजग्गा कारोबारबाट सरकारले कुल १० अर्ब ४ करोड ३० लाख रुपैयाँ राजश्व प्राप्त गरेको थियो । तर, चालु आवको पहिलो त्रैमासमा भने १० अर्ब ६५ लाख ८३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

कारोबार ग्रामिण भेगमा केही बढेको देखिएता पनि महँगा मूल्य अर्थात् मुख्य शहरी क्षेत्रको कारोबार भने दबाबै देखिन्छ । सबैभन्दा महँगो मानिने काठमाडौंमा पनि घरजग्गा कारोबार सुस्त नै छ । काठमाडौं जिल्लामा हाल ६ वटा मालपोत कार्यालय मार्फत घरजग्गा किनबेच हुँदै आएको छ ।

चालु आवको पहिलो त्रैमासमा काठमाडौंमा ५ हजार ८८६ वटा घरजग्गा किनबेच भएका छन् । तर, यो गत आवको सोही अवधिको तुलनामा भने २.३० प्रतिशत कमी हो । गत आवको साउनदेखि असोज मसान्तमा ६ हजार २५ वटा घरजग्गा किनबेच भएका थिए ।

विभागका अनुसार चालु आवको साउनमा २ हजार १७०, भदौमा २ हजार ५६ र असोजमा १ हजार ६६० वटा घरजग्गा किनबेच भएका छन् । समिक्षा अवधिमा साँखु र टोखा आसपासका क्षेत्रमा घरजग्गा खरिदबिक्री बढेको देखिन्छ । त्यस बाहेकका मालपोत कार्यालय मार्फत हुने कारोबारमा भने कमी देखिएको छ ।

काठमाडौंमा सबैभन्दा धेरै घरजग्गा कलंकी क्षेत्रमा हुने गरेको छ । चालु आवको तीन महिनामा १ हजार ८३७ वटा घरजग्गा किनबेच भएको छ । कलंकी क्षेत्रमा साउनमा ६५४, भदौमा ६८६ र असोजमा ४९७ वटा घरजग्गा किनबेच भएको थियो ।

यस्तै, कलंकीपछि मालपोत कार्यालय चावहिल अन्तर्गत धेरै कारोबार हुने गरेको छ । विभागका अनुसार चालु आवको तीन महिनामा चावहिल अन्तर्गत १ हजार २६८ वटा घरजग्गा खरिदबिक्री भएका छन् । सो कार्यालय मार्फत साउनमा ४५३, भदौमा ४६४ र असोजमा ३५१ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

यस्तै, साँखु क्षेत्रमा पनि धेरै संख्यामा घरजग्गा किनबेच हुने गरेको छ । तीन महिनामा सो क्षेत्रमा १ हजार ११० वटा घरजग्गा किनबेच भएको छ । साउनमा ४१४, भदौमा ३८१ र असोजमा ३१५ वटा घरजग्गा खरिदबिक्री भएका छन् । यता, मनमैजु आसपासमा ७१४ वटा, डिल्ली बजार मार्फत ५३८ वटा र टोखा मार्फत ४१९ वटा घरजग्गा किनबेच भएका छन् ।

कारोबार घटेपनि राजश्व भने बढ्यो, कहाँबाट कति उठ्यो ?

काठमाडौंमा कारोबार संख्या घटेपनि राजश्व संकलन भने बढेको छ । गत आवको तुलनामा ५.४० प्रतिशत बढी राजश्व उठेको छ ।

गत आवको पहिलो त्रैमासमा २ अर्ब ७० करोड ८२ लाख रुपैयाँ राजश्व उठेको थियो । तर, चालु आवको सो अवधिमा भने २ अर्ब ८५ करोड ४४ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

विभागका अनुसार गत साउनमा ९८ करोड ५ लाख ५८ हजार, भदौमा ९४ करोड ५० लाख ५५ हजार र असोजमा ९२ करोड ८८ लाख ११ हजार राजश्व उठेको थियो ।

राजश्वमा सबैभन्दा धेरै योगदान डिल्लीबजार कार्यालयको छ । सो कार्यालय मार्फत तीन महिनामा ८६ करोड ५५ लाख ६० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यता, चावहिल मार्फत ७० करोड १९ लाख ९३ हजार, कलंकीबाट ६७ करोड ८ लाख ९८ हजार, मनमैजुबाट २३ करोड १४ लाख ४५ हजार, साँखुबाट २२ करोड ५८ लाख २१ हजार र टोखाबाट १५ करोड ८६ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।


प्रतिक्रिया दिनुहोस्