हाइड्रोपावरको नाफामा चामत्कारिक सुधार, सूचीकृत ९० कम्पनीहरुमध्ये कसको ‘नाफा-घाटा’ कति ? « Arthapath.com
४ मंसिर २०८१, मंगलवार

हाइड्रोपावरको नाफामा चामत्कारिक सुधार, सूचीकृत ९० कम्पनीहरुमध्ये कसको ‘नाफा-घाटा’ कति ?



काठमाडौं । जलविद्युत कम्पनीहरुको वित्तीय प्रगति सकरात्मक देखिएका छन् । कम्पनीहरुको नाफामा आकर्षक वृद्धि देखिएको छ । कम्पनीहरुको नाफा ३५ प्रतिशत वृद्धि भएको छ ।

हाल संचालनमा रहेका र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूृचीकृत ९० वटा हाइड्रोपावर कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको तीन महिनामै ती कम्पनीहरुले ३ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३५.०४ प्रतिशत बढी हो । गत आवको सो अवधिमा कम्पनीहरुले २ अर्ब ८२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएका थिए ।

कम्पनीहरुको विद्युत उत्पादन र बिक्री आम्दानी बढेसँगै नाफामा उछाल आएको हो । चालु आवको तीन महिनामै कम्पनीहरुले १४ अर्ब ५ करोड २३ लाख रुपैयाँ बढीको विद्युत बिक्री गरेका छन् । कम्पनीहरुको यस्तो आम्दानी १२.६८ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा पनि कम्पनीहरुले १२ अर्ब ४७ करोड ४ लाख रुपैयाँ बराबरको विदुत बिक्री गरेका थिए ।

समिक्षा अवधिमा ३३ वटा कम्पनीहरुले नाफा बढाएका छन् । वित्तीय विवरणअनुसार मिड सोलुको उल्लेख्य सुधार भएको देखिन्छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा १७ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । तर, चालु आवको पहिलो त्रैमासमा आइपुग्दा भने कम्पनीको नाफा ३ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, भुगोल इनजीको नाफा ७३१.९० प्रतिशत, अरुण भ्याली ७२०.५३ प्रतिशत, हिमालयन उर्जा विकासको २९८.५२, स्वेत गंगाको १५१.७२, मकर जितुमाया सुरीको १३६, सिंगटीको ११३ र दोल्ती पावरको ११.४४ प्रतिशत वृद्धि भएको छ । यता, सुपर माइको नाफा ९९.१२ प्रतिशत, युनाईटेड इदि मर्दीको ९३.१३ प्रतिशत, तेह्रथुम पावरको ७२.८४, हिमालयनको ६९.५० प्रतिशत, युनाईटेड मोदीको ६१.७३, सुपर मादीको ५०.८४ प्रतिशत वृद्धि भएको छ । यी बाहेकका डेढ दर्जन कम्पनीहरुको नाफा पनि वृद्धि भएको छ ।

समिक्षा अवधिमा १९ वटा कम्पनीको नाफा भने घटेको छ । भिजन लुम्बिनी, थ्रिस्टार, पञ्चकन्य माइ, सामलिङ, पिपुल्स, भगवती, अपर तामाकोशी, दोर्दी खोला, सगरमाथा जलविद्युत लगायतका कम्पनीहरुको नाफा घटेछन् ।

यस्तै, गत आवको पहिलो त्रैमासमा नोक्सानीमा रहेका १९ वटा कम्पनीहरु पनि नाफा कमाएका छन् । अपि पावर, सानिमा मिडल तमोर, हिमालयन पावर, अरुण कावेली, रिदि, अपर हेवा खोला, माया खोला, घलेम्दी, एशियन, हिमाल दोलखा लगायतका कम्पनीहरुले नोक्सानी व्यहोरेका थिए । तर, चालु आवको पहिलो त्रैमासमा आइपुग्दा भने धनात्मक छन् ।

गत आवमा नाफामा रहेका ४ वटा हाइड्रोपावर कम्पनी भने चालु आवको पहिलो त्रैमासमा घाटा व्यहोरेका छन् । यीसहित २० वटा कम्पनीहरु अझै पनि नोक्सानीमै छन् ।

कुन कम्पनीको नाफा–घाटा कति ?

hydro-power-profits-1


प्रतिक्रिया दिनुहोस्