खराब कर्जासँग जुधिरहेका लघुवित्त: अझै दुई दर्जन बढी कम्पनीको सीमा बाहिर, कुनसँग कति छ ? « Arthapath.com
१४ मंसिर २०८१, शुक्रबार

खराब कर्जासँग जुधिरहेका लघुवित्त: अझै दुई दर्जन बढी कम्पनीको सीमा बाहिर, कुनसँग कति छ ?



काठमाडौं । अधिकांश लघुवित्तको खराब कर्जा नियन्त्रण भन्दा बाहिर देखिएको छ । दुई दर्जन बढी कम्पनीको खराब कर्जा राष्ट्र बैंकले तोकेको सीमा भन्दा माथि छ ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५० वटा लघुवित्त कम्पनी सूचीकृत छन् । ती कम्पनीहरुको औसत खराब कर्जा ६.८६ प्रतिशत पुगेको छ । कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण्ले यस्तो देखाएको हो । गत आवको सोही अवधिमा ती कम्पनीहरुको औसत खराब कर्जा अनुपात ६.२९ प्रतिशत रहेको थियो । समिक्षा अवधिमा यस्तो अनुपात शून्य दशमलव ५७ प्रतिशत बिन्दु बढेको देखिन्छ ।

हाल सूचीकृत मध्ये २७ वटा लघुवित्तको खराब कर्जा ५ प्रतिशत भन्दा माथि छ । वित्तीय विवरणअनुसार एनआइसी एशिया लघुवित्तको खराब कर्जा सबैभन्दा उच्च देखिएको छ । समिक्षा अवधिमा कम्पनीको यस्तो कर्जा १८.६८ प्रतिशत पुगेको छ । यस्तै, नेरुडे लघुवित्तको पनि १६.१४ प्रतिशत, युनिक नेपालको १५.७९ प्रतिशत, आत्मनिर्भरको १४.४३ प्रतिशत, नेष्डो समृद्धिको १३.३, मातृभूमिको १२.४, इन्फिनिटीको ११.३५, स्वावलम्बनको १०.९७ प्रतिशत, नाडेपको १०.५१ र निर्धन उत्थान लघुवित्तको खराब कर्जा १०.९७ प्रतिशत छ ।

यी बाहेकका अन्य कम्पनीहरुको खराब कर्जा अनुपात १० प्रतिशत भन्दा कम छ । यद्यपि, यो राष्ट्र बैंकले तोकेको सीमा भन्दा दोब्बर नै बढी हो । चालु आवको पहिलो त्रैमासमा २० वटा कम्पनीले खराब कर्जा अनुपात घटाएका छन् । गणपति लघुवित्तको स्थिर छ, यी बाहेकका २९ वटा कम्पनीको यस्तो कर्जा वृद्धि भएको छ ।

बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशत बढी हुनुलाई राम्रो मानिँदैन । वित्तीय स्थिति बिग्रदो मानिने हुँदा नियामक निकाय नेपाल राष्ट्र बैंकले सो सीमा भन्दा बढी खराब कर्जा हुने बैंक तथ वित्त कम्पनीलाई विभिन्न कारवाही गर्दै आएको छ । त्यस्ता संस्थालाई केन्द्रिय बैंकले शीघ्र सुधारात्मक कारवाही गर्न सक्ने व्यवस्था समेत छ, वित्तीय सुधारका विभिन्न निर्देशन दिने गरेको छ । त्यस्ता संस्थालाई नयाँ शाखा विस्तारदेखि लाभांश वितरणमा रोक लगाउने लगायतका कानुनी व्यवस्था छन् ।

चालु आवको पहिलो त्रैमासमा २७ वटा लघुवित्त कम्पनीहरुको खराब कर्जा ५ प्रतिशत भन्दा कम छ । तीमध्ये पनि दुई दर्जन कम्पनीको भने ४ प्रतिशत माथि छ । पहिलो त्रैमासमा एकदमै न्युन खराब कर्जा उपकार र सर्पोट लघुवित्तको क्रमशः १.२५ प्रतिशत र १.६४ प्रतिशत छ । यस्तै, आरम्भ लघुवित्तको खराब कर्जा २.१४ प्रतिशत, साना किसान विकासको २.४६ प्रतिशत, आरएसडीसीको २.५७, महिलाको २.८५, छिमेकको २.८९, गुराँसको ३.१६, हिमालयनको ३.७२ प्रतिशत छ ।

समयमै कर्जा असुल हुन नसक्दा कम्पनीहरुको खराब कर्जा बढ्दो क्रममा छ । कर्जा लगानीको सावाँ, किस्ता र ब्याज नउठ्दा लघुवित्तको खराब कर्जा अनुपात बढेको छ ।

केन्द्रिय बैंकले लघुवित्तबाट ऋण लिएर ब्याज र किस्ता बुझाउन नसकेका ऋणाीहरुलाई सुहलियत पूर्ण व्यवस्था समेत गरिदिएको छ । राष्ट्र बैंकले ऋणीलाई कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने लगायतका नीतिगत सहजीकरण गरिदिएको हो ।

केन्द्रिय बैंकले कर्जा नोक्सानी व्यवस्था १.२० प्रतिशतबाट १.१० प्रतिशतमा झारेको थियो । यस्तो सुविधाका बाबजुद पनि बैंकहरुको कर्जा कर्जामा सुधार नआएको देखिन्छ ।

खराब कर्जा नियन्त्रण नहुँदा नै कम्पनीहरुको नाफा प्रभावित भएको छ । पहिलो त्रैमासमा सूचीकृत लघुवित्त कम्पनीको नाफ ९.३ प्रतिशत घटेको छ । अझै १९ वटा कम्पनी घाटामै चलिरहेका छन् । समिक्षा अवधिमा ३१ वटा कम्पनी मात्रै नाफामा छन् । ती मध्ये १६ वटा कम्पनीको मात्रै नाफा बढेको छ, अन्यको घटेको छ । यद्यपि, पहिलो त्रैमासमा कम्पनीहरुको खुद ब्याज आम्दानी भने दोहोरो अंकले बढेको देखिन्छ ।

कुन कम्पनीको खराब कर्जा कति ?

स्रोतः सम्वन्धित कम्पनीहरुले प्रकाशन गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय रिपोर्ट


प्रतिक्रिया दिनुहोस्