रोकिएन ब्याजदर घट्ने सिलसिला : साढे ४% को लाइनमा निक्षेपको ब्याजदर, कर्जाको भने झन्डै ३% सस्तियो « Arthapath.com
२८ पुष २०८१, आईतवार

रोकिएन ब्याजदर घट्ने सिलसिला : साढे ४% को लाइनमा निक्षेपको ब्याजदर, कर्जाको भने झन्डै ३% सस्तियो



काठमाडौं । कर्जाको ब्याजदर घट्ने सिलसिला निरन्तर चलिरहेको छ । एक वर्षको अवधिमा नै झन्डै तीन प्रतिशत बिन्दुले कर्जाको ब्याजदर घटेको छ । वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर ९ प्रतिशत बिन्दुबाट तल झरेको छ ।

नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको आँकडाले र्यस्तो देखाएको हो । गत मंसिरमा बैंकहरुको कजाको औसत ब्याजदर ८.९० प्रतिशत कायम भएको छ । यो गत वर्षको मंसिरको तुलनामा भने २.९५ प्रतिशत कमी हो । गत वर्ष सोही महिनामा भने यस्तो ब्याजदर ११.८५ प्रतिशत थियो ।

यता, विकास बैंकको कर्जाको ब्याजदर सस्तिएको छ । एकै वर्ष ३.१३ प्रतिशत बिन्दुले घटेर १०.२६ प्रतिशत कायम भएको छ भने वित्त कम्पनीको कर्जाको ब्याजदर पनि २.८२ प्रतिशत घटेर ११.४८ प्रतिशतमा झरेको छ । गत वर्षको मंसिरमा विकास बैंक र वित्त कम्पनीको कर्जाको औसत ब्याजदर क्रमशः १३.७० प्रतिशत र १४.४८ प्रतिशत थियो ।

हाल बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । लगानीका लागि बैंकहरुसँग टन्नै पैसा छ । तर, कर्जाको माग भने न्युन छ । कर्जाको माग नबढ्दा नै यसको ब्याजदर निरन्तर घटीरहेको छ । बैंकहरुमा लगानीयोग्य रकम फालाफाल हुँदा पनि उद्योग, व्यवसायी र अन्य क्षेत्रबाट कर्जाको माग नै कम छ । तर, निक्षेप भने लगातर थुप्रिएको छ ।

पछिल्लो समय महिनैपिच्छे ब्याजदरद घटेको छ । कर्जाको माग नबढ्दा निक्षेपको ब्याजदर पनि निरन्तर घट्दै आएको छ, जसले कर्जाको ब्याजदर पनि घटीरहेको छ । केन्द्रिय बैंकका अनुसार मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ४.७८ प्रतिशत, विकास बैंकको ५.७५ प्रतिशत र वित्त कम्पनीको ६.७० प्रतिशत कायम भएको छ । जबकि, गत वर्षको सोही महिनामा यी बैंकको निक्षेपको ब्याजदर क्रमशः ७.६२ प्रतिशत, ८.७९ प्रतिशत र ९.८५ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार लागत घट्दा बैंकहरुको आधार दर (बेस रेट) पनि घटेको छ । एकै वषको अवधिमा वाणिज्य बैंकको बेस रेट २.८२ प्रतिशत बिन्दुले घटेको छ । मंसिरमा बैंकको औसत आधार दर ६.८२ प्रतिशत कायम भएको छ । यता, विकास बैंकको आधार पनि ८.६५ प्रतिशत र वित्त कम्पनीको भने ९.७७ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा भने क्रमशः ११.६४ प्रतिशत र १३.१४ प्रतिशत रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्