सेयर कारोबार घटीरहेका बेला घरजग्गा किनबेच भने बढ्न थाल्यो, अब पुरानै लयमा फर्किएला ? « Arthapath.com
३ माघ २०८१, बिहीबार

सेयर कारोबार घटीरहेका बेला घरजग्गा किनबेच भने बढ्न थाल्यो, अब पुरानै लयमा फर्किएला ?



काठमाडौं । अहिले सेयर कारोबार दैनिक घट्दो देखिन्छ । तर, लामो समयदेखि सुस्त बनिरहेको घरजग्गा किनबेच भने बढ्न थालेको छ ।

हाल मासिक झन्डै ५० हजार हाराहारीमा घरजग्गा लिखत पारित हुन थालेको देखिन्छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत पुस महिनामा चालु आवकै धेरै ४८ हजार बढी घरजग्गा किनबेच भएका छन् । सो महिनामा ४८ हजार १५६ वटा घरजग्गाको लिखत पारित भएको हो । गत गत वर्षको पुस महिनाको तुलनामा ६.३६ प्रतिशत बढी हो । गत वर्षको पुसमा भने देशभर ४५ हजार २७५ वटा घरजग्गा किनबेच भएको थियो ।

चालु आर्थिक वर्षको सरुवातदेखि घट्न थालेको घरजग्गा कारोबार बढ्न थालेको हो । गत मंसिर महिनाको तुलनामा भने ११.२४ प्रतिशत बढेको छ । गत मंसिरमा देशभर ४३ हजार ३७९ वटा घरजग्गाको लिखत पारित भएका थिए ।

विभाग अनुसार कात्तिकमा देशभर ३३ हजार ५१४ वटा, असोज महिनामा ३० हजार ५२७ वटा, भदौमा ३२ हजार ७९८ वटा साउनमा ४३ हजार ८३५ वटा घरजग्गा खरिदबिक्री भएको थियो ।

कारोबारसँगै त्यस बापत सरकारलाई जाने राजश्व पनि ३२.६६ प्रतिशत वृद्धि भएको छ। गत वर्षको पुस महिनामा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजश्व प्राप्त गरेको थियो । तर, यो वर्षको सोही महिनामा भने ४ अर्ब २५ करोड २२ लाख २१ हजार रुपैयाँ राजश्व उठेको छ ।

सरकारले हाल सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त गर्छ । पुस महिनामा सेवा कर बापत ३० करोड ४३ लाख ४४ हजार, रजिष्ट्रेसन दस्तुर बापत २ अर्ब ६८ करोड ७८ लाख २६ हजार, पुँजीगत लाभकर बापत १ अर्ब ६० करोड ८३ लाख २८ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

अहिले घरजग्गा कारोबारको सिजन भएका पनि केही वृद्धि भएको व्यवसायीहरु बताउँछन् । पछिल्लो केही महिनाको आँकडा हेरेर कारोबार लय फर्किएको भन्न नमिल्ने उनीहरुको तर्क छ । यद्यपि, अहिले सबै हिसाब सहज वातावरण भने रहेकाले आगामी दिनमा अझै बढ्ने उनीहरुको भनाई छ ।

हाल बैंकिङ्ग प्रणालीमा अधिक तरलता छ । लगानीयोग्य रकम थुप्रिएर बसेको अवस्था छन् । पछिल्लो समय महिनैपिच्छे ब्याजदर पनि घटीरहेको छ । अन्य क्षेत्रमा भन्दा घरजग्गालाई नै चलायमान बनाउनका लागि बैंकहरुले नै विभिन्न स्किमहरु ल्याइरहेका छन् । एकल अंकको ब्याजदरमै घरजग्गामा लगानी गर्न बैंकहरु तयार छन् । केही बैंकहरुले त आधार दरमै कर्जा उपलब्ध गराउने अफर समेत अघि सारेको अवस्था छ । यस्ता कारण पनि घरजग्गा कारोबारमा केही सुधारको संकेत देखिएको व्यवसायीहरु बताउँछन् ।

अर्को तर्फ अहिले घरजग्गा भाउ निकै घटेकाले नगद नै हुने ग्राहक यस क्षेत्रमा लगानी बढाउन आकर्षित समेत भएको पाइन्छ । आर्थिक शिथिलता लगायतका कारण सुस्ताएको घरजग्गा कारोबार अब विस्तारै लय फर्किने व्यवसायीहरु बताउँछन् । यद्यपि, सरकारले यो क्षेत्रलाई गतिशिल बनाउन केही नीतिगत सहजीकरण गरिदिनुपर्ने उनीहरुको माग छ ।

पूर्वीय जिल्लाहरुमा गुलजार, कहाँ कहाँ कति भयो कारोबार ?

पुसमा सबैभन्दा धेरै घरजग्गा किनबेच पूर्वीय जिल्लाहरुमा भएका छन् ।

विभागका अनुसार सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरी मार्फत भएको छ। सो कार्यालय मार्फत एकै महिना १ हजार ८६७ वटा लिखत पारित भएका छन् । यता, मोरङ बेलबारीमा पनि १ हजार ६३२ वटा, भद्रपुर झापामा १ हजार ६२३ वटा घरजग्गा खरिदबिक्री भएका छन् ।

यस्तै, जनकपुरधाम धनुषामा १ हजार ५३४ वटा, राजविराज सप्तरीमा १ हजार २५८ वटा, मलंगवा सर्लाहीमा १ हजार १११, सिराहामा १ हजार ५७, तौलिहवा कपिलवस्तुमा १ हजार ५१ वटा घरजग्गा खरिदबिक्री भएका छन् ।

त्यसैगरि भक्तपुरमा पनि ९४३, धनगढी कैलालीमा ९१८, रुपन्देहीमा ९१६, पर्सामा ९१२, नेपालगञ्ज बाँकेमा ९०९, कलैया बारामा ८९७, बुटवलमा ८९६, तुलसी पुर दाङमा ८९३, विराटनगर मोरङ्गमा ८८७, दमक झापामा ८६८, लाहान सिराहमा ८२२, लगनखेला ललितपुरमा ८१४ वटा लिखत पारित भएका छन् ।

यता, घोराही दाङमा ७९५, जलेश्वर महोत्तरीमा ७९४, काभ्रेपलाञ्चोकमा ७५०, चितवनमा ७४६, मकवानपुरमा ७१२, बर्दघाट नवलपरासीमा ६८०, सुर्खेतमा ६०४, कलंकी काठमाडौंमा ५९४, कास्की पोखरामा ५९१, गलुरिया बर्दियामा ५०७ वटा घरजग्गा पुस महिनामा मात्रै खरिदबिक्री भएको छ । यी बाहेकका अन्य देशभरका मालपोत कार्यालयबाट भने ५०० भन्दा कम कारोबार भएका छन् ।


प्रतिक्रिया दिनुहोस्