व्यवसाय विस्तारमा आधा दर्जन बैंक एग्रेशिभ: चार वटाको कर्जा लगानी घट्यो, निक्षेपको मामलाको को-को अगाडि ? « Arthapath.com
१३ माघ २०८१, आईतवार

व्यवसाय विस्तारमा आधा दर्जन बैंक एग्रेशिभ: चार वटाको कर्जा लगानी घट्यो, निक्षेपको मामलाको को-को अगाडि ?



काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप थपिने क्रम जारी छ । बैंकहरुको निक्षेप संकलन साढे १० प्रतिशत वृद्धि भएको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ५ खर्ब ६७ अर्ब ६३ करोड रुपैयाँ बढेर ५९ खर्ब ९७ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ ।

एनआइसी एशिया बाहेकका सबै बैंकहरुको निक्षेप वृद्धि भएको छ । एनआइसीको निक्षेप गत वर्षको पुस तुलनामा १७.७० प्रतिशत घटेर ३ खर्ब १३ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ ।

निक्षेप संकलनमा राष्ट्रिय वाणिज्य बैंक अगाडी देखिएको छ । बैंकको निक्षेप संकलन ३२.५८ प्रतिशत वृद्धि भई ४ खर्ब ४६ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ ।

यता, नेपाल बैंकको पनि १९.०९ प्रतिशत वृद्धि भई ३ अर्ब ७ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ ।

रकमको आधारमा भने सबैभन्दा धेरै निक्षेप ग्लोबल आइएमई बैंकले ५ खर्ब ३४ अर्ब ७ करोड रुपैयाँ कायम भएको छ । यो गत आवको पुसको तुलनामा भने १३.८८ प्रतिशत हो । दोस्रो सूचीमा रहेको रहेको नबिल बैंकको निक्षेप पनि १२.७६ प्रतिशत बढेर ४ खर्ब ८९ अर्ब १३ करोड रुपैयाँ कायम भएको छ ।

चौथो सूचीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि १३.४८ प्रतिशत बढेर ४ खर्ब ४५ अर्ब १४ करोड रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा सिटिजन बैंकको निक्षेप १७.७४ प्रतिशत, एभरेष्टको १७.५७, सानिमाको १३.४९, प्राइमको १२.७६ प्रतिशत, नेपाल एसबिआईको १२.०९ प्रतिशत, सिद्धार्थको १०.२१ प्रतिशत, कुमारीको ९.९०, कृषि विकासको ९.६०, लक्ष्मी सनराइजको ९.०४, प्रभूको .९७, माछापुच्छ्रेको ६.५०, एनएमबिको ६.३२ प्रतिशत वृद्धि भएको छ ।

कुन बैंकको निक्षेप बढ्यो, कुनको घट्यो ? (रकम करोडमा)

कर्जा लगानीमा एभरेष्ट नेपाल बैंक र प्राइम तगडा, चार वटाको घट्यो

निक्षेप संकलनसँगै बैंकहरुको कर्जा लगानी पनि बढेको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकको कर्जा विस्तार ७.०६ प्रतिशत बढेर ४८ खर्ब १५ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सो अवधिमा बैंकहरुले ४४ खर्ब ९८ अर्ब १० करोड रुपैयाँ मात्रै कर्जा लगानी गरेका थिए ।

समिक्षा अवधिमा एनआइसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, प्रभू र हिमालयन बैंकको कर्जा लगानी घटेको देखिन्छ । यी बैंकहरुको यस्तो लगानी क्रमशः १३.७२, ३.७५, ३.३२ र १.०३ प्रतिशत घटेको छ । तर, यी बाहेकका अन्य बैंकहरुको कर्जा लगानी भने बढेको छ।

कर्जा लगानी विस्तारमा एभरेष्ट बैंक पहिलो नम्बरमा छ । बैंकको कर्जा प्रवाह २२.९२ प्रतिशत बढेर २ खर्ब १७ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ ।

दोस्रो सूचीमा रहेको नेपाल बैंकको पनि १७.१४ प्रतिशत बढेर २ खर्ब २२ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ । यस्तै प्राइम बैंकले पनि १५.६८ प्रतिशत, एनएमबिले १३.३१ प्रतिशत, ग्लोबल आइएमईले ११.५५ प्रतिशत, सानिमाले ११.१४ प्रतिशत र राष्ट्रिय वाणिज्यले १०.७६ प्रतिशत बढाएका छन् ।

यी बाहेकका अन्य बैंकको कर्जा प्रवाह वृद्धिदर १० प्रतिशत भन्दा कम छ । रकमको आधारमा भने ग्लोबल आइएमई पहिलो सूचीमा छ । बैंकले ४ खर्ब ३० अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गरेको छ। दोस्रो सूचीमा रहेको नबिलले पनि ४ खर्ब ९ अर्ब ११ करोड रुपैयाँ कर्जा दिएको छ ।

कुन बैंकको कर्जा लगानी बढ्यो, कुनको घट्यो ? (रकम करोडमा)


प्रतिक्रिया दिनुहोस्