आइसीएफसीको ऋणपत्र बाँडफाँट, ४ हजार ५६० जनाले पाए १ लाख १४ हजार कित्ता

काठमाडौं । आइसीएफसी फाइनान्सले यसअघि जारी गरेको ऋणपत्र (डिबेन्चर)को बाँडफाँट भएको छ । ऋणपत्रमा माग भन्दा अधिक आवेदन परेपछि गोलाप्रथाबाट आइतबार बाँडफाँट गरिएको हो ।
गोलाप्रथाबाट ४ हजार ५६० जना आवेदकहरुलाई १ लाख १४ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।
फाइनान्सले गत माघ ९ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । सोमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट समानुपातिक रुपमा बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।
बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याएर १ लाख १४ हजार कित्ता सर्वसाधरणलाई बाडँफाट गरिएको हो । सर्वसाधारणहरुबाट जम्मा ७ हजार २४७ जना आवेदकहरुबाट ६ लाख ३१ हजार ३५७ कित्ता ऋणपत्रको लागि आवेदन परेको थियो ।
आइसीएफसीले ७ वर्ष अवधिको ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गरेको हो । यसमा वार्षिक ९ प्रतिशत ब्याजदर दिने फाइनान्सले जानकारी दिएको छ । यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ ।
उक्त डिबेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण हुनेछ । सूचीकरणपछि दोस्रो बजारमा समेत सोको खरिद बिक्री कारोवार गर्न सकिनेछ।