कर्मचारी ‘प्रफुल्ल’ पार्न स्ट्याण्डर्ड, एभरेष्ट र प्राइम खप्पिस, बोनसमा कुन बैंकको ‘रोलक्रम’ कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीहरुका लागि साढे २८ अर्ब बढी रकम खर्चिएका छन् ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकहरुले आफ्ना कर्मचारीको तलब सुविधामा सो बराबरको रकम खर्चिएका हुन् ।
बैंकहरुले पुस मसान्तसम्ममा कर्मचारी सुविधाका लागि २८ अर्ब ६३ करोड ६३ लाख ४१ हजार रुपैयाँ खर्चिएका छन् ।
सो अवधिमा कर्मचारीहरुको बोनस व्यवस्थाका लागि भने ४ अर्ब ४२ करोड २५ लाख ८८ हजार रुपैयाँ छुट्याएका छन् । बैंकहरुले आफ्ना कर्मचारीहरुका लागि झन्डै ४८ प्रतिशतसम्म खर्च गरेता पनि औसतमा भने १५.४४ प्रतिशत मात्रै बोनस छुट्याएको देखिन्छ ।
बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानहरुले कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीहरुका लागि छुट्याउनु पर्ने कानूनी प्रावधान छ । यद्यपि, कतिपय बैंकहरुले औषतभन्दा धेरै बोनस पाउछन् भने कति कम पनि पाउने गरेका छन् ।
दोस्रो त्रैमासको आँकडा हेर्ने हो भने कर्मचारी बोनस बाँडनमा स्ट्याण्र्डर्ड चार्टर्ड बैंक नै पहिलो सूचीमा छ । बैंकले कर्मचारीका लागि ४७.९६ प्रतिशत खर्चिएको छ । बैंकले ६ महिनामा कर्मचारी सुविधाका लागि ५४ करोड ३० लाख रुपैयाँ खर्चिएको छ । त्यसको ४७.९६ प्रतिशत बोनस खर्चका लागि छुट्याएको छ । बैंकले कर्मचारी बोनसका लागि २६ करोड ४ लाख रुपैयाँ छुट्याएको छ ।
दोस्रो सूचीमा रहेको एभरेष्ट बैंकले पनि ३७.५७ प्रतिशत अर्थात् ३४ करोड ५२ लाख रुपैयाँ बोनस छुट्याएको छ । सो अवधिमा एभरेष्टले आफ्ना कर्मचारीका लागि भने ९१ करोड ८७ लाख ६३ हजार रुपैयाँ खर्चिएको छ ।
कर्मचारीहरुको तलब सुविधा लगायतमा प्राइम बैंकको पनि राम्रै हैसियत देखिन्छ । बैंकले कर्मचारी कुल खर्चको ३४.४३ प्रतिशत बोनस दिने भएको छ । समिक्षा अवधिमा प्राइमले कर्मचारीको सुविधाका लागि ८५ करोड ९१ लाख रुपैयाँ खर्चिएको छ भने २९ करोड ५८ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ ।
यता, रोलक्रमअनुसार चौंथो सूचीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि कर्मचारी बोनसका लागि २९.६० प्रतिशत रकम छुट्याएको छ । तलब सुविधाका लागि १ अर्ब ५२ करोड ४ लाख रुपैयाँ खर्चिएको बैंकले बोनस व्यवस्थाका लागि भने ४५ करोड रुपैयाँ छुट्याएको छ ।
नाफा लगायतका सूचकमा अब्बल नबिल बैंकले भने कर्मचारी बोनसका लागि २७.६० प्रतिशत छुट्याएको छ । नबिलले ६ महिनामा १ अर्ब ८६ करोड ६७ लाख रुपैयाँ तलब खर्च गरेको छ । तर, बोनसका लागि भने ५१ करोड ५१ लाख ५८ हजार रुपैयाँ छुट्याएको छ ।
यता, ग्लोबल आइएमई बैंक भने छैटौं स्थानमा छ । बैंकले कर्मचारीका लागि ६ महिनामै १ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ खर्चिएको छ । बोनस व्यवस्थाका लागि भने ४६ करोड ७३ लाख रुपैयाँ छुट्याएको छ ।
सातौं स्थानमा रहेको एनएमबि बैंकले पनि तलब सुविधमा राम्रै खर्च गरेको छ । सो अवधिमा बैंकले १ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ खर्चिएको छ । त्यसको २३.७७ प्रतिशत भने बोनस व्यवस्थाका लागि छुट्याएको छ ।
यस्तै, सानिमाले पनि आफ्ना कर्मचारी बोनस व्यवस्थाका लागि २२.१५ प्रतिशत, नेपाल एसबिआईले २०.२३, हिमालयनले १५.३० प्रतिशत, प्रभूले १४.९५ प्रतिशत, सिटिजन्सले १२.२१ प्रतिशत र माछापुच्छ्रेले ११.२७ प्रतिशत छुट्याएको छ । यी बाहेकका ७ बैंकले भने १० प्रतिशत कम बोनस दिने भएका छन् ।
कर्मचारी बोनसका लागि सबैभन्दा कम एनआइसी एशियाले १.२५ प्रतिशत छुट्याएको छ । यता, नेपाल बैंकले २.५९ प्रतिशत, कुमारीले ३.७३ प्रतिशत, राष्ट्रिय वाणिज्यले ६.०२ प्रतिशत छुट्याएका छन् । यस्तै, लक्ष्मी सनराइजले पनि कर्मचारी बोनसका लागि कुल खर्चको ९.८९ प्रतिशत, कृषि विकासले ८.६३ प्रतिशत र सिद्धार्थ बैंकले ६.२६ प्रतिशत छुट्याएका छन् ।
बोनसमा कुन बैंकको ‘रोलक्रम’ कति ? (रकम हजारमा)
