२४ मेगावाटकाे सुपरसेती हाइड्राेमा सानिमा र सिद्धार्थ बैंकले ३ अर्ब ७८ कराेड लगानी गर्ने

काठमाडौं । सुपरसेती हइड्राेपावरका लागि लगानी जुटेको छ । कुल ५ अर्व ४० कराेड लागत लाग्ने कम्पनीमा सानिमा र सिद्धार्थ बैंकले ३ अर्व ७८ कराेड लगानी गर्ने भएको हो । जसमा सानिमा बैंकले २ अर्ब ५० कराेड र सिद्धार्थ बैंक १ अर्ब २८ कराेड लगानी रहेको छ ।
सम्झाैता पत्रमा सुपरसेती हाइड्राेका अध्यक्ष अशाेक खड्का र सानिमा बैंकका डेपुटी सिईओ पवन आचार्य तथा सिद्धार्थ बैंकका सिईओ सुन्दर कणेँलले हस्ताक्षर गरेका छन् ।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा परियोजनास्थल रहने गरी एसएन इनर्जी लिमिटेडले सुपर सेती जलविद्युत आयोजना (२४ मेगावाट) को २०८१ फाल्गुन १८ बाट निर्माण कार्य प्रारम्भ भएको छ । उर्जालाई खेर जान नदिन कम्पनीले परियोजनालाई निर्माण अवधिभित्र ३० मेगावाटमा स्तरोन्नति गर्ने प्रकृया प्रारम्भ गरिसकेको छ ।
परियोजनाको निर्माण अवधि ३ बर्षको हुने र ३ बर्ष पश्चात २०८४ कार्तिकबाट उत्पादन शुरु गर्ने लक्ष्य रहेको छ । हाल परियोजनाको निर्माण कार्य द्रुततर गतिमा अघि बढिरहेको छ ।
यस परियोजनाको निर्माण लागत कुल रु. ५०४ करोड रहेको छ भने प्रति मेगावाट लागत रु. २१ करोड रहेको छ । तर स्तरोन्नति पश्चात प्रति मेगावाट लागत करिब रु.२ करोडले घटेर प्रति मेगावाट रु.१९ करोड हुने कम्पनीको अनुमान रहेको छ ।
परियोजना निर्माण र संचालनको लागि आवश्यक पर्ने पूँजीको ब्यवस्थापन २५% संस्थापक लगानीकर्ताहरुबाट र ७५% बैंक कर्जाबाट गरिनेछ । निश्चित समयावधी पश्चात यस परियोजनाका स्थानीय बासिन्दा तथा सेयरको प्रारम्भिक निष्काशन पश्चात आम सर्वसाधारण नागरिकहरुले शेयरधनीको रुपमा अपनत्व ग्रहण गर्न पाउने छन् ।
आयोजनाको संस्थापक लगानीकर्ताहरुमा देशको प्रतिष्ठित निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले हाल कायम पूँजीको २०% लगानी गरी परियोजनाको प्रवर्द्धन गरेको छ भने अन्य लगानीकर्ताहरुमा उर्जा विकासमा लामो अनुभव हासिल गरेका सफल उर्जा उद्यमीहरु रहेका छन् । जसमा अन्य जलविद्युत परियोजनाहरुको सफल संचालन गरी सकेको अनुभव छ ।
यस कम्पनीको संचालक समितिको अध्यक्षमा नेको इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले प्रतिनिधित्व गरिरहेका छन् । नेको इन्स्योरेन्सको लगानी तथा उर्जा क्षेत्रको अनुभवी ब्यक्तित्वले नेतृत्वदायी भुमिका रहेको हुँदा आयोजनाको निर्माण कार्य अनुमानित लागतमा तोकिएको अवधि भित्र पुरा भै उत्पादन कार्य प्रारम्भ हुनेमा विश्वस्त हुन सकिन्छ ।
उत्पादन प्रारम्भ भएपछि त्यसको राष्ट्रिय वितरण प्रणालीमा जोड्ने योजना सुनिश्चित भै सकेको र नेपाल विद्युत प्राधिकरणसँग उर्जा खरीद सम्झौता समेत सम्पन्न भइ सकेको छ ।