नेपालको अर्थतन्त्र ४.४ प्रतिशत वृद्धि हुने प्रक्षेपण, आगामी वर्ष थप सुदृढ « Arthapath.com
२७ चैत्र २०८१, बुधबार

नेपालको अर्थतन्त्र ४.४ प्रतिशत वृद्धि हुने प्रक्षेपण, आगामी वर्ष थप सुदृढ



काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०८०-८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि रहने एसियाली विकास बैंक (एडिबी) को प्रमुख प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (एसियाली विकास परिदृश्य)ले जनाएको छ ।

आन्तरिक माग क्रमशः लयमा फर्कनु निजी क्षेत्रद्वारा अपेक्षित सुधारहरूको सम्बोधन पर्यटनसम्बद्ध सेवाहरूको पुनरुत्थानले नेपालको आर्थिक वृद्धि प्रक्षेपणमा सुधारलाई गति दिने कारकहरू हुन् ।

गत आर्थिक वर्षमा संकुचित भएका प्रमुख आर्थिक क्षेत्रहरूः औद्योगिक उत्पादन, निर्माण क्षेषहरू पेट्रोलियम तथा कच्चा पदार्थको मूल्यमा स्थिरता, लगानीयोग्य पुँजीको उपलब्धताले चालु आवमा वर्षमा विस्तार हुने बताइएको छ । साथै घट्दो ब्याजदरले सबै उत्पादनमूलक क्षेत्राहरुमा कर्जा विस्तारका लागि मार्ग प्रशस्त गरेको छ ।

कुल गार्हस्थ उत्पादनको वृद्धिदर आगामी आर्थिक वर्ष २०८२/८३ मा ५.१ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । जुन सरकारले पूँजीगत बजेट कार्यान्वयनमा गर्ने सुधार, पर्यटन र पससँग सम्बन्धित सेवाहरूमा प्रगति तथा यान्त्रिकरण र उन्नत सिंचाई सुविधा तथा अनुकुल मनसुनमा निर्भर कृषि उत्पादकत्व वृद्धिबाट निर्देशित हुनेछ ।

चालु आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फीतिमा कमी आउने उल्लेख छ । मुद्रास्फीति केन्द्रीय बैंकले तोकेको सीमामा रहने अनुमान गरिएको छ । कृषि उपज संकलन राम्रो रहने र सबैभन्दा बढी आयात गरिने मुलुक भारतमा मुद्रास्फीति दरमा आएको गिरावटले मुद्रास्फीतिमा कमी आउने अनुमान गरिएको हो ।

उच्च विदेशी विनिमय सञ्चिति तथा विवेकशील मौद्रिक नीतिले नेपालको बाह्य क्षेत्रले चालु आवको पहिलो ६ महिनामा स्थायित्व प्राप्त गरेको उल्लेख छ । तर, आगामी आर्थिक बर्ष २०८२/८३ मा वस्तु र सेवाको आयात उच्च भएपछि चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको २४ प्रतिशत बराबर रहने प्रक्षेपण छ ।

एसियाली विकास परिदृश्य (एसियन डेभलपमेन्ट आउटलुक) मा जोखिमहरूले अपेक्षित प्रतिफल प्राप्तिमा कठिनाईतर्फ संकेत गर्दछन् । आउटलुकमा भनिएको छ,‘भन्सार महशुल बढ्ने क्रम जारी रहेमा विश्वव्यापी आर्थिक मन्दी आउन सक्छ, जसले नेपालको पर्यटन आम्दानी र विप्रेषणलाई असर पुर्याउनले सम्भावना रहन्छ ।

साथै, वैदेशिक सहयोगमा कमी आएमा विकास निर्माणका लागि विदेशी सहायतामा निर्भर नेपालको आर्थिक वृद्धिमा नकारात्मक असर पर्न सक्छ । पुँजीगत बजेट कार्यान्वयन कमजोर भएमा पनि वृद्धिको सम्भावनालाई बाधा पुन्याउनेछ ।’

यी वृद्धिका पूर्वानुमानहरू अप्रिल २ मा अमेरिकी प्रशासनद्वारा नयाँ भन्सार महसुल घोषणा हुनु अगाडि तय गरिएको हो, त्यसैले आधारभूत पूर्वानुमानमा पहिलेदेखि कार्यान्वयनमा रहेको महसुल मात्रै समेटिएको एडीबीले जनाएको छ ।

तथापि, एसियाली विकास परिदृश्य अप्रिल २०२५ ले एसिया र प्रशान्त क्षेत्रमा बढ्दो महसुलको सम्भावित असरसम्बन्धी विश्लेषण समेटेको उल्लेख छ ।

एडिबी एसिया तथा प्रशान्त क्षेत्रमा दिगो, समावेशी र उत्थानशील विकासका लागि सहयोग गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो । यसका सदस्य र साझेदारहरूसँग जटिल चुनौतीहरू समाधानका लागि आपसमा काम गरिरहेको एडिबीले जनजीविकामा रूपान्तरण, गुणस्तरीय पूर्वाधार निर्माण र पृथ्वीलाई जोगाउनका लागि नवप्रवर्तित वित्तीय औजारहरू एवं रणनीतिक साझेदारीको उपयोग गर्दछ ।

सन् १९६६ मा स्थापना भएको एडिबीमा ६९ सदस्यहरूको स्वामित्व रहेको छ र ती मध्ये ४९ एसिया तथा प्रशान्त क्षेत्रमा अवस्थित छन् ।


प्रतिक्रिया दिनुहोस्