खनालको नेतृत्वमा विस्तार हुँदै छ राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नेतृत्व सम्हालेको एक वर्ष पनि पुगेको छैन । उनले नेतृत्व सम्हालेयता बैंकले राम्रो व्यवसाय विस्तार गरिरहेको छ ।
बैंकले निक्षेप र कर्जा दुईवटै पक्षको राम्रो ग्रोथ गरिरहेको छ । खनालले नेतृत्व सम्हालेयता बैंकले क्रेडिटको राम्रो ग्रोथ गरेको छ । करिब १६–१७ प्रतिशतको ग्रोथ गरेको सीईओ खनाल बताउँछन् । जुन बजारमा अन्य बैंकको तुलनामा राम्रो हो ।
डिपोजिटको ग्रोथ पनि उत्तिकै राम्रो रहेको उनी बताउँछन् । बैंकले यो अवधिमा १ खर्ब ५० अर्ब जतिको डिपोजिटको ग्रोथ गरेको छ । बैंकले एक वर्ष हाराहारीमा नै कुल निक्षेपको वान÷थर्ड जस्तो निक्षेप ग्रोथ यही अवधिमा गरेको छ ।
सहकारी संस्थाहरुमा देखिएको वित्तीय अपचलन सम्बन्धि विभिन्न घटनाहरूले गर्दा पनि बैंकको डिपोजिट ग्रोथ हुन पुगेको छ । सहकारीप्रति नागरिकको घट्दो विश्वासले बैंकमा डिपोजिट गर्नेको संख्या केही वृद्धि भएको सीईओ खनाल बताउँछन् ।
पछिल्लो समय बजार धेरै चलायमान बन्न नसक्दा पनि बैंकमा डिपोजिटहरू थुप्रिरहेको छ । डिपोजिट आएको आधारमा सिडी रेसियोलाई हेर्ने हो भने सिडी रेसियोको लेभल घटेको उनी बताउँछन् । यद्यपि असारभन्दा अहिले राम्रो पोजिसनमा रहेको उनले बताए ।
‘बैंकमा व्यवसाय पनि बढेको छ । पुँजीको दबाब रहे पनि समग्रमा हेर्ने हो भने बैंकको ग्रोथ सन्तोषजनक नै देखिन्छ’, उनले भने ।
अहिले समग्र बजारमा कर्जाको डिमाण्ड नै भएन भन्ने धेरैको गुनासो छ । तर राष्ट्रिय वाणिज्य बैंकको हकमा भने त्यो समस्या छैन । किन कि उसको बेस रेट एकदम कम छ । साथै देशैभर विस्तार भएको विशाल नेटवर्कले गर्दाखेरि कर्जाको माग रहेको सीईओ खनालले बताए ।
सस्तो व्याजदरका कारणले पनि अरू बैंक तथा वित्तीय संस्थाबाट यो बैंकमा आएर कर्जाको उपयोग गर्नेको संख्यामा कमी आएको छ । यसमा धेरैजसो साना साना कर्जाहरू– जो ग्रामिण क्षेत्रमा छन्, त्यो कर्जाको माग राष्ट्रिय वाणिज्य बैंकमा रहेको छ ।
यो अवधिमा बैंकले केही नयाँ प्रडक्टहरू पनि ल्यायो । कृषिसँग सम्बन्धित प्रडक्टहरू, वैदेशिक रोजगारीसँग सम्बन्धित प्रडक्टहरू, घरकर्जाका नयाँ प्रडक्टहरू र भेहिकल लोनको प्रडक्टहरू ल्यायो । ब्याजदर सस्तो भएको कारण ग्राहकको माग र आकर्षण यस्ता प्रडक्टहरुमा निरन्तर बढिरहेको पनि छ ।
पछिल्लो समय नेपालको व्यावसायिक वातावरण बिग्रिएको छ । त्यसैले गर्दा उद्यमीहरूले ऋण लिएर तिर्न सक्ने क्षमता पनि खुम्चिएको छ । लगानी गर्दा रिटर्न आउँछ भन्ने पूर्ण विस्वासमा उद्यमीहरू छैनन् ।

व्यावसायिक वातावरण नबन्दा कहाँ लगानी गर्ने, कुन क्षेत्रमा लगानी गर्ने भन्ने अन्योल छ । त्यसैले कर्जाको डिमाण्ड हुन सकिरहेको छैन । यस्तो अवस्थामा पनि वाणिज्य बैंक भने कर्जा विस्तारमा अगाडि नै देखिएको सीईओ खनालले बताए ।
‘समग्र बजारमा हेर्दाखेरि जुन हिसाबको तरलता उपलब्धता छ, त्यसलाई देख्दाखेरि बजारमा कर्जाको माग त्यति नभएको देखिन्छ’, अर्थपथसँग खनालले भने ।
सबै क्षेत्रमा सन्तुलित बैंक
सीईओ खनालका अनुसार राष्ट्रिय वाणिज्य बैंक सबै क्षेत्रमा सन्तुलित भएर काम गरिरहेको छ । बैंकले साना तथा मझौला उद्यमलाई विशेष प्राथमिकतामा राखेको उनले बताए । ग्रामीण क्षेत्रमा कर्जाको प्रवाह गरेर स्वरोजगारको अवसर पनि सिर्जना गर्नतर्फ बैंक मुख्य फोकस रहेको पनि उनी बताउँछन् ।
बैंकले देशभित्र उद्यमशीलताको प्रबद्र्धनमा सघाउन एसएमईलाई ज्यादा जोड दिँदै आएको छ । विशेष त कृषिमा बैंकले लगानी गरिरहेको छ । यो बैंकको स्थापना कृषिको उत्थानकै लागि भएको त होइन, तर साना किसानहरुलाई यस बैंकले विशेष लाभ पुर्याउँदै आएको छ ।
‘कृषि क्षेत्रलाई कसरी अगाडि लान सकिन्छ भनेर उत्थानशील नीति लिँदै साना साना किसिमका कर्जाहरू पनि बैंकले कृषि क्षेत्रमा प्रवाह गरिरहेका छ’, सीईओ खनाल भन्छन्, ‘बैंकले कर्पोरेट सेक्टरको ठूला कर्जाहरू पनि उत्तिकै प्रवाह गरिरहेका छ । विशेष त यसमा हामी पूर्वाधारसँग सम्बन्धित कर्जाहरू, ऊर्जासँग सम्बन्धित कर्जाहरूलाई पनि बैंकले प्राथमिकतामा राखेर लगानी गरिरहेको छ ।’
अर्थतन्त्र चलायमान नहुँदा चुनौती
झण्डै तीन वर्षदेखि मुलुकको घरेलु अर्थतन्त्र चलायमान बन्न नसक्दा अरु बैंकहरुले जस्तै यो बैंकले पनि चुनौतीहरुको सामना गर्नु परिरहेको छ । बजारको गतिविधी घटेर तलाउको पानीजस्तै स्थिर भइदिएपछि कर्जाको डिमाण्ड नै हुन नसक्ने अवस्था आएको छ । यो अवस्था कहिलसम्म कायम रहन्छ भनेर अड्कल काट्न पनि मुस्किल पर्ने स्थिति छ ।
त्यसै पनि नेपालको मुद्रा बजारमा तरलताको उथलपुथल हुने सिलसिला पहिलेदेखि नै चल्दै आएको थियो । कहिले एक्कासी लिक्विडिटी टाइट हुन्छ । कुनैबेला एक्कासी फल्स भएर जाने अवस्था छ । त्यस्तो अवस्था विगतदेखि नै देखिरहेको र एउटा साइकलमा चलिरहेको अवस्था छ ।
‘त्यसकारण विद्यमान समस्या कहिलेसम्म कायम रहला भनेर अहिले नै त्यसरी ठ्याक्कै भन्न सक्ने अवस्था छैन’, खनाल भन्छन् । तर अहिले देख्दा चाहिँ बजार सुधारात्मक हिसाबमा चलिरहेको सीईओ खनालले बताए ।
अहिले थोरै असहजता देखिए पनि मार्केटलाई अलिकति सुधारात्मक बाटोमा अगाडि बढ्ने उनले बताए । ‘स्रोतहरू सही मात्रामा उपयोग भइरहेका छन् । उत्पादनसँग सम्बन्धित कुरामा उपयोग भइरहेका छन् । आगामी दिनमा यसले सही नतिजा निकाल्छ भन्ने अनुमान गर्न सकिन्छ’, उनले भने ।
असुलीको मामिलामा भने अझै पनि अलिक अप्ठ्यारो अवस्था रहेको खनाल बताउँछन् । ‘पहिलाको जुन हिसाबको केही छुटहरू उपयोग गरिरहेका थिए, त्यस्ता कर्जाको हकमा अहिले तत्कालै यसको छुट तथा सुविधाहरु फिर्ता गर्दाखेरि ठ्याक्कै असर चाहिँ देखिहाल्छ’, उनी भन्छन् ।
गत पुसमा पनि त्यसको असर देखिएको र अहिले चैतको वित्तीय विवरणमा पनि त्यही असर देखिएको उनको बुझाइ छ । ‘धेरै उद्यमी व्यवसायीहरूको मार्केट चलायमान नभएको हिसाबमा त्यसरी आर्जन नभई व्याज तिर्न सकिएन, ब्याज तिर्न नसक्दासम्म नियमित हुन सक्दैन । त्यस्तो अवस्था छ’, उनले भने ।

तर अहिले देख्दाखेरि सिमेन्ट, स्टिल जस्ता उद्योगहरू पनि एउटा रूपमा कसरी अगाडि बढ्न सकिन्छ भनेर नयाँ सोच, नयाँ तरिकासँग आएको र सरकारले निर्माण व्यवसायीहरूको पनि भुक्तानी गरिरहेको उनले बताए । यसलाई पनि सकारात्मक रूपमा लिन सकिने उनले बताए ।
‘अहिले विगतमा रहेका बजेटमा नपरेका तर कामहरू भएका त्यस्ता भुक्तानी गर्दिने हिसाबमा सरकारको अहिलेको बजेट निर्माण हुँदैछ भन्ने सुन्दाखेरी चाहिँ अब सुधारात्मक बाटोमा गयो भने पक्कै पनि बजार नियमित हिसाबमा जान्छ होला भन्ने लाग्छ’, उनले थपे ।
अहिले देख्दा बजारमा अलिकति जग्गा–जमीनको भाउ घटेको हो भन्ने सुनिन्छ । किन्ने ग्राहक नहुँदाखेरि घट्नु स्वाभाविक हो । तर घटेको यथार्थ देखिँदैन । टुक्रा कारोबार भइरहेकै अवस्था छ ।
तर बैंक तथा वित्तीय संस्थाले जति पनि अक्सनमा निकालेका छन्, ती बिक्री नभइरहेको अवस्था अहिले पनि कायम छ । ‘त्यसकारणले गर्दाखेरि बजारमा जुन हिसाबमा अर्थतन्त्रको चलायमान हुनुपर्ने हो त्यो भइरहेको छैन’, खनाल भन्छन्, ‘जग्गाकै भाउ घट्यो र मूल्य धेरै तल आयो भन्नेजस्तो चाहिँ अहिले नै ठ्याक्कै रिफ्लेक्सन देखिएको छैन ।’
यदी जग्गाको मूल्य केही हदसम्म घटेकै अवस्थामा पनि बैंकको लगानी डुब्ने जोखिम भइहाल्दैन । यसका लागि मार्केट भ्यालु, कस्ट भ्यालु, सरकारी भ्यालु जस्ता भिन्नभिन्न आँकडाहरुको भारका आधारमा कर्जा प्रयोजनका लागि धितो मूल्यांकन हुन्छ ।
त्यसपछि निस्कने कस्ट भ्यालुमा पनि मार्जिन कट्टा गरेर लगानी गर्ने हुनाले बैंकको कर्जा निकै तल्लो लेभलमा प्रवाह भएको हुन्छ । यसो हुँदा ३०–४० प्रतिशत नै मूल्य घट्दा पनि बैंकलाई हानी नहुने खनाल बताउँछन् । त्यसैले पूर्ण सरकारी स्वामित्वको यो संस्थाले पनि तत्कालका लागि ठूलो प्रतिफल दिन नसकेर खासै फरक नपर्ने, भविष्यमा उत्कृष्ठ प्रतिफलबाट सरकारी कोषलाई राहत पुर्याउने खनालको विस्वास छ ।