१० महिनामा महंगी ५.०४ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वार्षिक विन्दुगत उपभोक्ता महंगी ५.०४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकल सार्वजनिक गरेको देशको वर्तमान स्थितिमा यस्तो देखिएको हो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो महंगी २.७७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महंगी ४.६३ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको महंगी ५.२६ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको महंगी क्रमश: १.५२ प्रतिशत र ३.४५ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को दश महिनाकोऔसत महंगी २.६६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत महंगी ४.३९ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८.६० प्रतिशत, घ्यू तथा तेलको १३.९९ प्रतिशत, तरकारीको ५.४० प्रतिशत र माछा तथा मासुको ४.१६ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.६७ प्रतिशत र मरमसलाको ०.६५ प्रतिशतलेघटेको छ ।
विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९.९० प्रतिशत, यातायातको १५.३० प्रतिशत, शिक्षाको ५.५४ प्रतिशत, मदिराजन्य पेय पदार्थको ४.७७ प्रतिशत र कपडा तथा जुत्ताचप्पलको ४.७३ प्रतिशतलेबढेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.३५ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२९ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता महंगी ५.६४ प्रतिशत, मधेश प्रदेशको ५.४७ प्रतिशत, बागमती प्रदेशको ४.५५ प्रतिशत, गण्डकी प्रदेशको४.८६ प्रतिशत, लुम्बिनी प्रदेशको ५.३१ प्रतिशत, कर्णाली प्रदेशको ४.८८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.६५ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता महंगी ४.९० प्रतिशत, तराईको ५.५९ प्रतिशत, पहाडको ४.७३ प्रतिशत र हिमालको ३.७३ प्रतिशत रहेको छ ।
वैशाख महिनामा वार्षिक विन्दुगत थोक महंगी ५.९६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो महंगी ३.९५ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक महंगी ८.६३ प्रतिशतले ऋणात्मक रहेकोछ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक महंगी क्रमश: १५.५९ प्रतिशत र ४.६१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क २.४७ प्रतिशतले बढेकोछ ।
२०८३ वैशाख महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता महंगी ५.०४ प्रतिशत रहेको छ । सन्२०२६ अप्रिल महिनामा भारतमा यस्तो महंगी ३.४८ प्रतिशत रहेको छ ।














