कफ्र्यूका कारण रक्सौलमा रोकिए नेपाली « Arthapath.com
१० चैत्र २०७६, सोमबार

कफ्र्यूका कारण रक्सौलमा रोकिए नेपाली



काठमाडौं । वीरगञ्ज– भारत सरकारले कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित हुन आज जनता कफ्र्यूको आह्वान गरेपछि आफ्नो घर फर्किरहेका नेपाली सीमावर्ती भारतीय बजार रक्सौलमै रोकिएका छन्् ।

भारत सरकारले आज बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म लागू गरेको कफ्र्यूका कारण भारतको रक्सौलमा रोकिएका एक हजार भन्दाबढी नेपालीलाई साँझ ७ बजेपछि मात्र छाडिने रक्सौल प्रशासनले जनाएको छ । भारतीय बजार रक्सौलमा रोकिएका नेपाली सुरक्षित रहेको र उनीहरुलाई साँझ ७ बजेपछि छाडिने बताउँदै रक्सौल थानाका प्रमुख अभय कुमारले राससलाई भन्नुभयो, “कतिपय नेपाली पैदल नै नेपालतर्फ गएका छन् भने बाँकीलाई ७ बजेपछि छाडिने छ ।

“आआफ्नो घर नेपालतर्फ गइरहेका नेपाली रोकिएपछि अधिकांश नेपाली यहाँको होटल, लजमा बास बसेका छन् र उनीहरुलाई साँझ परेपछि सुरक्षित नेपालतर्फ पठाइने छ”, टेक्स्टाइल कमर्स अफ रक्सौलका अध्यक्ष अरुणकुमार गुप्ताले भन्नुभयो ।

आज एकाबिहानै काठमाडौं लगायतका नेपालका विभिन्न भागमा काम गरी फर्किएका करिब एक हजार भारतीय वीरगञ्ज नाकाको बाटो भएर भारतको रक्सौलमा प्रवेश गरेको भन्सारस्थित सुरक्षाकर्मीले बताएका छन् ।

भारतमा तीव्र गतिमा बढी रहेको कोरोना सङ्क्रमणलाई रोक्न भारत सरकारले लगाएको कफ्र्यूको प्रभाव रक्सौल वीरगञ्ज नाकामा पनि देखिएको छ । बिहानैदेखि रक्सौलबाट कुनै पनि मालवाहक सवारीसाधन नआएकाले यसको प्रत्यक्ष प्रभाव भन्सार राजश्वमा परेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताउनुभयो । नाका ठप्प तथा सुनसान भएकाले नाकामा रहेको कोभिड–१९ जाँच्ने हेल्थ डेस्कमा अरु दिन जस्तो खासै चाप भने देखिएन ।

सधैँ भिड हुने भारतको रक्सौल बजार, रेल्वे स्टेशन, बस स्टेण्ड दिनभर सुनसान देखियो । यसैबीच भारत विहारको राजधानी पटनामा रहेको एक अस्पतालमा उपचार गराइरहेका ३८ वर्षीय भारतीय नागरिक सैफ अलीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । त्यहाँका सञ्चार माध्यमका अनुसार ती पुरुष कतारबाट फर्किएका र उनको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचारका लागि सो अस्पतालमा भर्ना भएपछि शनिबार बिहान मृत्यु भएको हो ।

भारत विहारको पटनामा कोरोनाबाट एक व्यक्तिको मृत्यु भएको खबर विभिन्न सञ्चारमाध्यममा आएपछि भारतीय सीमासँग जोडिएका नेपाली गाउँमा उच्च सतर्कता अपनाइएको छ । कोरोना सङ्क्रमण फैलिन नदिन प्रदेश नं २ का विभिन्न जिल्लामा आज बिहानदेखि अधिकांश भन्सार नाका बन्द गरिएको छ ।

सोअन्तर्गत सप्तरीमा कूल आठमध्ये सात वटा सीमानाका, सिरहामा माडर र ठाडी नाकाबाहेक सबै सीमानाका, धनुषामा ३७ मध्ये ३५ नाका, महोत्तरीमा भिठ्ठामोड बाहेक सबै नाका, सर्लाहीमा दुई नाकाबाहेक सबै नाका, रौतहटमा एक नाकाबाहेक सबै नाका, बारामा पाँच वटा र पर्सामा वीरगञ्ज नाकाबाहेक सबै नाका बन्द गरिएको प्रदेश नं २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णहरि पुष्करले राससलाई बताउनुभयो ।

कोरोना भाइरसको त्रासको कारण पर्साका अधिकांश सरकारी कार्यालय सुनसान देखियो । कार्यालय खुले पनि सेवाग्रहीको अभावमा सुनसान देखिएको हो । भिडभाड हुने तथा कोरोनाको सङ्क्रमणलाई ध्यानमा राखी यस्ता कार्यालय सुनसान देखिएको सम्बन्धित कार्यालयका प्रमुखले जनाएका छन् । यसैगरी कोरोना सङ्क्रमणबाट जोगिन पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले वीरगञ्जका सर्वसाधारण तथा बटुवालाई सर्जिकल मास्क वितरण गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्