ग्यास साट्न नागरिकता नम्बर चाहिने, महिनामा परिवारलाई एउटा सिलिन्डर « Arthapath.com
११ चैत्र २०७६, मंगलवार

ग्यास साट्न नागरिकता नम्बर चाहिने, महिनामा परिवारलाई एउटा सिलिन्डर



काठमाडौं । नेपाल आयल निगमले एक परिवारका लागि एउटा मात्र ग्यास उपलब्ध गराउने भएको छ । लकडाउनको बेलामा यस्तो ब्यबस्थापन गरेको हो ।

लकडाउनको अवस्थामा आपूर्ति व्यवस्था मिलाउन निगमले एक महिनामा एउटा परिवारले एउटामात्र ग्यास सिलिन्डर किन्न पाउने व्यवस्था गरेको हो ।

जसअनुसार ग्यास डिलर बिक्रेताले ग्यास बिक्री गर्दा मासिक रुपमा ‘एक परिवार एक सिलिन्डर’को प्रक्रिया मिलाई ग्यास बिक्री गनुपर्ने छ । यसका लागि बिक्री गरिएको ग्यास किन्ने उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बर प्रस्ट खुलेको रेकर्ड राख्नुपर्छ । निगमले मंगलबार साँझ यस्तो निर्देशन दिएको हो ।

ग्यास उद्योगहरुले निगमको कार्यालयको पूर्वस्वीकृत लिएर मात्र बिक्री वितरण गर्न पाउनेछन् । उनीहरुले बिक्रेताकहाँ पठाउने ग्यास सिलिन्डरको परिमाण, बिक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बरलगायतका विवरण खुलाउनु पर्नेछ ।

ग्यास उद्योगी व्यवसायीले काठमाडौं उपत्यकाको लागि निगम केन्द्रीय कार्यालयबाट, निगमको स्थानीय कार्यालय भएको जिल्लामा स्थानीय कार्यालयबाट वा निगमको कार्यालय नरहेको जिल्लामा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिनुपर्ने छ ।

निगमले ग्यास उद्योगहरुलाई डिलरमार्फत् ग्यास बिक्री वितरण गर्नेे कार्य अर्को सूचना नआएसम्मका लागि यस्तो प्रक्रियाबाट मिलाउन निर्देशन दिएको हो ।


प्रतिक्रिया दिनुहोस्