डडेल्धुरामा ९५ जनालाई क्वारेन्टाइना राखिँदै « Arthapath.com
१२ चैत्र २०७६, बुधबार

डडेल्धुरामा ९५ जनालाई क्वारेन्टाइना राखिँदै



अमरगढी । डडेल्धुरा जिल्लामा भारतबाट फर्केका ९५ जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले क्वारेन्टाइमा राख्न जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।

मङ्गलबार सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट आएका डडेल्धुरा जिल्लाका परशुराम नगरपालिकाका ३९, भागेश्वर गाउँपालिकाका १०, नवदुर्गा गाउँपलिकाका ११, गन्यापधुरा गाउँपालिकाका ९, अजयमेरु गाउँपालिकाका ५, अमरगढी नगरपालिका–१० का १० जना र वडा नं. ९ का ११ जनालाई स्थानीय तहको समन्वयमा सम्बन्धित पालिकामा पठाइएको डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

यस्तै पुरशुराम नगरपालिको त्रिवेणी बहुमुखी क्याम्पसमा ३९ जनालाई क्वारेन्टाइनमा राखिएको र अन्य पालिकाले पनि क्वारेन्टाइनमा राख्ने तयारी गरेको प्रजिअ पन्तले बताउनुभयो ।

अहिलेसम्म कोरोनाको प्रभाव जिल्लामा नपरेको भए पनि मानसिक र सम्भावित सङ्क्रमणबाट जोगिन सरकार, स्थानीय प्रशासन र स्थानीय सरकारले गरेको अपिल मानिदिन उहाँले आग्रहसमेत गर्नुभएको छ । बेलाबेलामा आफू र आफ्नो परिवारको सरसफाइमा ध्यान दिन र घरमै बस्न आग्रह गर्नुभएको छ ।

एक हप्ताको अवधिमा भारतबाट डडेल्धुरा फर्किएका एक हजार ५०० जनाको खोजी गरिँदै गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । कुन ठाउँमा कतिजना मानिस जिल्ला भित्रिएका हुन् स्थानीय सरकारसँग समन्वय गरी वडा–वडामा स्थानीय जनप्रितिनिधि र स्वास्थ्यकर्मीलाई परिचालन गरी तथ्याङ्क सङ्कलन गरी सेल्फ होम क्वारेन्टाइनमा बस्न लगाइने प्रजिअ पन्तले बताउनुभयो ।

केही वडामा अटेर गरी घरमा बस्न नमान्नेलाई प्रहरी परिचालन गरी सहयोग गरिएको अमरगढी नगरपालिका–९ का अध्यक्ष भीमबहादुर रोकाले जानकारी दनुभयो ।

डडेल्धुरा जिल्लामा मङ्गलबार लकडाउन गरिए पनि आवतजावत रोकिएको थिएन । आज बिहानैदेखि पूर्णरुपमा लकडाउनको पालना भएको डडेल्धुरा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।रासस


प्रतिक्रिया दिनुहोस्