तीव्र संक्रमणमा नेपाल संसारकै दोस्रो, तर प्रतिव्यक्ति संक्रमण दरमा १२१ मुलुकभन्दा राम्रो अवस्थामा « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

तीव्र संक्रमणमा नेपाल संसारकै दोस्रो, तर प्रतिव्यक्ति संक्रमण दरमा १२१ मुलुकभन्दा राम्रो अवस्थामा



काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण हेर्ने हो भने कोरोना भाइरसको तीव्र संक्रमण बढ्ने मुलुकको सूचीमा नेपाल दोस्रो नम्बरमा परेको छ । वितेको २४ घण्टामा इरानमा सबैभन्दा धेरै १५ हजार ८ सय ७२ जना र त्यसपछि नेपालमा ८ हजार ६ सय ५ जनामा नयाँ संक्रमण देखिएको छ ।

यो २४ घण्टामा संसारभर १ लाख नयाँ संक्रमित भेटिएका छन् । त्यसको साढे ८ प्रतिशतभन्दा बढी नेपालमै पाइएको छ । त्यसपछि रूसमा ७ हजार ९ सय ७५ र भारतमा ६ हजार ९ सय १४ जनामा नयाँ संक्रमण पाइएको वल्डोमिटरले जनाएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्यामा भने नेपाल बुधवारका लागि विश्वको ११ औं नम्बरमा छ । पछिल्लो २४ घण्टामा संसारमा कोरोनाबाट मृत्यु भएका २ हजार ९ सय ८ जनामध्ये ५८ जनाले नेपालमा ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी मेक्सिकोमा ३ सय ९५ जनाको मृत्यु कोरोना भाइरसका कारण भएको छ । त्यसपछि रूस, इरान, पोल्याण्ड, इण्डोनेसिया, फिलिपिन्स, युक्रेन, रोमानिया, हंगेरी र पाकिस्तान छन् । छिमेकी भारतमा पछिल्लो २४ घण्टामा १९ जनाको ज्यान गएको छ ।

यद्यपि, कुल संक्रमित संख्याको आधारमा नेपाल ४९ औं स्थानमा छ । कुल जनसंख्याको आधारमा पनि नेपाल संसारको ४९ औं ठूलो मुलुक हो । संसारभर हालसम्म १५ करोड ५० लाख ७० हजार १ सय ८७ जना संक्रमित भएकोमा नेपालमा संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय १० जना पुगेको छ ।

कुल मृत्युको हिसाबमा भने नेपाल संसारको ६७ औं स्थानमा छ । संसारभर ३२ लाख ४३ हजार ५ सय ८६ जनाको कोरोना महामारीका कारण मृत्यु भएको वल्डोमिटरको तथ्यांक छ । यसमध्ये नेपालमा ३ हजार ४ सय ७५ जनाले यो महामारीका कारण ज्यान गुमाउनु परेको छ ।

हालसम्मको आँकडा अनुसार कोरोना महामारीबाट अमेरिकामा सबैभन्दा धेरै ५ लाख ९२ हजार ४ सय ९ जनाको मृत्यु भएको छ । त्यसपछि ब्राजिलमा ४ लाख १२ हजार, भारतमा २ लाख २६ हजार मेक्सिकोमा २ लाख १७ हजार, बेलायतमा १ लाख २७ हजार, इटलीमा १ लाख २२ हजार, रुसमा १ लाख ११ हजार र फ्रान्समा १ लाख ५ हजारभन्दा बढीको ज्यान गएको छ ।

अहिले तत्काल संक्रमणको अवस्थामा रहेका विरामीको संख्या संसारमा १ करोड ८५ लाख १८ हजार ६ सय ३१ छ । यसमध्ये नेपालमा ६६ हजार ३ सय ५२ जना अहिले पनि विरामी अवस्थामा छन् । यो संख्या हालका लागि अरु २५ मुलुकभन्दा कम हो ।

प्रतिव्यक्ति कोरोना संक्रमण दरका हिसाबमा त नेपाल अहिले पनि संसारमा १२२ औं स्थानमा छ । अर्थात् बाँकी १२१ मुलुकको अवस्था हाम्रोभन्दा खराब छ । त्यसकारण पछिल्ला दिनमा बढ्दो संक्रमणको गतिलाई रोक्न सक्ने हो भने नेपालको अवस्था अहिले पनि ज्यादै खराब भइसकेको छैन ।

Tags :

प्रतिक्रिया दिनुहोस्