चिनियाँ रकेटका टुक्राहरु माल्दिभ्स नजिकैको समुद्रमा खसे, तर अन्तरिक्षमा बढ्दै छ कवाडी फोहोरको डंगुर « Arthapath.com
२६ बैशाख २०७८, आईतवार

चिनियाँ रकेटका टुक्राहरु माल्दिभ्स नजिकैको समुद्रमा खसे, तर अन्तरिक्षमा बढ्दै छ कवाडी फोहोरको डंगुर



काठमाडौं । चीनले अन्तरिक्षमा नयाँ स्टेशन बनाउन भन्दै प्रक्षेपण गरेको एउटा रकेटका टुक्राहरु हिन्द महासागरमा खसेको बीबीसीले बताएको छ । चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै लेखिएको उक्त खबरमा त्यो रकेटका अवशेषहरु माल्दिभ्सदेखि पश्चिमतिर समुद्री तट नजिकै खसेको बताइएको छ ।

उक्त रकेट चिनियाँ वैज्ञानिकको प्राविधिक गल्तिका कारण अनियन्त्रित रूपमा पृथ्वीमा खसेको थियो । अमेरिकी र युरोपेली ट्र्याकिङ वेबसाइटहरूले अनियन्त्रित रूपमा झरिरहेको ‘लङ मार्च-५ बी’ रकेटको अनुगमन गरिरहेका थिए । रकेटका केही भागहरू नेपाली समयानुसार आइतवार विहान ८ः०९ बजे वायुमण्डलमा पुनः प्रवेश गरेका थिए ।

अमेरिकाको स्पेस कमान्डले उक्त रकेटका अवशेषहरु प्रायःद्वीपको आकाशबाट झरिरहेको एक विज्ञप्तीमार्फत् बताएको थियो । यो रकेट वायुमण्डलमा फर्किनुअघि त्यसका टुक्रा मानव बस्तिमा खस्नसक्ने चिन्ता गरिएको थियो ।

यद्यपि, धेरैजसो अन्तरिक्षसम्बन्धी विषयका जानकारहरु पृथ्वीको ७१ प्रतिशत सतह समुद्रले ओगटेको र धेरै ठूलो भूभागमै पनि मान्छेको बसोबास नरहेका कारण रकेटका टुक्राले मानवीय क्षति गर्नसक्ने सम्भावना निकै कम रहेको अनुमान गरेका थिए ।

सन् १९९० यता १० टनभन्दा बढी तौल भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको छैन । चिनियाँ रकेट १६ फिट चौडा र ९८ फिट लामो थियो । यद्यपि, अहिले पृथ्वीमा खसेका टुक्राहरुको वजन कति छ भन्ने पनि स्पस्ट छैन ।

अन्तरिक्षमा यस्ता हजारौँ मानवनिर्मित वस्तुहरूले पृथ्वीको परिक्रमा गर्छन् । तर तीमध्ये अधिकाशं काम नलाग्ने अवस्थामा पुगिसकेका छन् । त्यस्ता वस्तुले पृथ्वीमा जीपीएस वा मौसमबारे महत्त्वपूणर् जानकारी प्रदान गरिरहेका भूउपग्रहलाई नै दुर्घटनामा पारिदिन सक्ने जोखिम बढेको बीबीसीले लेखेको छ ।

त्यस्ता वस्तुहरूलाई नियाल्न प्राध्यापक मोरिबा जेह र उनका सहकर्मीले एउटा नक्सा बनाएका छन् । जसमा अन्तरिक्षमा भएका २६ हजारजति त्यस्ता वस्तुलाई नियाल्ने कोशिस गरिएको छ । ती वस्तुहरु मोबाइल फोनदेखि ठूला अन्तरिक्ष स्टेशनबराबरका आकारमा छन् ।

अन्तरिक्षमा देखिएका २६ हजारमध्ये मुस्किलले ३ हजार ५ सयजति वस्तु अहिले पनि सकुशल सञ्चालनमा छन् । बाँकी सबै काम नलाग्ने अवस्थामा पुगिसकेका छन् । अन्तरिक्षमा पठाइएका रकेट र भूउपग्रहहरु कुनै पनि बेला विष्फोट हुन वा अर्को वस्तुसँग ठोक्किन सक्छन् ।

यसले एउटै वस्तु हजारौँ टुक्रामा विभाजन हुनसक्छ । सन् १९५० देखि अन्तरिक्षमा यस्ता मानवनिर्मीत वस्तुहरुको भण्डारण बढिरहेको छ । भौगोलिक अवस्थिति, समय, नेभिगेशन, आर्थिक कारोबार र मौसमी घटनाहरुबारे जानकारी दिने भूउपग्रहहरुका लागि अन्तरिक्षमा बढ्दै गएको यस्तो कवाडी वस्तुहरुको भण्डारणले जोखिम बढाएको छ ।

अन्तरिक्षमा थुप्रिँदै फाहोरको डङ्गुरले एकातिर वर्तमान विश्वमा बढ्दै गएको सूचना प्रविधी र आर्थिक मामिला लगायत भूउपग्रहको सहायतामा हुने कयौं कामहरु भष्यिमा अचानक बन्द हुनसक्ने वा त्यस्तो सेवाबाट विमुख हुनुपर्ने दिन आउला भनेर वैज्ञानिकहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्राध्यापक जेहको समूहले तयार पारेको नक्सामा २ सयभन्दा बढी ‘सुपर स्प्रेडर’ बन्नसक्ने वस्तुहरु देखिएका छन् । यी रकेटका टुक्राहरु त्यहाँ पठाउने काम फ्रान्स, अमेरिका, रुसजस्ता मुलुकले गरेका हुन् । उनीहरु अन्तरिक्षमा बढ्दो यो फोहोर हटाउन भने लगानी गर्ने तत्परता देखाइरहेका छैनन् ।

प्राध्यापक जेहको समूहले तयार पारेको अन्तरिक्षमा भएका वस्तुको नक्सा । स्रोतः बीबीसी ।

Tags :

प्रतिक्रिया दिनुहोस्