कोरोना भाइरसको उत्पत्तिबारे ३ महिनाभित्र पत्ता लगाउन अमेरिकी राष्ट्रपतिको निर्देशन « Arthapath.com
१३ जेष्ठ २०७८, बिहीबार

कोरोना भाइरसको उत्पत्तिबारे ३ महिनाभित्र पत्ता लगाउन अमेरिकी राष्ट्रपतिको निर्देशन



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले ९० दिनभित्र कोरोना भाइरसको उत्पत्ति कहाँ र कसरी भयो भन्ने पत्ता लगाउन आफ्नो खुफिया एजेन्सीलाई निर्देशन दिएका छन् । उनले विश्व स्वास्थ्य संगठनलाई यसबारे पारदर्शि छानबिन गर्न आग्रह गरेको केही घण्टापछि नै आफ्नो खुफिया अड्डालाई यस्तो निर्देशन दिएकाे पश्चिमा सञ्चारमाध्यमहरूले लेखेका छन् ।

राष्ट्रपति बाइडेनले खुफिया एजेन्सीलाई ‘थप मिहेनत गर्न र तीन महिनाभित्र प्रतिवेदन पेश गर्न’ निर्देशन दिएका हुन् । यो भाइरस सन् २०१९ को नेभेम्बर अन्त्यतिरबाट चीनको केन्द्रिय सहर वुहानमा पहिलो पटक देखा परेको थियो । त्यही वर्ष डिसेम्बरमा यसलाई रोगको रुपमा स्वीकार गरिएको थियो ।

जाे बाइडन

हालसम्म उक्त भाइरसका कारण सिर्जित महामारीले संसारभरका करीब १७ करोड मानिसलाई प्रभावित पारिसकेको छ भने ३५ लाखभन्दा ज्यादा मान्छेको ज्यान लिइसकेको छ । यसले संसारमा सबैभन्दा बढी असर पनि अमेरिकालाई नै पारेको छ । अमेरिकामा मात्रै झण्डै ३ करोड ४० लाख मान्छे संक्रमित भइसकेका छन् भने ६ लाख ६ हजारभन्दा धेरै अमेरिकीले यही भाइरसका कारण ज्यान गुमाएका छन् ।

त्यसपछि भारत, ब्राजिल, मेक्सिको जस्ता मुलुक बढी प्रभावित भएका छन् । न्यून जनसंख्या र समृद्ध पुर्वाधार भएका बेलायत, फ्रान्स, इटली, रुस, जर्मनी, स्पेनजस्ता युरोपेली मुलुकलाई यो महामारीले हावाकावा नै बनाइदियो । पछिल्लो समय नेपालमा महामारीको असर विश्वकै तीव्रतर गतिमा बढिरहेको छ ।

चिनियाँ प्रशासनले सुरुमा यो भाइरसको सम्बन्ध वुहानको एउटा सीफूड बजारसँग भएको बताएको थियो । त्यही आधारमा वैज्ञानिकहरुले यो भाइरस जनावरबाट मान्छेमा सरेको बताउँदै आएका थिए । तर तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त भाइरस चिनियाँ प्रयोगशालाबाट चुहिएको सार्वजनिक अधिव्यक्ति दिए । त्यसलगत्तै चिनियाँ प्रशासनले उक्त भनाइको खण्डन मात्र गरेन, यस भाइरस अमेरिकी प्रयोगशालामा बनाइएको र चीनमा फौलाइएको प्रतिबाद गर्यो । पछिल्लाे समय अमेरिकी सञ्चारमाध्यमले उक्त भाइरस प्रयाेगशालामा बनेकाे संकेत गर्ने थुप्रै प्रमाणहरू पाइएकाे बताइरहेका छन् ।

यी घटनाले भने मानिसहरु उक्त भाइरस मानव निर्मित भएको अनुमान गर्न थालेका थिए । तथापि, यो प्रयोगशालामा निर्माण भएनभएको पुस्टि हुन भने सकेको छैन । केही समयअघि विश्व स्वास्थ्य संगठन र चिनियाँ वैज्ञानिकले गरेको प्रारम्भिक अध्ययनमा उक्त भाइरस ‘प्रयोगशालामा उत्पादन भएको हुनसक्ने संभावना ज्यादै कम रहेको’ भनेको थियो । यसबाट पनि यो मान निर्मित भाइरस होइन भन्ने ठोकुवा गर्न सक्ने आधार बनेको छैन ।

Tags :

प्रतिक्रिया दिनुहोस्