धमाधम आउन थाल्यो कोरोनाको खोप, कहाँ राख्ने र कसरी बाँड्ने चिन्ता ! « Artha Path
२५ असार २०७८, शुक्रबार

धमाधम आउन थाल्यो कोरोनाको खोप, कहाँ राख्ने र कसरी बाँड्ने चिन्ता !



काठमाडौं । दक्षिण एसियामा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गर्ने दोस्रो मुलुक भएर पनि लामो पछिल्लो समय खोप ल्याउन नसकिरहेको नेपालमा अब भने धमाधम खोप भित्रिन थालेको छ । चीनबाट खरीद गरिएको ४० लाख मात्रा (डोज)मध्ये पहिलाे खेपमा ८ लाख मात्रा खोप बोकेर आएको नेपाल एयरलायन्सको विमान आज विहानै त्रिभुवन विमानस्थलमा अवतरण भएको छ ।

सरकारले लामो समय भारतीय कम्पनी सिरमले अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर उत्पादन गरेको एस्ट्राजेनेका खोप ‘कोभीसिल्ड’ किन्ने प्रतिक्षा गरे पनि सम्भव भएको थिएन । भारतमा फैलिएको दोस्रो चरणको महामारीका कारण त्यहाँ १ अर्ब जनसंख्यामा खोप लगाउनु पर्ने भन्दै भारत सरकारले खोप निर्यातमा प्रतिबन्ध लगाएको छ ।

यही कारण प्रधानमन्त्री केपी शर्मा ओलीले ३ महिनाभित्र ७० प्रतिशत नेपालीलाई खोप लगाइसक्ने भन्दै सुरु गरेको खोप अभियान ‘अस्तव्यस्त’ भएको थियो । तर अब भने नेपालमा खोप भित्रिन सुरु भएको छ । पछिल्लो पटक चीनले अनुदानमा दिएको खोप आएपछि ठूलो मात्रामा किनिएको खोप नेपाल भित्रिन थालेको हो ।

यससँगै बेलायत, अमेरिकाजस्ता मुलुकले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तरगत दिने भनिएको खोप पनि नेपाल पठाउने प्रक्रिया थालेको छन् । कोभ्याक्स कार्यक्रम अन्तरगत नेपालले १ करोड ४८ लाख मात्रा खोप प्राप्त गर्ने सरकारले बताएको छ ।

अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत् ६ लाख मात्रा खोप नेपाललाई दिने तयारी थालेको बीबीसीले लेखेको छ । यद्यपि, अमेरिकी अधिकारीहरुले नेपाालले प्राप्त गर्ने खोपको मात्राबारे हालसम्म खुलाएका छैनन् । बाइडन प्रशासनले गत महिना नेपालसहित एसिया प्रशान्त क्षेत्रका १७ मुलुक र प्यासिफिक आइल्याण्डलाई २ करोड ३० लाखमात्रा खोप उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकी दुतावासले नेपाललाई ‘उल्लेख्य परिमाणमा’ खोप उपलब्ध गराउने भनेको छ ।

अमेरिकाले गत साता नै पाकिस्तान र बंगलादेशलाई २५/२५ लाख मात्रा खोप दिइसकेको छ । उनीहरुलाई मोडेर्ना कम्पनीको खोप दिइएको भए पनि नेपाललाई भने जोनसन एण्ड जोनसनको खोप दिने तयारी भएको बताइएको छ । यो खोप एक मात्रामात्रै लगाए पुग्छ । अहिले प्रयोगमा आएका कोरोना खोपमध्ये एक मात्रामात्रै लगाउँदा हुने जोनसनको खोप मात्र हो ।

उता बेलायतले पनि नेपाललाई छुट्याएको २० लाख डोज खोप आगामी सात हप्ता (अगस्ट महिना)भित्र आइसक्ने बताएको छ । दक्षिण एसिया र कमनवेल्थ हेर्ने बेलायती राज्यमन्त्री तारिक अहमदले गएको ३० जुनमा (१० दिनअघि) ‘३ लाख ४८ हजार मात्रा खोप नेपाल पुगिसकेको र बाँकी खोप पनि अगस्टभित्रै पुग्ने’ भनेर ‘हाउस अफ कमन्स’ भनिने त्यहाँको संसदमा जानकारी गराएका थिए ।

धमाधम खोप आउन थालेपछि नेपालमा त्यस्ता खोपको भण्डारण कसरी गर्ने र दुर्गम क्षेत्रसम्म पु¥याएर कसरी लगाउने भन्ने चिन्ता बढ्न थालेको छ । बर्षात्को समयमा खोप आउन थालेपछि यसको सुरक्षित ढुवानी र भण्डारणमा समस्या पर्नसक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

भारतीय खोप कोभिसिल्ड ल्यउन पाएको भए भण्डारणको यति ठूलो समस्या हुने थिएन । अहिले चीनबाट ल्याइएको भेरोसेल खोपले भने कोभिसिल्डको तुलनामा १३० गुणा बढी ठाउँ ओगट्ने भएकाले भण्डारणको ठूलो समस्या पर्ने देखिएको छ । अमेरिका र बेलायतले दिने खोप भने निकै कम तापमानमा भण्डारण गर्नुपर्ने भएकाले अर्को टाउको दुखाइ बनेको छ ।

हालको अवस्थामा नेपालमा भएका सबै सरकारी भण्डारगृहहरुमा जम्माजम्मी ४० लाख भेरोसेल खोपमात्रै भण्डारण गर्ने क्षमता छ । सरकारले खोप खरीदका लागि भन्दै लामो समय अन्तरराष्ट्रिय स्तरमा पत्राचार गरेर बसे पनि खोप पाइएपछि भण्डारण र वितरण गर्ने व्यवस्थाबारे भने पर्याप्त विचार नगरेको विज्ञहरुले बताएका छन् ।

यद्यपि, राष्ट्रिय खोप कार्यक्रम संयोजक डा. झलक शर्मा गौतम भने खोपको भण्डारण र वितरणमा आफूहरु सक्षम रहेको दाबी गर्छन् । उनले खोप आउनासाथै धमाधम लगाउन थाल्ने भएकाले भण्डारणमा धेरै जटिलता नहुने बताए ।


प्रतिक्रिया दिनुहोस्