बढ्दो महँगी र तरलता अभावमा हुण्डीको असर कति छ ? « Arthapath.com
२६ चैत्र २०७९, आईतवार

बढ्दो महँगी र तरलता अभावमा हुण्डीको असर कति छ ?



१६ असोज २०७३ मा जिल्लाप्रहरी कार्यालय पर्साले २ करोड १३ लाख नगदसहित चार जना हुण्डी कारोबारीलाई पक्राउ गरेर वीरगञ्जमा सार्वजनिक गरेको थियो ।

काठमाडौं । दुई वर्षभन्दा लामो समयदेखि नेपाली अर्थतन्त्रमा तरलताको अभाव देखिँदै आएको छ । यो साल नेपाली बजारमा भूकम्पयताकै उच्च महँगी भएको सरकारी आँकडा छ । राष्ट्र बैंकले महँगी रोक्न मुद्रा प्रदायको विस्तार ब्यापक मात्रामा कम गर्ने योजना अघि सार्यो । कोभीडपछि झण्डै ३ खर्ब तरलता बजारमा पठाएको केन्द्रिय बैंकले त्यो पैसा पुरै फिर्ता लग्यो । विदेशी मुद्राको ढुकुटी खुम्चिएपछि यसै पनि बजारमा पैसाको अभाव भयो । गत असोजसम्म बैंकहरुमा निक्षेप लगातार घटिरहेको थियो ।

तरलता कम भएपछि ब्याजदर बढ्न थाल्यो । अहिले पनि बैंकहरु ब्याज घटाउने पक्षमा देखिएका छैनन् । यसले अझै केही समय पूँजी अभावको श्रृङ्खला कायमै रहने देखिएको छ । तर यसरी उच्च महँगी र तरलता अभाव एकसाथ लामो समयसम्म कसरी कायम रहन सके त ? यसमा एउटा महत्वपूर्ण कडीको रुपमा हुण्डीलाई मान्न सकिने राष्ट्र बैंककै केही अधिकारीहरुले जनाएका छन् ।

यसै आर्थिक वर्षमा हाम्रो औपचारिक वित्तीय प्रणालीको आकार इतिहासमै पहिलो पटक देशको कुल गार्हस्थ उत्पादन (जीडीपी)भन्दा धेरै हुन पुगेको छ । गत आर्थिक वर्ष ४८ खर्ब हाराहारी अनुमान गरिएको हाम्रो अर्थतन्त्र यो साल ५ प्रतिशतको बृद्धिलाई जोड्ने हो भने पनि ५१ खर्बभन्दा कमै हुन्छ । तर अहिले बैंकिङ प्रणालीमा मात्रै साढे ५४ खर्ब हाराहारी निक्षेप जम्मा भइसकेको छ ।

वित्तीय बजारमा देखिएको यो ब्यापक विस्तारका बाबजुत पनि अझै अनौपचारिक र छायाँ अर्थतन्त्रको आकार उसैगरी बढिरहेको देखिन्छ । काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार समेत रहेका अर्थशास्त्री अच्युत वाग्लेले केही समयअघि एक औपचारिक कार्यक्रममा सिंगो अर्थतन्त्रमा ६० देखि ७० प्रतिशत हिस्सा अबैध रहेको बताएका थिए । त्यसमा परम्परागत कृषि एवम् बैध, तर गणनामा नआएका सामाजिक अर्थव्यवस्थालाई नजोड्दाको अनुमान हो । जसलाई हामी छायाँ अर्थतन्त्र भन्छौं ।

यस किसिमको छायाँ अर्थतन्त्र सञ्चालन गर्न अबैध भुक्तानी माध्यमहरुको प्रयोग हुन्छ । मूलतः विदेशी मुद्रा आर्जन गर्न रेमिटेन्समै अधिक भर पर्नुपर्ने अवस्था एकातिर छ भने राष्ट्रिय उपभोगको ठूलो हिस्सा आयातमा निर्भर हुनुपर्ने बाध्यता अर्कातिर छ । यसले राष्ट्रिय उत्पादन र राष्ट्रिय बचत पनि कमजोर भएको अवस्थामा हुण्डीजस्ता अबैध बाटोबाट हुने भुक्तानी र त्यसकै पृष्ठपोषणमा मौलाउने छायाँ अर्थतन्त्रको आकार बढिरहेको धेरैको बुझाई छ ।

आयातमा आधारित हाम्रो अर्थतन्त्रलाई कति बैध र कति अबैध भनेर ठ्याक्कै छुट्याउने गरी बृहत्तर अध्ययनहरु त भएका छैनन, तर हुण्डीजस्ता अबैध कारोबारले राष्ट्रिय अर्थतन्त्रमा बहुआयामिक रुपमै प्रभावित भइरहेको देखिएको छ । यसले विद्यमान तरलता समस्या र महँगीलाई एकसाथ कायम राख्नमा हुण्डीको भूमिका बढी प्रबल रहेको देख्नेहरु धेरै छन् ।

पछिल्ला महिनाको तथ्यांक हेर्ने हो भने नेपालमा लगभग १ अर्ब रेमिटेन्स हरेक महिना भित्रिरहेको छ । रेमिटेन्समा संलग्न व्यवसायीदेखि राष्ट्र बैंककै अधिकारीहरु पनि रेमिटेन्सको यो आयतनलाई वास्तविक मान्दैनन् । अझै पनि लगभग ६० प्रतिशत रेमिटेन्स बैधानिक बाटोबाट भित्रिरहेको र बाँकी ४० प्रतिशत हुण्डीमार्फत् कारोबार हुने गरेको अधिकांशको अनुमान छ । यस मतलाई आधार मान्ने हो भने रेमिटेन्सबाट भित्रिनु पर्ने सबै पैसा बैधानिक बाटोबाटै आउँथ्यो भने नेपालले हरेक महिना कम्तिमा ६५ देखि ७० अर्ब थप पैसा पाउन सक्थ्यो ।

कसरी हुन्छ हुण्डी?

हुण्डी भनेको त्यस्तो कारोबार हो, जसमा विदेशबाट डलर वा त्यस्तै विदेशी मुद्रा आउँदैन, तर नेपालमा भुक्तानी भइसक्छ । उदाहरणका लागि कुनै नेपालीले अस्ट्रेलिया, हङकङ वा अमेरिकामा डरल कमाउँछ । उसले त्यो पैसा नेपालमा आफ्नो परिवारलाई पठाउन खोज्छ । तर उसले उच्च विनिमय दर पाउने लोभमा होस् वा सहजताका लागि होस् वा अन्य कुनै कारणले उक्त विदेशी मुद्रा रेमिटेन्सबाट नपठाई हुण्डीका कारोबारीलाई जिम्मा लगाउँछ ।

त्यसपछि हुण्डी कारोबारीले त्यो डलर नेपाल पठाउँदैन । बरु त्यही देश वा अन्य कुनै देशमा लगानी गर्न महँगो विनिमय दरमा डलर बेचिदिन्छ । यस्तो बेला नेपालमा कर छली वा भ्रष्टाचार गरेर पैसा कमाएका व्यक्तिले त्यहाँ डलर किनिदिन्छन् । सबैभन्दा धेरै त ठूला ब्यापारीहरुले त्यो डलर किन्छन् । विदेशमा लगानी गर्न चाहनेहरुले यहाँबाट पूँजी पलायन गर्न पनि त्यस्तो डलर किन्ने गर्छन् । यी सबैले नेपालमा तीनै हुण्डीका एजेण्टलाई नेपाली रुपैयाँ दिन्छन् र अमेरिकामा अमेरिकी डलर किनेर उतै राख्छन् ।

अहिले अस्ट्रेलिया, अमेरिका जाने धेरै नेपालीले यहाँको सम्पत्ती बेचेर उतै लाने भनेको एउटैमात्र बाटो हुण्डी नै हो । त्यसो गर्दा विदेशबाट रेमिटेन्सको रुपमा पठाइएको विदेशी मुद्रा हाम्रो राष्ट्र बैंकमा आउँदैन । तर विदेशमै रोकिको उक्त पैसाको बराबर नेपाली रुपैयाँ नेपालमै भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसका लागि कर छलेर कालोधन कमाउने ब्यापारीदेखि भ्रष्टाचारबाट आर्जन गर्ने व्यक्तिहरुले समेत लुकाएर राखेको पैसा दिन्छन्, त्यही पैसा रेमिटेन्स प्राप्त गर्नुपर्ने परिवारको हातमा पुग्छ ।

केही वर्षअघि ‘डोमेस्टिक रेमिटेन्स’को नाममा नेपालका रेमिट कम्पनीहरुले पनि थुप्रै हुण्डी कारोबार गर्ने गरेको आरोप लागेको थियो । त्यसपछि राष्ट्र बैंकले रेमिट कम्पनीहरुलाई धेरै हदसम्म नियन्त्रण गर्ने गरी नियम बनायो । तर हुण्डीको कारोबार रोकिएको छैन ।

कहाँबाट कहाँ जान्छ हुण्डीको पैसा ?

संसारभर नै विकसित मुलुकमा हुण्डीको बढी कारोबार हुने गरेको देखिएको छ । यसका केही कारण हुनसक्छन् । पहिलो त अंग्रेजिभाषि विकसित मुलुकहरुमा वित्तीय स्वतन्त्रता अधिक छ । त्यहाँ घरजग्गादेखि सबै क्षेत्रमा संसारभरका मानिसले लगानी गर्न सक्ने कानून छ । यसले ती देशमा नेपालीको उपस्थिति बाक्लिँदै जाँदा उनीहरुले नेपालमा भएको पैसा विदेश लान खोज्छन् र यही अबैध बाटो रोज्छन् ।

अर्कोकुरा नेपालले ६० वर्ष अघि बनाएको विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन अहिले पनि सक्रीय छ । नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउँदैन । तर हरेक ठूला व्यावसायिक घरानाले विदेशमा ठूलो व्यावसायिक साम्राज्य तयार पारिरहेका छन् । सानातिना उद्यमी व्यवसायीले पनि अहिले विदेशमा लगानी गर्न थालेका छन् । यी सबै पैसा हुण्डीकै मार्फत् जाने हो । थोरै रकममात्रै भन्सारको अधिक मूल्यांकनबाट विदेशिने गरेको छ ।

खाडी र संसारका कयौं गरिब देशले न त विदेशीलाई स्थायी बसोबासको अनुमति दिन्छन्, न त्यहाँ नेपालीहरु बस्न रुचाउँछन् । तर पश्चिम युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडाजस्ता देशले विदेशीलाई सहजै स्थायी बसोबासको अनुमति दिन्छन् । विकसित र सुविधा सम्पन्न ती देशमा नेपालीहरु जान पनि रुचाउँछन् । यसले ती मुलुकमा हुण्डीको बढी कारोबार भएको देखिन्छ ।

अर्कातिर सिंगापुर, चीनजस्ता देशबाट हुने आयातलाई न्यूनविजकीकरण गर्नका लागि पनि हुन्डीको कारोबार हुने गरेको राष्ट्र बैंकका कतिपय आन्तरिक अध्ययनहरुले देखाएका छन् । चीनबाट हुने सुनको तस्करीका लागि पनि हुण्डीको प्रयोग हुने गरेको पाइएको छ । चीन पुग्ने यस्तो पैसा प्रायः हङकङको बाटोभएर जान्छ । यस्ता अनेक कारणले विकसित मुलुकमा हुण्डीको कारोबार उच्च भएको पाइन्छ । यस्तो कारोबार ग्रामीण क्षेत्रमा बस्ने गरिबहरुले होइन, शहरका धनि वर्गले गर्छन् ।

उनीहरु बढी शिक्षित हुने, हुण्डीको संभावित जोखिम बहन गर्नसक्ने सामथ्र्य भएको र यसबाट हुने आर्थिक लाभलाई पनि हिसाब गर्न जानेकाले धनि र बढी शिक्षित वर्गले हुण्डीमा कारोबार गर्ने गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

के असर पार्छ ?

राष्ट्र बैंकको ढुकुटीमा विदेशी मुद्रा ब्यापक मात्रामा घट्न थालेको भनेर विगतमा सरकारले आयात प्रतिबन्ध नै लगाउनु पर्यो । यसले हाम्रो सरकारको राजस्व ब्यापक मात्रामा घटेको छ । ५५ वर्षपछि नेपालले अघिल्लो वर्षको जति पनि राजस्व उठाउन नसक्ने अवस्था भोगिरहेको छ । संघीय सरकारको ढुकुटी २ खर्ब हाराहारी घाटामा छ । पैसा नभएपछि सरकारले विकास निर्माणका काम अघि बढाउन सकेको छैन । बजेटमा समेटिएका र सार्वभौम संसदले पारित गरेका कार्यक्रमहरु पनि पैसा अभावमा कार्यान्वयन हुन सकेको छैन ।

अझ महत्वपूर्ण कुरा त, राजस्व बढ्न नसके केही महिनापछि सरकारले कर्मचारीलाई तलव भक्ता दिन पनि नसक्ने हालत तयार हुँदै गएको छ । मान्छेहरुसँग पैसा छैन भन्ने कुरा त अहिले नेपाल उद्योग बाणिज्य महासंघको नजिकिँदा निर्वाचन तयारीले पनि देखाएको छ । २९ चैतमा चुनाव हुने भने पनि अझैसम्म उमेदवारहरुले खासै खर्च गरेको देखिँदैन । अघिल्ला पल्टका चुनावमा महिनौं अघिदेखि पैसाको खोलो बगाउने गरेको देखिन्थ्यो । भोज भतेरदेखि सञ्चारमाध्यममा विज्ञापनसम्म ब्यापक मात्रामा बढ्ने गरेको थियो । तर अहिले ती गतिविधी ठप्पप्रायः छ ।

नेपालले आयात प्रतिबन्ध लगाएको समयमा पनि प्रतिबन्धित वस्तुकको उपलब्धतामा टड्कारो कमी देखिएन । यसले अबैध बाटोबाट सामान भित्रिरहेको देखाउँछ । फलस्वरुप सरकारको राजस्व घाटामा गयो र बैंकिङ प्रणालीमा पैसा पुग्न सकेन । यसबाट उल्टो असर परेको देखेपछि सरकारले प्रतिबन्ध फुकुवा गरेको थियो । यसरी कर छलेर हुने आयातको भुक्तानीका लागि पनि हुण्डीकै कारोबार हुन्छ ।

सरकारको तथ्यांक व्यवस्थापनदेखि नीति र योजनाहरुको निर्माण एवम् कार्यान्वयनमा पनि हुण्डीले नकारात्मक असर पारिरहेको हुन्छ । वास्तविक अर्थतन्त्रको आकार राज्यलाई पत्तै हुँदैन । यसले कुनै पनि नीति बनाउन र लागू गर्न समस्या हुन्छ । त्यस्ता नीति र कार्यक्रमले सोचेभन्दा भिन्न परिणाम दिने बलियो उदाहरण नै आयात प्रतिबन्ध हो । हुण्डीले विदेशमा लगानी प्रवाहित हुँदा स्वदेशमा बढ्नुपर्ने लगानी बढ्दैन, रोजगारी बढ्दैन र स्वदेशी माग पनि अपेक्षाकृत रुपमा बढ्न सक्दैन । यसले राष्ट्रिय अर्थतन्त्रलाई सबैपक्षबाट असर पारिरहेको हुन्छ ।

अन्तरराष्ट्रिय भुक्तानी सन्तुलनदेखि राष्ट्रिय राजस्वसम्मै प्रभावित पार्ने हुण्डीले सबैभन्दा ठूलो असर चाहीँ तरलता अभाव र महँगीमा परिरहेको छ । मुद्रा प्रवाह अर्थात् बजारमा पैसा जानका लागि त्यो पैसा बराबरको विदेशी विनिमय राष्ट्र बैंकमा हुनुपर्छ । बैंकहरुले परिवत्र्य विदेशी मुद्रा वा सुन लगेर राष्ट्र बैंकलाई दिएपछि राष्ट्र बैंकले त्यसको मूल्य बराबरको नेपाली मुद्रा बैंकलाई दिन्छ । त्यही पैसा बैंकले बजारमा पठाउने हो ।

तर राष्ट्र बैंकमा डलर वा कुनै पनि विदेशिमुद्रा आउनु पर्नेजति आएन भने केन्द्रिय बैंकले त्यसबापत नेपाली मुद्रा बजारमा पठाउन सक्दैन । तर विदेशी मुद्रा विदेशमै हात पारेर नेपालमा नेपाली मुद्रा नै भुक्तानी हुने भए पछि स्वदेशी मुद्राको माग अस्वभाविक रुपमा बढ्छ । अहिले बजारमा अनेक उपभोग्य वस्तुको माग छ, तर ती सामान ल्याउन सहजै विदेशी मुद्रा प्रदान गर्न राष्ट्र बैंकसँग पैसा भएन । यस्तो अवस्था आउनुको कारण नै हुण्डी हो ।

घरेलु बजारमा पैसाको माग बढिरहेपछि यहाँ तरलताको सधैं अभाव भइरहने अवस्था बन्यो । अर्कातिर मानिसको हातमा पैसा आइरहेपछि माग पनि बढिरह्यो । त्यसैले पछिल्लो डेढ वर्षसम्म नेपालमा शोधनान्तर घाटा उच्च दरमा बढ्दा पनि समष्टिगत माग घटेन र उपभोग बढिरह्यो । सेयर बजार र घरजग्गाको भाउ सोचेजस्तो घट्न नसक्नुको कारण पनि हुण्डी नै हो । अव भने हुण्डीबाट आएको पैसा भुक्तानीमा पनि बजारको तरलता अभाव हुने परिस्थिति बन्न थालेको देखिएको छ । यसले अर्थतन्त्रलाई विस्तारै मन्दीतर्फ धकेल्दै छ ।


प्रतिक्रिया दिनुहोस्