नुवाकोटमा रञ्जना लिपि कार्यशाला सम्पन्न, के हो रञ्जना लिपि ? « Arthapath.com
२८ माघ २०७६, मंगलवार

नुवाकोटमा रञ्जना लिपि कार्यशाला सम्पन्न, के हो रञ्जना लिपि ?



काठमाडौं । नुवाकोटको विदुरको लोकतान्त्रिक चौतारामा एकदिने ३९ औं रञ्जना लिपि कार्यशाला र क्यालि जात्रा सम्पन्न भएको छ । विदुर सिटी युथ क्लबको आयोजनामा भएको कार्यक्रममा तामाङ, नेवार, गुरुङ, क्षेत्री, बाहुन लगायत ९५ भन्दा बढीले सहभागिता जनाएका थिए भने १२० जनाले क्यलिग्राफीमा प्रत्यक्ष सहभागिता जनाएका थिए ।

नेपालमा १६ औं र १७ औं शताब्दीसम्म निकै प्रचलनमा रहेको रञ्जना लिपि महायानी बौद्ध धर्म मान्ने भारत, चीन, जापान, मंगोलिया लगायत देशमा पनि प्रयोगमा छ । नेपालमा पनि केही शिलालेख र अभिलेख र हाल कला विधामा पनि यसको प्रयोग बढ्दो छ ।

संयुक्त राष्ट्रसंघमा नेपालको लिपिमा दर्ता भएको रञ्जना लिपिको प्रवद्र्धनको लागि नुवाकोटमा १ दिने कार्यशालाको आयोजना गरिएको क्लबका अध्यक्ष सुनील श्रेष्ठले बताए । उनले नुवाकोटमा हालै सम्पन्न छैठौं नुवाकोट महोत्सवको टाईटल पनि रञ्जना लिपिमै बनाएको जानकारी दिए ।

कार्यशालामा पृथ्वी मावि, स्पार्कल एकेडेमी, कल्याणकारी विद्या मन्दिर, नव जीवन मन्टेश्वरीका विद्यार्थी र शिक्षक शिक्षिका लगायतले सहभागिता जनाएका थिए ।

सेतो कागजमा रञ्जना लिपिका साधारण शब्दहरू कोर्न कोसिस गर्दै गरेका विदुर नगरपालिका वडा नम्बर ४ का सदस्य बसन्त रिजाले मौलिक लिपिबारे सुने पनि जिल्लामा त्यसबारे अध्ययन गर्न नपाएको बताए ।

रञ्जना लिपिले संस्कृति, परम्परा, धर्म र मौलिक पहिचानलाई झल्काउने भएकाले यसलाई सिकाईको माध्यमबाट व्यवहारमा उतार्दै लैजाने र नुवाकोटमा मात्र नभई रसुवामा पनि प्रवद्र्धन गर्नुपर्ने बेत्रावतीका शशी डङ्गोलले बताए ।

लिपिको अध्ययनबाट घरमा प्रयोग गरिने धर्म ग्रन्थ, साधना र तथा गोप्य मन्त्रमा रहेका लिपिहरू सजिलै बुझ्न सकिने नेपाल लिपि गुठीका सचिव पवित्र कसास्ले बताए ।

कार्यशालामा लेख्न मात्र नभएर बोल्न पनि ईच्छुक भएका थिए । कतिपयले मसी छोप्दै लेख्नुपर्ने झन्झट मानिरहेका थिए । पहिलो चरणको सुरुवात भएर लिपि लेखनको लागि कलमको सट्टा कुचोको डाठलाई प्रयोग गरिएको गुठीका सचिव कसास्ले बताए ।

त्यस्तै, छैठौं नुवाकोट महोत्सवको अवसर पारेर महोत्सवस्थलमा पनि रञ्जना लिपि क्यालीजात्रा गरिएको क्लबका सचिव प्रदीपकुमार पण्डितले जानकारी दिए । क्यालीजात्रामा नेपाल लिपि गुथीकाको सहकार्यमा नुवाकोट महोत्सवमा आउने अवलोकनकर्ताहरुको नाम रञ्जना लिपिमा लेखिदिएका थिए ।

रञ्जना लिपिमा लेख्न मिल्ने मोबाइल एप ‘रञ्जना स्क्रिप्ट’ बाट नेपालमा प्रचलित पुरानो लिपि रञ्जनाको वर्णमाला सिक्न र रञ्जना लिपिमा लेखेर सामाजिक सञ्जालमा सेयर गर्न मिल्नेछ ।

कार्यशाला त्रिशुली सामाजिक क्लब, पिपलबोट समुह, न्यू स्पोट्र्स ब्वाईज क्लब, कोलेनी थ्रीडी क्लब, नुवाकोट युनाईटेड फुटबल क्लब, दारी ग्यांग, सामथ्र्य नुवाकोट, नुवाकोट जेसीज, र समृद्ध नुवाकोटको संयुक्त सह आयोजनामा भएको हो ।

कार्यशालामा विदुर नगरपालिका, नारायणी बेकरी र टिमुरे बस तथा मिनिबस यातायातको सहयोगमा भएको हो । विदुर सिटीले विगत तीन वर्षदेखि सामाजिक, संस्कृतिक र खेलकुदको क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्